सरकारले बनायो नयाँ आइजी

पोखरेल र अन्य सहकर्मीहरुलाई पन्छाउँदै देउवाको रोजाइमा परे सिंह

काठमाडौँ-  सहकर्मीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकलाई पन्छाउँदै एआइजी धिरजप्रताप सिंह नेपाल प्रहरीको आइजी नियुक्त भएका छन्।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख थिए। डिआइजी बन्ने क्रममा सहकर्मीहरुलाई उछिनेका पोखरेलसँग आइजीको दौडमा भने सिंहले बाजी मारेका हुन्। पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्व सरकारले एकल निर्णय गरेर एआइजी बनाएको थियो।

यद्यपि प्रधानमन्त्री शेरबहादुर थापाको जोडबलका अगाडि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँणको केही लागेन। सिंह अन्तत: आइजी नियुक्त भइछाडे। उनलाई आइतबारको क्याबिनेटले आइजी नियुक्त गरेको हो।

प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्नसक्ने भनिएको छ। यसमा रोलक्रमभन्दा पनि प्रधानमन्त्री र गृहमन्त्रीको तजबिजी अधिकारले बढी अर्थ राख्छ।

जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिए पनि यसको वस्तुगत मूल्यांकनको आधार भने नियमावलीले तय गरेको छैन। अहिलेका आइजी शैलेश थापासहित उनका ब्याची प्रहरीहरु ३० वर्षे सेवा अवधिका कारण आइतबार सेवानिवृत हुने भएकाले सरकारले सिंहलाई प्रहरी प्रमुख नियुक्त गरेको हो।

५४ वर्षीय सिंह दैलेखको विजौरामा जन्मिएका हुन्। उनले कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर सकेका छन्।

एसएसपी छँदा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (अहिले उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका सिंहले एसपी छँदा पर्सा र दाङमा जिम्मेवारी सम्हालिसकेका छन्।

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्