स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुन्छः शेखर कोइराला

मोरङ – तालमेलका रूपमा स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्।

नेपाल टे«ड युनियन कांग्रेस मोरङद्वारा १३३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले वर्तमान अवस्थामा दलीय गठबन्धनमा निर्वाचनमा अघि बढेर जित हात पार्ने प्रस्ट्याए।

शीर्ष तहमा गठबन्धन भए पनि विराटनगरका वडा तहमा कांग्रेस एक्लै प्रतिस्पर्धामा रहेको बताएका डा. कोइरालाले भने, ‘वडा तहमा स्पष्ट प्रतिस्पर्धा गर्दै छाँै। जहाँ तालमेल हुन्छ त्यहाँ गर्ने जहाँ सकिन्न त्यहाँ फरक–फरक अवस्थामा चुनावी मैदानमा उत्रने हो।’

त्यसैगरी, श्रमिकका हाल बाँकी रहेका केही मुद्दा पूरा गर्न कांग्रेसले निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए।

उनले भने, ‘अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था सरकारसँग समेत आकडा छैन। यस्तो अवस्थामा स्थानीय तहबाट सूचीकृत गर्दै श्रमिक समेट्न सक्दा त्यो उपलब्धिपूर्ण हुनेछ।’

कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले निर्वाचनमा गठबन्धनलाई जोड दिन आग्रह गरे। गठबन्धनअनुसार पार्टीलाई र त्यसपछि दलीय गठबन्धनलाई साथ–सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै क्षेत्रबाट विराटनगर ऐतिहासिक सहर भएको बताएका नेता निधिले श्रमिकको पक्षमा काम गर्ने दलका रूपमा कांग्रेस मात्र रहेको उल्लेख गरेका थिए।

कार्यक्रममा महानगरका मेयर उम्मेदवार नागेश कोइरालाले निर्वाचनलाई लिएर आन्तरिक तुष नरहेको प्रस्ट्याए। पछिल्लो समय विराटनगरका तीन केन्द्रीय सदस्यसहित आफूलाई विवादमा ल्याउने प्रयास भएको बताएका उम्मेदवार कोइरालाले सबैको सहमतिमा आफूले उम्मेवारीको अवसर पाएको बताए।

निर्वाचनमा गठबन्धन एकसाथ रहेको बताएका कोइरालाले महानगरमा हुने गरेका भ्रष्टाचारलाई शून्यता मात्र नभएर माइनस १० सम्म पुर्‍याउने लक्ष्य राखेको प्रस्ट्याए। त्यसैगरी, गठबन्धनका उपमेयर उम्मेदवार जसपाका अमरेन्द्र यादवले विराटनगरलाई स्वास्थ्य क्षेत्रको हब बनाउनेमा जोड दिए।

महानगरमा श्रमलाई न्यायोचित बनाउनेतर्फ जोड दिएका यादवले सम्मान, समृद्धि र सुशासनका लागि जनतामाझ आफू आएको बताए।

सार्क टे«ड युनियन फेडेरेसनका महासचिव लक्ष्मण बस्नेत महानगरमा अब विकाससँगै श्रमिकको स्तरवृद्धिमा दलले ध्यान दिनुपर्ने बताए।

पाँच दलको गठबन्धनसँगै छैटो दलका रूपमा श्रमिकसँग पनि बेग्लै गठबन्धन आवश्यकता भइसकेको बताएका महासचिव बस्नेतले श्रमिकलाई नेतृत्व तहसम्मको समान अधिकार दिलाउन सबैले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्