निर्माण व्यवसायी महासंघद्वारा मुख्यमन्त्रीकाे कार्यालयअगाडि विराेध प्रदर्शन

निर्माण व्यवसायी महासंघ, प्रदेश १ ले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।

पछिल्लो समय आकाशिएको मूल्यवृद्धिले निर्माणजन्य कार्यलाई अघि बढाउन नसकिएको जनाउँदै मंगलबार विराटनगरमा महासंघ आवद्ध व्यवसायीहरूले कन्स्ट्रक्स होलिडेका रूपमा विरोध गरेका हुन्।

निर्माण व्यवसायी संघ मोरङका महासचिव ध्रुव कार्कीले सरकारलाई समेत मूल्यवृद्धिबारे जानकारी गराउँदा समस्या हल नभएपछि विरोधमा उत्रिनुपरेको बताए।

मूल्य समायोजन मार्गदर्शन-२ जारी गर्न माग गर्दै विरोधका क्रममा बाध्यतापूर्वक सबै जिल्लामा बिहान १ घण्टा काम ठप्प पार्नुपरेको कार्कीकाे भनाइ छ।

विभिन्न क्षेत्रमा काम सम्पन्न भए पनि रकम भुक्तानी हुन बाँकी रहेको बताउँदै उनले खरिद ऐन ११ औँलाई संशोधन गर्दै नयाँ संशोधित ऐन जारी गर्नुपर्ने माग गरेको बताए।

त्यसैगरी, बजारमा आकासिएको मूल्यवृद्धिका कारण काम गर्ने वातावरण निर्माण हुन नसकेको बताएका उनले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म ध्यानाकर्षण गरिएको जानकारी दिए।

उनले भने, ‘निर्माणका क्रममा प्रयोग हुने प्रत्येक सामग्रीको मूल्यवृद्धि भएको छ। ९० रुपैयाँ किलोसम्म आउने फलाम १ सय ३८ रुपैयाँ पुगेको छ। अलकत्रादेखि सिमेन्टसम्मको मूल्यमा अत्यधिक मूल्यवृद्धि भएको छ। सरकारले अत्यधिक रूपमा बढेको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ। यो अवस्थामा निर्माणको काम गर्न सहज छैन।’

महासंघदेखि जिल्लातहका निर्माण व्यवसायीले अघि सम्बन्धित निकायमा ज्ञापनपत्र समेत बुझाइ सकेका छन्।

बैशाख १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्