बिपी प्रतिष्ठान धरानमा डायलासिस यूनिट सेवा सञ्चालन

मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौलाका बिरामीको सहजताका लागि डायलासिस यूनिट सेवा सञ्चालनमा ल्याइएको छ।

प्रतिष्ठानभित्र निर्माण गरिएको नयाँ भवनमा डायलासिस मेशिन र १२ शय्याको यूनिट राखिएपछि मिर्गौलाका बिरामीलाई उपचारमा सहजता हुने प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए। यसअघि इन्टर्नल मेडिसिन विभागले ८ वटा शय्यामा उपचार गर्दै आएको हुँदा नयाँ मेसिनसहित शय्या बढाउँदा मिर्गौलाका बिरामीको उपचार प्रभावकारी रुपमा हुने उनले बताए।

पहिले सञ्चालनमा रहेको डायलासिस वार्डमा हालको आइसियूलाई शय्या बढाएर विस्तार गरिने योजना प्रतिष्ठानको रहेको उपकुलपति डा. गिरीले जानकारी दिए।

कार्यक्रममा इन्टर्नल मेडिसिन विभागका प्रमुख डा. रविन मास्केले हाल जडान गरिएको डायलासिसको मेसिन प्राविधिक रुपमा गुणस्तरीय रहेको बताए। नयाँ मेसिन र शय्या संख्यामा बृद्धि गरिएपछि मिर्गौलाका बिरामीहरुको सेवा प्रभावकारी ढंगबाट हुने डा. मास्केको दाबी छ।

प्रतिष्ठानमा प्रत्येक महिना १ हजारको संख्यामा सर्वसाधारणले डायलासिसको सेवा लिने गरेका छन्।

बैशाख १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्