विवेकशील साझा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक

मोरङ – विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। विराटनगरमा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको २५ बुँदे प्रतिज्ञा पत्र आइतबार सार्वजनिक गरेका हुन्।

स्थानीय तह निर्वाचनमा विवेकशीलले विराटनगर महानगरपालिकामा मेयर उपमेयरसहित ७ वटा वडामा अध्यक्षलाई चुनावी मैदानमा उतारेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष मिश्रले युवा, विद्यार्थी, वृद्धवृद्धा तथा महानगरका बासिन्दाको पक्षमा काम गर्ने जानकारी दिए।

विद्यार्थीका लागि सञ्चय कोष सञ्चालन गर्ने जनाएको विवेकशीलले स्टार्ट अप बिजनेसका लागि युवालाई १० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने जनाएको छ। प्रतिज्ञापत्रमा ज्येष्ठ नागरिकका लागि अनुभव संरक्षण शाखा सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी, नगर बस सञ्चालनदेखि महानगरलाई साइकल मैत्री सहर र रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउनेसम्मको सन्दर्भ विवेकशीलले ल्याएको छ। आर्थिक क्षेत्रलाई समेट्दै पार्टीले करको दायरा फराकिलो पार्दै दोहोरो कर प्रणाली अन्त्य गर्ने जनाएको छ।

त्यसैगरी, युवामा उद्यमशीलता विकासका लागि छुट्टै शाखा बनाएर वित्तीय, प्राविधिक र बजारीकरणको व्यवस्था गर्ने जनाएको छ।
कुलत र लागुपदार्थ दुव्र्यसनविरुद्ध सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको पार्टीले अशक्त र असहाय र ज्येष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराउने प्रतिज्ञा पत्रमा जनाएको छ।

महानगरको खानेपानीलाई स्तरीय र शुद्धतासहित वितरण गर्ने जनाएको पार्टीले सुकुम्बासी समस्या समाधानका लागि संयुक्त आवासको पहल गर्ने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, महानगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्दै सामुदायिक पार्कका रूपमा विकास गर्ने संकल्पसमेत पार्टीले लिएको छ।
विवेकशील पार्टीबाट विराटनगरको मेयरमा अमलेश कर्ण र उपमेयरमा श्रृजु पराजुलीले उम्मेदवारी दिएका छन्।

कार्यक्रममा पार्टी अध्यक्ष मिश्रसँगै प्रवक्ता शरदराज पाठक, केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारलगायतको उपस्थिति थियो।

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्