नेपालगञ्ज- सरोजकुमारी यादव २५ वर्षअघि गाविस अध्यक्ष भएकी थिइन्। २०५४ सालमा बाँकेको होलिया गाविसको अध्यक्ष भएपछिका दिनमा सरोजकुमारीले आफ्नाेभन्दा श्रीमान विजय यादवको राजनीतिलाई अघि बढाउन सहयोग गरिन्। श्रीमान विजयको विजयी यात्रामा रमाइन्। विजय अहिले प्रदेश सांसद छन्।

श्रीमान विजयको राजनीतिक यात्रालाई उचाइमा पुर्‍याउन रातदिन खटिएकी सरोजकुमारी यतिबेला आफ्नो लागि जनताको घरदैलोमा पुगिरहेकी छन्।

नेकपा एमालेबाट डुडुवा गाउँपालिकाको अध्यक्ष उम्मेदवार भएपछि यतिबेला सरोजकुमारीको दैनिकी फेरिएको छ।

सारीको सप्कोले टाउको ढाकिएकी सरोजकुमारीजस्ता धेरै मधेसी महिला घरघरमा पुगेर मत मागिरहेका छन्। पछाडी पारिएका महिलाको समस्यालाई बुझ्नेदेखि डुडुवामा बर्सेनि राप्तीनदीको डुवानमा परेर उठीबास लगाउनेको व्यवस्थापन, छोरीलाई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणमा सरोजकुमारीका प्रतिबद्धता छन्।

हुन पनि डुडुवामा पछिल्लो पाँच वर्षमा एक किलोमिटर बाटो पनि पिच भएन। गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले प्रदेश र संघको सहयोगलाई हार्दिकताका साथ स्वीकार नगर्दा ठूला योजना र सडकले सार्थक रूप नपाएका हुन्।

सरोजकुमारीले समृद्ध डुडुवा बनाउने योजना अघि सारेर मत मागिरहेकी छन्। ‘२५ वर्षपछि फेरि राजनीतिमा सक्रिय हुनुभयो नि?’ भन्ने पत्रकारको जिज्ञासामा सरोजकुमारीको जवाफ थियो- ‘पालिकाको भौतिक विकास र यहाँका जनताको जीवनस्तर उकास्न म अघि सरेकी छु।’

मधेसी समुदायको बाहुल्य रहेको डुडुवामा मुस्लिम र पहाडी समुदाय पनि छन्। अझ यादव जातिको त बाक्लो उपस्थिति छ।

सरोजकुमारीलाई श्रीमान विजयले पाइला पाइलामा अगुवाइ गरिरहेका छन्। झट्ट हेर्दा विजय यादव नै चुनाव लडेकोजस्तो पनि लाग्छ। उपाध्यक्षका उम्मेदवार सकील खानको जोशिलो जाँगरले सरोजकुमारीलाई थप हौसला मिलेकाे छ।

मधेसमा प्रायः घरभित्रै रहने महिलाहरू सारीको सप्कोले टाउको छोपेर (मुस्लिमहरू बुर्का लगाएर) सडकमा मत माग्दै हिँडेको देख्दा राजनीतिक चेतनास्तर बढेको भन्न करै लाग्छ। हामी पनि आफ्नो गाउँठाउँको विकास गर्न सक्छौँ भन्ने सन्देश उनीहरूले दिइरहेका छन्।

बैशाख १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्