शिल्पा निराला कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेज

मोरङ – एमालेबाट विराटनगर महानगर उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेज भएको छ।
विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विराटनगरमा उम्मेदवारी परेकी उपमेयर कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेजी भएको हो।

कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार विराटनगर महानगरपालिकामा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परे पनि सबै उजुरी खारेज भएको र उम्मेदवारी सदर भएको हो।

उपमेयर कार्कीविरुद्ध कोसी अस्पताल विकास समितिकी सदस्यमा रहेको जनाउँदै जसपाका उपमेयर उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए। लम्सालका अनुसार मंगलबार उजुरी परेसँगै गरिएको जाँचबुझमा उम्मेदवारी खारेजी गर्नुपर्ने स्थिति नभएको हो।

यससँगै ४३ वर्षीया उपमेयर उम्मेदवार कार्कीले आफूविरुद्ध कमजोर मानसिकता र विकास गर्ने क्षमताको महिलालाई रोक्ने असफल प्रयास तुहिएको बताएकी छन्। महानगरको विकासमा अघि बढ्ने क्षमताको महिला उम्मेदवारविरुद्ध अत्तालिएर उजुरी गरिएको उनको भनाइ छ।

विराटनगर महानगर ८ मा कांग्रेसबाट दलित महिला सदस्यका लागि उम्मेदवारी दिएकी ३६ वर्षीय शशिता सहनीविरुद्ध परेको उजुरी पनि खारेज भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बढाथोकीका अनुसार सहनी दलितभित्र नपर्ने दाबी उजुरीमा गरिएको थियो।

सोही वडामा जनमत पार्टीबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी ४१ वर्षीया गीत मुखियाको पनि उम्मेदवारी सदर भएको छ । मुखिया जाति दलितभित्र नपर्ने भनेर उनीविरुद्ध उजुरी परेको थियो ।

विराटनगर–१३ मा एमालेबाट महिला सदस्यमा उम्मेदवारी दिएकी ५० वर्षीया गौरीकुमारी वैश्यविरुद्ध परेको उजुरी पनि खारेज भएको छ। उजुरीमा वैश्यले अदालतले तोकेको दण्ड जरिवाना नबुझाएको कुरा परेको बुढाथोकीले बताए।

त्यसैगरी, मोरङमा ९ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । केराबारी गाँउपालिकामा एमालेका ४ उम्मेदवारविरुद्ध उजुरी परेको थियो । जसमा ३ जनाले सफाइ पाएका छन् ।

एमालेबाट केराबारी–८ को वडाअध्यक्षमा उम्मेदवारी दिएका ५७ वर्षीय टीकाराम चापागाईं, वडा सदस्यका उम्मेदवार २७ वर्षीय दिलबहादुर राई र दलित महिला सदस्य पदकी म्मेदवार ३७ वर्षीया सन्तोषी सार्कीविरुद्धको उजुरी भने खारेज भएको छ ।

केराबारीस्थित निर्वाचन अधिकृत कार्यालयका प्रमुख भानुभक्त न्यौपानेका अनुसार उजुरी खारेज गरिएका ३ जनाकै उम्मेदवारी सदर भएको छ।

त्यसैगरी, केराबारी–१ बाट महिला सदस्य पदमा एमालेबाट उम्मेदवारी दिएकी ४७ वर्षीया पवित्रा लिम्बूको भने उम्मेदवारी खारेज भएको छ । लिम्बूको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानबिनपछि उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बैशाख १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्