विद्युत् सेवा नियमित नहुँदा कलकारखाना प्रभावित

मोरङ – विद्युत् सेवा नियमित नहुँदा सुनसरी मोरङ करिडोरका उद्योग तथा कलकारखाना प्रभावित भएका छन्।

मोरङ व्यापार संघमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उद्योगीले मंगलबारबाट विद्युत् सेवा ठप्प हुँदा समस्या भएको जनाएका हुन्।
पत्रकार सम्मेलनका क्रममा मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले विद्युत् सेवा निरन्तर आपूर्ति हुन नसक्दा प्राधिकरणको प्रतिष्ठामा प्रश्नचिह्न उठेको बताए।

पटक–पटक विद्युत् सेवा अवरुद्ध हुँदा उद्योगीलाई समस्या भएको गुनासो गरेका अध्यक्ष रिजालले विद्युत् सेवा प्रवाहमा नियमितता नहुँदा उत्पादन प्रक्रिया नै ठप्प हुने अवस्था आएको बताए। उनका अनुसार विद्युत् सेवा अवरुद्ध हँुदा सुनसरी मोरङ करिडोरका कम्तीमा ५ सय उद्योग प्रभावित भएका छन्।

पत्रकार सम्मेलनका क्रममा संघसँगै उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ ले ५ बुँदे सुझावसमेत अघि सारेका छन्। उद्योगीका अनुसार पूर्व सूचना विद्युत् आपूर्ति अवरुद्ध हुँदा समस्या हुने हुँदा लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ।

त्यसैगरी, मुलुकका विद्युत् उत्पादक कम्पनीले स्वदेशी विद्युत् उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने सुझावमा समेटिएको छ। उद्योगी व्यवसायीले विद्युत् आपूर्तिको समस्या राष्ट्रिय समस्या भएको हुँदा त्यसलाई औद्योगिक क्षेत्रलाई मात्र नभएर उद्योग, ग्राहक सबैतर्फ समानुपातिक रूपमा वितरण गर्न सुझाव दिएको छ।

एकातर्फ विद्युत् सेवा अवरुद्धको मर्का खेपिरहेको जनाएका उद्योगीले विद्युत् डिमाण्ड शुल्क खारेज गरिनुपर्नेमा जोड दिएका छन्। पत्रकार सम्मेलनका क्रममा उनीहरूले विद्युत् आपूर्ति बन्द हुँदा उद्योग क्षेत्र बढी प्रभावित हुनुपरेको अवस्थामा विद्युत् डिमाण्ड शुल्क लगाउन नहुने उल्लेख गरेका छन्।

अर्कोतर्फ, सरकाले विद्युत् आपूर्ति अवरोध हुँदा औद्योगिक क्षेत्रमा पुगेको क्षतिलाई कूटनीतिक पहल गर्दै हालको समस्या समाधानको बाटो पहिल्याउन उद्योगीले सुझाव दिएका छन्। प्राधिकरणले विद्युत् समस्या हल गर्न नसके बुधबारबाट आन्दोलन गर्दै तालाबन्दीसम्म गर्ने चेतावनी उनीहरूले दिएका छन्।

 

बैशाख १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्