ललितपुरमा मेयर पदका पाँच जना उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ –ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको छ।

मुख्य निर्वाचन अधिकृत किरन प्रसाद सिवाकोटीले दिएको जानकारीअनुसार मंगलबार पाँच जना मेयरका उम्मेदवारविरुद्ध उजुरी परेको छ।

निर्वतमान मेयर चिरीबाबु महर्जनसहित पाँच जनाविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ‘उजुरी के विषयमा परेको छ, अध्ययन नगरी सरासर दर्ता गरेका छौँ। भोलि ती उजुरी हेरेर आवश्यक निर्णय गर्नेछौँ,’ ललितपुरका मुख्य निर्वाचन अधिकृत सिवाकोटीले भने।

ललितपुर महानगरपालिको मेयरमा १४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आमूल परिर्वतन मसिहा पार्टीकी सपना महर्जन, स्वतन्त्रबाट सरिना लाखे, रोजेन्द्र थापा मगर, सुरेश महर्जनले उम्मेदवारी दिएका छन्।

मौलिक जिरोकिलो पार्टीबाट सपना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्ट बहादुर महर्जन, विवेकशील साझा पार्टीबाट उज्वल कृष्ण श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट अशोक महर्जन, राष्ट्रिय जनमुक्क्ति पार्टीबाट सनी महर्जन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीबाट मोहन राज शाक्य, मंगोल नेशनल अर्गनाइजेसनबाट राम महर्जन, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृण्ण ब्यञ्जनकार, नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, जनमत पार्टीबाट बासुदेव अमात्यले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ। परेका उजुरीमाथि बुधबार निर्णय गर्ने कार्यतालिका छ।

बैशाख १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्