टी-२० श्रृंखलाकाे पहिलाे खेलमा नेपाल र जिम्बाब्वे भिड्दै

फाइल तस्बिर।

काठमाडाैँ- टी-२० शृंखलाअन्तर्गतको पहिलो खेलमा आज नेपाल र जिम्बाब्वे ‘ए’ भिड्दैछन्।

जिम्बाब्वे ‘ए’ विरुद्ध नेपाल उत्कृष्ट सुरुवात गर्न चाहन्छ। खेल कीर्तिपुर मैदानमा दिउँसाे एक बजे हुनेछ।

अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरूप जिम्बाब्वेसँग तीन टी-२० र तीन एक दिवसीय शृंखला आयोजना गरेको हो।

नेपालले चैत पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको दुई एक दिवसीय खेलको शृंखला २-० ले गुमाएको थियो। पिएनजी र मलेसियासम्मेलित त्रिकोणात्मक टी-२० खेलको शृंखला भने नेपालले जितेको थियो। त्यसैले नेपाल आफ्नो जित यात्रा कायम राख्न चाहन्छ।

नेपालले शनिबार जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो। तर लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला टी-२० शृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो।

क्यानले शनिबार मात्र टी-२० शृंखलाका लागि सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हाे।

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्