मानवजीवनमा कर्मको वा श्रमको अत्यन्त महत्त्वपूर्ण स्थान रहेको पाइन्छ। जन्मेपछि मानिसले कुनै–न–कुनै काम गरेर नै जीवन बिताउनुपर्ने हुन्छ। तथापि भाग्यले साथ नदिएमा कर्म गरेर पनि जीवनमा सफलता प्राप्त गर्न सकिँदैन भन्ने मान्यता पनि छ।

यस सन्दर्भमा सामान्यतया सबै धर्म र सम्प्रदायले व्यक्तिलाई परिश्रमी नबनाएर भाग्यवादी बनाएका छन्, त्यसमा पनि विशेष गरेर वैदिक सनातन वर्णाश्रम धर्मले व्यक्तिहरूलाई बढी नै भाग्यवादी बनाएको छ भनेर कतिपय आधुनिक समालोचकहरू भन्ने गर्दछन्।

वैदिक धर्मले लाटा–सुदा, निर्धन–निर्बल र विपन्न मान्छेहरूलाई आफ्नो शोषित, पीडित र दीनहीन अवस्थाका निम्ति भाग्यलाई दोष दिई सन्तुष्ट रहन प्रेरित गरेको छ र यसले धनी–बली, टाठा–बाठा र शोषकहरूको सुखसयललाई निर्विघ्न बनाउन भूमिका खेलेको छ भन्ने उनीहरूको आक्षेप रहेको देखिन्छ। यो भनाइ वैदिक धर्मका विषयमा कत्ति पनि मेल खाने देखिँदैन।

वैदिक धर्मले व्यक्तिलाई भाग्यमा भर पर्ने नबनाएर सधैँ पुरुषार्थ गर्न प्रेरित गरेको देखिन्छ। यस लेखमा वैदिक वाङ्मयमा कहाँकहाँ केकसरी परिश्रम वा पुरुषार्थ गर्न जोड दिइएको छ भन्ने कुरा मूल प्रमाणहरूको उद्धरण गर्दै विवेचना गर्न खोजिएको छ।

वैदिक धर्मको मूल ग्रन्थ ऋग्वेदमा नै मनुष्यलाई उद्यमशील र परिश्रमी हुन प्रेरणा दिने खालका धेरै ऋचाहरू पाइन्छन्। ऋग्वेदमा एक ठाउँमा परिश्रम नगर्ने मानिससँग देवताहरू मित्रताका लागि तयार हुँदैनन् भनिएको छ। जस्तै— न ऋते श्रान्तस्य सख्याय देवाः।–४।३३।११। यसबाट देवताहरू परिश्रम वा पौरख गर्नेसित प्रसन्न हुने रहेछन् र देवतालाई प्रसन्न पार्न पनि पौरख नै गर्नुपर्ने रहेछ भन्ने बुझिन्छ।

ऋग्वेदका अर्का ऋचामा— जुन अग्नि जाग्दछन् अर्थात् प्रज्वलित हुन्छन् तिनै अग्निलाई ऋचाहरूले चाहन्छन्, तिनैलाई सामहरूले प्राप्त गर्दछन्, तिनै अग्निलाई सोमले म तिम्रा मित्रतामा रहने हूँ भनेर बताउँछन् भनिएको छ। जस्तै—

यो जागार तमृचः कामयन्ते
यो जागार तमु सामानि यन्ति।
यो जागार तमयं सोम आह
तवाहमस्मि सख्ये न्योकाः।।—५।४४।१४।

यसबाट जो आफ्ना काममा सक्रिय हुन्छ त्यसलाई नै देवताले र अरूले पनि मनपराउँछन् भन्ने बुझिन्छ। ऋग्वेदमै अर्का ठाउँमा नराम्रो कर्म गर्ने मान्छेका निम्ति देवताहरू होइनन् भनिएको छ— न देवासः कवत्नवे।–७।३२।९। यसबाट सुकर्म गर्ने प्रेरणा लिन सकिन्छ। यसै गरी अर्को ऋचामा देवताका निम्ति परिश्रम र परिश्रम गर्ने व्यक्ति प्रिय हुन्छन् भनिएको देखिन्छ—

इच्छन्ति देवा सुन्वन्तं
न स्वप्नाय स्पृहयन्ति।
यन्ति प्रमादमतन्द्राः।।—८।२।१८।

अर्थात् आलस्य नगर्ने देवताहरू सोमसवन गर्ने (सोमरस तयार गर्ने) मानिसलाई चाहन्छन्। त्यस मानिसको निद्रालाई (आलस्यलाई) रुचाउँदैनन्। राम्ररी आनन्द दिने सोमलाई प्राप्त गर्दछन्। ऋग्वेदमा श्रमको वा पुरुषार्थको महिमा बताउने यस्ता प्रसङ्ग थुप्रै पाइन्छन्।

शुक्लयजुर्वेदका मन्त्रसंहितामा पनि मान्छेलाई जीवनभर क्रियाशील हुन प्रेरणा दिइएको छ— कुर्वन्नेवेह कर्माणि जिजीविषेच् छतं समाः।।—४०।२। अर्थात् यस लोकमा कर्म गर्दै सय वर्षसम्म बाँच्ने इच्छा राखोस्। यसबाट केवल ज्ञानले मात्र पनि हुँदैन, मनुष्यजीवन सफल पार्न कर्म पनि चाहिन्छ भन्ने बुझिन्छ। यसलाई वैदिक ज्ञानकर्मसमुच्चयवाद भन्दछन्।

श्रमको र तपस्याको महिमा वैदिक शास्त्रमा जतासुकै बताइएको देखिन्छ। शुक्लयजुर्वेदकै ब्राह्मणग्रन्थ शतपथब्राह्मणमा जजमानले श्रम र तपस्या गर्दै त्यस अमृतलाई खोज्दछ भनिएको छ— तद् (अमृतम्) अद्द्यापि यजमानः श्रमेण तपसान्विच्छति।— ९।५।१।८। यस ब्राह्मणमा श्रम र तपस्याको महत्त्व यत्रतत्र बताइएको देखिन्छ।

ऋग्वेदका ऐतरेयिब्राह्मणमा क्रियाशीलताको महत्त्व पाँचओटा गाथाहरूमा सारै राम्ररी दर्साइएको छ। यसै प्रसङ्गमा दस पटक आएको चरैवेति भन्ने उपदेश त धेरैले सुनेकै हुनुपर्छ। चरैवेतिको सन्धिविच्छेद गर्दा यस्तो हुन्छ— चर एव इति अर्थात् सञ्चरणशील होऊ नै। क्रियाशीलताको महत्त्व देखाउने गाथाहरू अनुवादसहित तल देखाइन्छन्—

नाऽनाश्रान्ताय श्रीरस्ति
इति रोहित शुश्रुम।
पापो नृषद् वरो जन
इन्द्र इच् चरतः सखा।।—३३।३। चरैवेति।

हे रोहित, अश्रान्त अर्थात् श्रमले नथाकेका व्यक्तिलाई सम्पत्ति मिल्दैन (अथवा परिश्रमले थाकेका व्यक्तिलाई नानाप्रकारको सम्पत्ति मिल्दछ) भन्ने कुरा हामी सुन्दछौँ। राम्रो मान्छे पनि सञ्चरणशील नभएर स्वजनहरूका बिच बसिरहँदा तुच्छ हुन पुग्दछ। भ्रमणशील अर्थात् सञ्चरणशील व्यक्तिको इन्द्र पनि मित्र हुन्छन्। अतः तिमी पनि सञ्चरणशील होऊ।

पुष्पिण्यौ चरतो जङ्घे
भूष्णुरात्मा फलग्रहिः।
शेरेऽस्य सर्वे पाप्मानः
श्रमेण प्रपथे हताः।।—३३।३। चरैवेति।

हे रोहित, सञ्चरणशील व्यक्तिका दुई खुट्टा पूmलसमान हल्का हुन्छन्। शरीरको मध्यभागको वृद्धि हुन्छ र आरोग्यरूपी फल प्राप्त हुन्छ। परिश्रम गर्ने मान्छेका पापहरू मार्गका श्रमले समाप्त भएर सुत्दछन् (श्रमले पाप नष्ट हुन्छन्)। अतः तिमी पनि सञ्चरणशील होऊ।

आस्ते भग आसीनस्य
ऊध्र्वस् तिष्ठति तिष्ठतः।
शेते निपद्यमानस्य
चराति चरतो भगः।।—३३।३। चरैवेति।

हे रोहित, बसिरहने मान्छेको भाग्य बसीरहन्छ। उभिईरहने मान्छेको भाग्य उभिईरहन्छ। सुतीरहने मान्छेको भाग्य सुतीरहन्छ। सञ्चरणशील हुने मान्छेको भाग्य सञ्चरणशील हुन्छ। अतः तिमी पनि सञ्चरणशील होऊ।

कलिः शयानो भवति
सञ्जिहानस्तु द्वापरः।
उत्तिष्ठँस्त्रेता भवति
कृतं सम्पद्यते चरन्।।—३३।३। चरैवेति।

हे रोहित, निदाएर सुतीरहँदा मान्छे कलि हुन्छ। निद्राबाट बिउँझिदा मान्छे द्वापर हुन्छ। उठ्दा मान्छे त्रेता हुन्छ। सञ्चरणशील मान्छे कृत (सत्य) हुन्छ। अतः तिमी पनि सञ्चरणशील होऊ। यस गाथामा सत्य, त्रेता, द्वापर र कलि युगको विशिष्ट स्वरूप देखाइएको छ।

चरन् वै मधु विन्दति
चरन् स्वादुमुदुम्बरम्।
सूर्यस्य पश्य श्रेमाणं
यो न तन्द्रयते चरन्।।— ३३।३। चरैवेति।

हे रोहित, घुमीरहँदा मान्छेले कतै मह प्राप्त गर्दछ, घुमीरहँदा मान्छेले कतै स्वादिलो फल प्राप्त गर्दछ। सूर्यको श्रेष्ठता हेर, जो निरन्तर चलीरहँदा पनि कहिल्यै आलस्य गर्दैनन्। अतः तिमी पनि चलिरहू।

यसरी विभिन्न उदाहरण दिएर आलस्य नगरीकन निरन्तर क्रियाशील र गतिशील हुन वेदले मानिसलाई प्रेरणा दिएको छ। आलस्यलाई पाप र क्रियाशीलतालाई पुण्य मानिएको छ।

वैदिक धर्मको मूल ग्रन्थ ऋग्वेदमा नै मनुष्यलाई उद्यमशील र परिश्रमी हुन प्रेरणा दिने खालका धेरै ऋचाहरू पाइन्छन्। ऋग्वेदमा एक ठाउँमा परिश्रम नगर्ने मानिससँग देवताहरू मित्रताका लागि तयार हुँदैनन् भनिएको छ।

कृष्णयजुर्वेदको कठोपनिषद्मा पनि श्रमको र तपस्याको तथा क्रियाशीलताको महत्त्व देखाई मानिसलाई जाग्न भनिएको छ— उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत।—१।३।१४। अर्थात् उठ, जाग र श्रेष्ठ व्यक्तिकहाँ गएर ज्ञान प्राप्त गर। यसै गरी मनुस्मृतिमा पनि मानिसलाई बाँचुञ्जेल पौरख गर्न प्रेरणा दिइएको छ—

नाऽऽत्मानमवमन्येत
पूर्वाभिरसमृद्धिभिः।
आ मृत्योः श्रियमन्विच्छेन्
नैनां मन्येत दुर्लभाम्।।—४।१३७।

आफ्नो पहिलाको असमृद्धि सम्झेर आफूलाई अनादर नगरोस् (आफूलाई असमर्थ नठानोस्) र नमरिञ्जेल समृद्धि प्राप्त गर्न प्रयत्न गरीरहोस्, यस समृद्धिलाई दुर्लभ पनि नमानोस्। यसबाट कुनै वेला कार्य गर्दा असफलता मिले पनि हरेस नखाईकन निरन्तर कार्य गरीरहेमा एक दिन अवश्य सफलता मिल्दछ भन्ने कुरा बुभ्mन सकिन्छ। मनुस्मृतिको अर्को श्लोकमा पनि निरन्तर काम गर्ने व्यक्तिले नै श्री पाउँछ भनिएको छ—

आरभेतैव कर्माणि
श्रान्तःश्रान्तः पुनःपुनः।
कर्माण्यारभमाणं हि
पुरुषं श्रीर्निषेवते।।—९।३००।।

कामका उठानले र त्यसका विफलताले थकित हुँदा पनि बारम्बार कामको उठान गरीनैरहोस्। किनभने ं कामको उठान गर्दै रहने व्यक्तिलाई नै लक्ष्मी प्राप्त हुन्छ। यस भनाइबाट पनि कामदेखि कहिल्यै पनि निवृत्त नहुन र निरन्तर काम गरीरहन प्रेरणा मिल्दछ।
त्यसै गरी वाल्मीकिरामायणमा सबैभन्दा बलवान् उत्साह हुन्छ, उत्साहभन्दा बलवान् अरू केही हुँदैन र उत्साही व्यक्तिका लागि तीनै लोकमा कुनै वस्तु पनि दुर्लभ हुँदैन भनिएको छ—

उत्साहो बलवानार्य
नास्त्युत्साहात् परं बलम्।
सोत्साहस्य हि लोकेषु
न किञ्चिदपि दुर्लभम्।।—४।१।१२३।

महाभारतमा पनि वैराग्य नलिईकन कार्य गर्नु नै श्रीसम्पत्तिको, लाभको र कल्याणको मूल कारण हो, त्यसैले वैराग्य नलिने (उत्साह लिने) व्यक्ति महान् हुन्छ र उसले अनन्त सुख प्राप्त गर्दछ भनिएको छ—

अनिर्वेदः श्रियो मूलं
लाभस्य च शुभस्य च।
महान् भवत्यनिर्विण्णः
सुखं चाऽऽनन्त्यमश्नुते।।—उद्योगपर्व ३९।५८–५९।

महाभारतकै भीष्मपर्वको एक अतिप्रसिद्ध अंश गीतामा पनि मान्छेलाई पौरख गर्न अत्यन्तै प्रेरित गरिएका विभिन्न श्लोक छन्। तीमध्ये एउटा श्लोकमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ—

रसोऽहमप्सु कौन्तेय
प्रभाऽस्मि शशिसूर्ययोः।
प्रणवः सर्ववेदेषु
शब्दः खे पौरुषं नृषु।।—भीष्मपर्व ३१।८ (गीता ७।८)।

हे अर्जुन, म जलमा रस हूँ, चन्द्रमा र सूर्यको ज्योति हूँ, सबै वेदमा ओङ्कार हूँ, आकाशमा शब्द हूँ र मानिसमा पौरख हूँ। यस श्लोकबाट मानिसमा रहने महत्त्वपूर्ण गुण पौरख हो भन्ने कुरा स्पष्ट हुन्छ।

गीताकै “कर्मण्येवाऽधिकारस्ते मा फलेषु कदाचन” (२।४७) भन्ने सुप्रसिद्ध भनाइले पनि मनुष्यको अधिकार कर्म गर्नमा छ, फल प्राप्त गर्नमा छैन भनेर परोक्ष रूपमा कर्म गर्न प्रेरित गरेको बुझिन्छ। शास्त्रमा तोकिएका आआफ्ना वर्णका कर्म गरेर नै चारै वर्णका मानिसहरूले सिद्धि प्राप्त गर्दछन् भन्ने पनि गीताको उपदेश छ। कर्म गरेर मात्र तत्त्वज्ञान आर्जन गर्न सकिन्छ र त्यस ज्ञानद्वारा मात्र मोक्ष मिल्दछ भन्ने वेदान्तदर्शनको सिद्धान्त छ। यसबाट पनि कर्म अत्यन्त महत्त्वपूर्ण छ भन्ने कुरा बुभ्mन सकिन्छ।

यसरी वैदिक धर्मले पौरखलाई महत्त्व दिएको हो भने “भाग्यको खेल, दैवको लीला, नियतिको खटन” इत्यादि भनाइ लोकव्यवहारमा कसरी चलेका हुन् त भन्ने प्रश्न पनि यहाँ उठ्न सक्छ। साथै केवल सत्कर्मको सुफल पाइनुपर्नेमा सुकर्म गर्दागर्दै पनि मानिस किन आफ्ना उद्देश्यमा सफल हुन सक्तैनन् त भन्ने प्रश्न पनि उब्जन्छ। तसर्थ पुरुषार्थ के हो, भाग्य के हो र मानवजीवनलाई अगाडि बढाउन यी दुईको के–कस्तो भूमिका रहन्छ भन्ने विषयमा पनि यस सन्दर्भमा विचार गर्नुपर्ने देखिन्छ। अर्को लेखमा यस विषयको विवेचना गरिनेछ।

अहिलेलाई उद्यमको महत्त्व देखाउने नीतिशास्त्रको एउटा प्रसिद्ध सूक्तिबाट यस लेखको उपसंहार गरिन्छ। सूक्तिको भावानुवाद यसप्रकार रहेको छ— कुनै पनि काम वा उद्योग परिश्रम गरेर नै सिद्ध हुन्छन्, केवल मनले कल्पना गरेर मात्र सिद्ध हुँदैनन्। सुतेका सिंहका मुखमा मृगहरू आफैँ आएर पस्दैनन्, सिंहले मृग मार्न प्रयत्न गर्नै पर्छ—

उद्यमेन हि सिध्यन्ति
कार्याणि न मनोरथैः।
न हि सुप्तस्य सिंहस्य
प्रविशन्ति मुखे मृगाः।।

 

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्