विराटनगरमा एमालेबाट उपमेयरकी उम्मेदवार कार्कीविरुद्ध उजुरी

मोरङ– स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीसहित तीन जना महिला वडा सदस्यविरुद्ध उजुरी परेको छ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कार्कीविरुद्ध मंगलबार उजुरी परेको हो।

सोमबार मनोनयन दर्ता गराएकी कार्की विराटनगरस्थित कोशी अस्पताल विकास समितिको सदस्य रहेको दाबीसहित दलीय गठबन्धनतर्फ जसपाका उपमेयर अमरेन्द्र यादवले उजुरी हालेका हुन्।

कार्कीसँगै अन्य तीन जना महिला वडा सदस्यविरुद्ध पनि उजुरी परेको छ। मंगलबार उजुरी हाल्ने, बुधबार र बिहीबार त्यसबारे अन्तिम निर्णय लिने बुढाथोकीले जानकारी दिए। यस विषयमा कार्यालयका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले उजुरीका विषयमा आवश्यक जाँचबुझ गर्ने बताइएको छ।

त्यसपछि बुधबार मात्र यसबारे निर्णय आउने सक्ने बुढाथोकीले जानकारी दिए। यादवले दिएको उजुरीमा विराटनगरको कोशी अस्पतालको विकास समिति सदस्य कायम रहेको अवस्थामा उपमेयरमा उम्मेदवारी दर्ता गरेको हुँदा उम्मेदवारीको खारेजीको माग गरिएको छ।

कार्की मंगलबार पदबाट राजीनामा दिनका लागि निवेदनसहित अस्पताल पुगेको कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञ खरेलले बताए। मेसु डा. खरेलले कार्की अस्पताल विकास समितिको सदस्य रहेको बताएका छन्।

कार्कीले मंगलबार राजीनामाको लागि निवेदन अस्पताल प्रशासनमा दिए पनि दर्ता भइसकेको छैन। २०७८ साल माघ २१ गते मन्त्रिस्तरीय निर्णयबाट कार्कीसहित अन्य पदाधिकारीलाई अस्पताल विकास समितिको सदस्य पदबाट हटाइएको थियो। तर, समितिका अध्यक्ष महेशराज भट्टराईसहितको टोलीले सर्वोच्च अदालतमा पुनर्वहालीका लागि निवेदन दिएका थिए। गत फागुन १६ गते सर्वोच्च अदालतको अन्तरिम आदेशले समितिका पदाधिकारी पुनर्वहाली भएका थिए।

त्यसैगरि निर्वाचन अधिकृतको कार्यालयले वडा नम्बर ८ मा दुई महिला वडा सदस्य र वडा नम्बर १३ मा एक महिला वडा सदस्यविरुद्ध उजुरी परेको जनाएको छ।

वडा नम्बर ८ बाट मनोनयन दर्ता गराएकी गीता मुखिया र सुशीला सहनीविरुद्ध दलित नभएको उजुरी परेको हो। वडा नम्बर १३ मा गौरीकुमारी वैश्यविरुद्ध भने अदालतले तोकेको जरिवाना नतिरेको विषयमा उजुरी परेको कार्यालयका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।

बैशाख १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्