धनगढी उपमहानगरपालिकाका असन्तुष्ट कांग्रेसले दिए क्रियाशील सदस्यबाट राजीनामा

धनगढी – नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका–४ मा रहेका क्रियाशील सदस्यहरूले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

स्थानीय तहमा टिकट वितरण एकहोरो ढंगले गरेको भन्दै ५८ जना क्रियाशील सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।

‘धनगढी उपमहानगरपालिका–४ मा कांग्रेसबाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो’, पत्रकार सम्मेलनमा वडा नम्बर ४ का निर्वतमान वडा अध्यक्ष दीपककुमार थापाले भने, ‘कसैसँग पनि छलफल नगरी वडा कार्य समितिले ३ जना अध्यक्ष पदका आकांक्षीको नाम सिफारिस गर्‍याे। ’

पार्टीको विधानविपरीत २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी भई कारवाहीको सिफारिसमा परेको व्यक्तिलाई टिकट दिएकोप्रति आपति रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

कांग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवारी दिएको छ । उक्त पार्टीले कारवाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्याको हस्ताक्षरसहित अगाडि नबढाउने जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको असन्तुष्टहरुले जनाएका छन् ।

वडाका क्रियाशील सदस्यहरूको मर्म तथा भावना नबुझेरै उम्मेदवारी छनोट गरेको भन्दै असन्तुष्टि रहेको उनीहरूले बताएका छन्।

टिकट वितरण गर्ने निकायले सदस्य पदको निर्णयमा समेत धाँधली गरेको उनीहरुको आरोप छ । क्षेत्रिय कार्यसमितिले गरेको निर्णयमा टिकट दिने निकायले टिकट पाएका व्यक्तिहरुको नाममाथि समेत टिपेक्स लगाई आफु अनुकुलका अन्य सदस्यको नाम उल्लेख गरेको उनीहरुले आरोप लगाएका छन् ।

असन्तुष्ट समुहले आसन्न निर्वाचनमा स्वतन्त्र ढंगले मतदान गर्ने जनाएका छन् ।

बैशाख १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्