कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (अप्रिल २४ देखि ३० सम्म)

फेरि आउनसक्छ कोरोना संक्रमण

कोरोना प्यान्डेमिकबारे विश्वका अधिकांश भूभाग र नेपालको कुरा गर्ने हो भने हाल प्यान्डेमिक अवस्था निकै शान्त छ। मानौं प्यान्डेमिक अन्त्य भइसके पनि पश्चिम युरोप, पूर्वी एसिया, अस्ट्रेलिया आदि देशमा भने प्यान्डेमिक आतंक र त्रास बाँकी नै छ।

नेपालमा वर्तमान प्यान्डेमिकको अवस्था हालसम्मकै सबैभन्दा शान्त, नियन्त्रित र सुरक्षित छ भन्ने कुरा यस शृंखलाका विगतका अंकमा र अन्य सञ्चारमाध्यमबाट पनि स्पष्ट भइसकेको छ।

नेपालमा हालसम्म ९७८७७८ जनामा कोरोना संक्रमण भइसकेको छ पीसीआर परीक्षणअनुसार र त्यसमध्ये ११९५१ जनाले कोरोनाकै कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

त्यस अर्थमा नेपालको समग्र कोरोना मृत्यु दर १.२२% छ। नेपालमा एक महिनाभन्दा लामो समयदेखि दैनिक कोरोना मृत्यु शून्य रहेको सन्दर्भमा हाल दैनिक मृत्यु दर पनि शून्य छ। तर, नेपालमा विगतका प्यान्डेमिक लहरका बेला कोरोना मृत्यु संख्या र मृत्यु दर निकै उच्च पुगेको थियो।

सन् २०२१ मे महिना अर्थात् ०७८ जेठको प्यान्डेमिक लहरका बेला एकै दिन २४६ जनासम्मको कोरोनाकै कारण ज्यान गएको थियो भने त्यतिबेला कोरोना मृत्यु दर ३.०% नाघेको थियो।

दक्षिण एसियामा कोरोना मृत्यु दर सबैभन्दा धेरै भएको देश अफगानिस्तान, श्रीलंका, पाकिस्तान, बंगलादेश आदि पर्छन् भने अन्य देशमा नेपालकै सरह मृत्यु दर भेटिएको छ। विश्वमै कोरोना मृत्यु दर निकै न्यून भएको देशमा भुटान पनि पर्छ।

छिमेकी देश भारतमा वास्तविक कोरोना मृत्यु र मृत्यु दर कति छ स्पष्ट छैन र विभिन्न श्रोतद्वारा भारतको वास्तविक कोरोना मृत्यु तथ्यांकमा देखिएभन्दा धेरै भएको अनुमान गरिएको छ।

भारतमा बेलाबेलामा कोरोना मृत्युको धेरै ठूलो तथ्यांक सार्वजनिक हुने गरेको छ। डब्लुएचओका अनुसार त्यहाँ हालसम्म सबैभन्दा धेरै दैनिक कोरोना मृत्यु गत वर्षको जुनतिर एकै दिन ६००० भन्दा धेरै भएको थियो।

हाल पनि प्यान्डेमिक शान्त रहेको अवस्थामा र दैनिक मृत्यु निकै कम करिब ४०–६० भएको अवस्थामा मार्च अन्त्यतिर भारतमा हालसम्मकै दोस्रो धेरै मृत्यु एकै दिन ४००० भन्दा धेरै भएको थियो।

हाल विश्व र नेपालमा पनि कोरोना भ्याक्सिनले व्यापकता पाएको छ। नेपाल सरकारका अनुसार नेपालमा सम्पूर्ण जनसंख्याको करिब–करिब ७६% ले कम्तीमा एक मात्रा भ्याक्सिन लगाइसकेका छन् भने करिब ६७% ले पूर्ण या दुई मात्रा खोप लगाइसकेका छन्।

यदि, १२ वर्ष माथिका जनसंख्या हेर्ने हो भने नेपालमा ९५% जनसंख्याले कम्तीमा एक मात्रा र ८४% ले पूर्ण या दुई मात्रा खोप लगाइसकेका छन्।

नेपाल सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म देशभरिको कुल कोरोना संक्रमितमध्ये ४३% महिला र ५७% पुरुष छन्।
तीमध्ये करिब ५०% संक्रमित २० देखि ४० वर्ष समूहका छन्।

त्यस्तै, ४१–५० समूहका करिब १७% र ५१–६० वर्ष समूहका १२% संक्रमित छन्। बाँकी २१% अन्य समूहका छन्। त्यस्तै, सबैभन्दा कम संक्रमित देखिएको उमेर समूहमा १० वर्षभन्दा कम जुन करिब २.२% मात्रै र ८० वर्षभन्दा माथि, करिब १.५ % मात्रै देखिएको छ।

तर, कोरोना मृत्युको सन्दर्भमा कति उमेर समूहमा कति मृत्यु भयो स्पष्ट तथ्यांक भेटिएन।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ अप्रिल १३ देखि २७, कोकोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण केही बढ्न खोजेजस्तो देखिएको छ जुन दैनिक ३०००–४००० पुगेको छ।

यद्यपि, यो संख्या विगतको तुलनामा धेरै सानो हो। त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय केही बढेको छ जुन १००–२०० पुगेको छ।
गत १५ दिन दैनिक मृत्यु निकै कम भई ५० जति पुगेको थियो।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो समय नेपाललगायत सबै देशमा दैनिक संक्रमण निकै न्यून छ भने भारतमा पछिल्लो समय दैनिक संक्रमण बढेर २५०० नाघेको छ जुन दुई हप्ताअघिसम्म १००० भन्दा कम थियो। भुटानमा हाल पनि दैनिक संक्रमण केही घट्दै गएको छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै हाल दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून छ भने भारतमा दैनिक कोरोना मृत्यु केही बढेको छ, करिब १००, र बेलाबेलामा त्यहाँ दैनिक मृत्युको ठूलो संख्या देखिने क्रम जारी छ।

केही दिनअघि मात्रै दैनिक मृत्यु १४०० पुगेको थियो।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर १.५% भन्दा कम छ।

हाल पनि लाओस, नेदरल्यान्ड, न्युजिल्यान्ड आदि देशमा दैनिक संक्रमण दर ९०% जति छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ अप्रिल २४ देखि ३० अर्थात् ०७९ वैशाख ११ देखि १७ गतेको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, वैशाख १७ गते शनिबारसम्म, देशभरि जम्मा ७८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७८८१० पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि पनि ७८ थियो।
त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य रह्यो। हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५१ पुगेको छ।

यसरी नेपालमा दैनिक कोरोना मृत्यु शून्य भएको ५ हप्ता भएको छ।

गत हप्ता जम्मा २५४१६ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १९८४३ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमणअनुपात ७०.९६% देखियो जुन दुई हप्ताअघि ५०.४%थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.१९%देखि अधिकतम०.५२%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.३८% रह्यो जुन दुई हप्ताअघि ०.४% थियो।

नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गएका छन्। तर, पछिल्लो समय भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु दुवै केही बढेको छ यद्यपि यो संख्या विगतको तुलनामा निकै सानो छ। हाल पनि पश्चिम युरोप, पूर्वी एसिया, अस्ट्रेलिया आदि क्षेत्रमा प्यान्डेमिकको तनाव कम भएको छैन।

गत हप्ता ०७९ वैशाख ११ देखि १७, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्या पनि शून्य रह्यो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न। नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा यो लेख प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्