महानगरपालिकाका उम्मेदवारमाथि परेका उजुरीमाथि हुँदै छ छानबिन?

निर्वाचन आयोग नेपाल

काठमाडौँ–  काठमाडौं र ललितपुर महानगरपालिकामा मनोययन दर्ता गरेका उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन जारी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

काठमाडौंका जिल्लाका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौड्यालका अनुसार काठमाडौँ वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार उमेश कुमार कुइँकेल विरुद्ध स्थानीय आशामान डंगोलले उजुरी दिएका थिए।

गुठीको पुजारी पद कायम राखेर उम्मेदवारी दिएको भन्दै कुइँकेल विरुद्ध उनले उजुरी दिएकोमा बुधबार उजुरीकर्ता स्वयंले उजुरी फिर्ता लिएका छन्।

सहायक निर्वाचन अधिकृत पौड्यालका अनुसार उक्त उजुरी उजुरीकर्ताले दावी पुष्टि गर्न नसक्ने भन्दै बुधबार फिर्ता लिएका हुन्।

काठमाडौं महानगरपालिकाका उम्मेदवार विरुद्ध एउटा मात्रै उजुरी परेको थियो। काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ जना सहित विभिन्न पदमा २२० जनाको उम्मेदवारी परेको छ।

ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका एक सहित चार विरुद्ध उजुरी परेकोमा ती उजुरी माथि छानविन भइरहेको ललितपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत किरन प्रसाद शिवाकोटीले बताए।

मेयरका उम्मेदवार निर्वतमान मेयर चिरीबाबु महर्जन विरुद्ध उजुरी परेको छ।

ललितपुर महानगरपालिको मेयरमा १४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

काठमाडौँ उपत्यकाको चन्द्रा गिरी नगरपालिकाको वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार प्रल्लाद रिजाल ठेक्का पट्टा व्यवसायमा संलग्न रहेको भन्दै उजुरी परेको छ। त्यस्तै वडा नम्वर १४ र १५ का दलित महिला वडा सदस्यका उम्मेदवार माथि दोहोरो सुविधा लिएको भन्दै उजुरी परेको निर्वाचन अधिकृत सिर्जना थपलियाले बताइन्। ‘उजुरी अध्ययन गरिरहेका छौ। भोली मात्रै त्यसबारे निर्णय गर्नेछौ। दोषी ठहरिए कानुन अनुसार कार्बाही गर्ने छौँ,’ निर्वाचन अधिकृत सिर्जना थपलियाले भनिन्।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवार विरुद्ध उजुरी दिने कार्यक्रम  थियो। बिहीबार परेका उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ।

बैशाख १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्