आमा र मेरो बाल्यकालका यादहरू

बुवाको अनुपस्थिति जनाउने खाली सिउदो, सिउदोमा सेतै फूलेको कपाल, बैजनी रङ्गको खद्धरको गुन्यु र बुट्टे चोली मेरी आमाको रेगुलर पोसाक नै हो।
सधैँ निराश जस्तो। अतालिएको जस्तो। केही हरायो, बित्यो या छुट्यो जस्तो गरी निरन्तर हतारहतार कुदिरहने मेरी आमा दैलो, गोठ र पधेँरो बाहेक काहीँ गएको मैले देखेकी छैन्। संसार नदेखेकी मेरी आमा नै मेरो संसार हुन्। मेरो उर्जा हुन्। प्रेरणा र हौंसला पनि हुन्।
कहिलेकाहीँ यो सहरको गन्थनदेखि वाक्क लाग्छ। र पुग्छु आमाको सरणमा। उही काखमा जहाँ पुग्दा लाग्छ, ‘म संसारको कुनै सुन्दर ताज महलमा छु।’ लाग्छ, सारा बोझहरू मबाट कोषौँ टाढा छन्। लाग्छ मेरा सारा समस्याहरू निर्मूल भए। सायद यही हो ‘स्वर्ग’ भनेको पनि।
सधैँ उहाँको साथमै रहुँ चाहनुहुन्छ। उहाँका गन्थन सुनुँ। दुखेसो सुनुँ चाहनुहुन्छ। कोरोना महामारीको बेला विश्व नै निराश भइरहेको बेला सबैभन्दा धेरैँ खुसी हुने अजीव प्राणी मेरी आमा नै हुन्। कारण कोरोनाले गर्दा म घरमा रुकेकी थिएँ।
°°°
सम्झदा अझै पनि मुटु चस्किन्छ। ती दिन, जतिबेला आमा टिचिङ हस्पिटलको बेडमा हुनुहुन्थ्यो। बुवा बितेको ६ महिना पनि नहुँदेै, आमालाई अल्सरको लक्ष्यण देखिन थाल्यो स्नातक प्रथम वर्षमा अध्ययनरत् १६-१७ वर्षको मेरो बाल मस्तिष्कले जे जति भ्यायो गरेँ। यसमा मेरो आफन्त र साथीहरूले ठूलो साथ दिनुभएको छ। जुन गुन म बाचुन्जेप तिरेर सक्दिनँ होला। जसले गर्दा मैले आजसम्म आमा सम्बोधन गर्न पाइरहेकी छु।
यसकारण मैले प्रण गरेकी छु। मैले कहिल्यै आमालाई दुखाउमे छैन्। किनकि आमा दुख्नु भनेको मेरो इश्वर दुख्नु हो। म दुख्नु हो।
°°°
घरमा ठूलो टिभी छ। जसमा मैले कहिलेकाहीँ कतै कार्यक्रममा बोलेका केही भिडियो, वाचन गरेका केही कविता छन्। रिपिट गरी-गरी सुन्नुहुन्छ आमा। अनि फोन गरेर भन्नुहुन्छ, ‘सानी कार्यक्रममा बोल्दा अलि नआत्तिकिन बोल है, बोलेको छिटो भयो।’
गाउँमा हुँदा कहिलेकाही आमासँग घाँस काट्न जाँदा आमाले गाएको गीतको भाका कहिलेकाही म मेरो होस्टेलमा पनि गुनगुनाउँछु। पश्चिमा संस्कृतिमा विलीन हाम्रो पुस्तालाई आमाको तीजको भाका मन पर्दैन र मेरा साथीहरू प्रतिवाद गर्छन्। म मुस्कुराएर हार्दिकता प्रकट गरी टारिदिन्छु।
°°°
दिदी र दाइ हुर्किसकेपछि परिवारमा दोस्रो छोराको आशमा मैले जन्मिने मौका पाएँ। बुवाले छोरा जन्मिएन भनेर नाक च्याउरी पार्नुभाथ्यो अरे उबेला। पछि बुवाले मलाई पुल्पुल्याएको देख्दा आमाले मलाई उक्साउन (जिस्क्याएर) भन्नुहुन्थ्यो, ‘सानोमा हेला गर्नुहुन्थ्यो, आजकल मात्रै हो सानी, बुवाले तँलाई माया गर्ने।’
बच्चाबेला एकदमै उपद्रो गर्नुपर्ने मलाई । जहिल्यै केही न केही घाउचोट लिएरै पुग्थेअरे घरमा। मेरो बाल्यकाल सम्झदा अझैपनि झस्किनुहुन्छ आमा। र भन्नुहुन्न, ‘ईश्वरको कृपाले तिमीलाई सकुशल हुर्काउन सकेँ।’
सानैदेखि निमोनियाको बिरामी म। चिसोमा खेल्ने आफ्नै जिदले झनै रोग निम्त्याएँ। यसकारण पनि आमा सधैँ मेरो विशेष ख्याल राख्न चाहानुहुन्छ। र म पनि उसैगरी आमाको।
°°°
आमा शब्द नै निकै सुन्दर, प्रिय र सुकोमल शब्द । जहाँ अथाह प्रेम, स्नेह र ममताका भाव उत्प्रोध छन्। आजको यो विशेष दिनमा मेरी आमा लगायत सम्पूर्ण आमा बन्ने जातका प्राणीलाई मातातीर्थ औँसीको शुभकामना ! नमन !
बैशाख १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्