एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ, ३३ जिल्लामा ढुवानी

निर्वाचन आयोग नेपाल

काठमाडौँ– वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइसँगै ढुवानीसमेत एकसाथ गरेको जनाएको छ।

आयोगले बिहीबार पत्रकार सम्मेलनमार्फत् ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएको छ।

हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लासहित १८ वटा स्थानीय तहको मतपत्र भने उम्मेदवारले निर्वाचन चिन्ह प्राप्त गरेपछि छपाइ गरिने आयोगले जानकारी दिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। आयोगले जिल्लामा पठाइएका मतपत्रको सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिएको छ।

बैशाख १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्