आगलागीबाट ध्वस्त भएकाे मुक्तकमैया शिविर प्रदेश सरकारले निर्माण गर्ने

धनगढी- आगलागीबाट ध्वस्त भएको कैलालीको बिपतपुर मुक्त कमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ।

केही दिनअघि आगलागीबाट ध्वस्त भएकाे कैलालीकाे कैलारी गाउपालिका ७ मा रहेकाे बिपतपुर शिविर प्रदेश सरकारले निर्माण गर्ने भएकाे हाे।

चालु आर्थिक वर्षभित्रै विस्तृत डिपिआर निर्माण गरी आउँदो आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने प्रदेश सरकारले जनाएकाे छ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार बस्तीको स्थलगत अनुगमन गर्दै बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका छन्।

प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्त कमैयाका बस्ती निर्माण गरिने उनले प्रतिवद्धता जनाए।

प्रदेश सरकारले तत्काल प्रति मुक्त कमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ।

वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नलमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो बस्ती खरानीमा परिणत भएको हो।

७१ घरधुरी रहेको बस्तीका स्थानीयको घरसँगै खाद्यान्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका थिए।

आगलागीले बस्तीका २७ घर पूर्णरूपमा जलेका छन्। १२ घर आंशिक रूपमा जलेका छन् भने ३२ घरमा सामान्य क्षति भएको गाउँका भलमन्सा हिंगुराम चौधरीले जनाए।

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्