हिमवत्‌खण्डमा जलवायु परिवर्तनबारे १२ प्रश्न

जलवायु परिवर्तन हिजोआज निकै चासोको विषय बनेको छ। हाल भइरहेको जलवायु परिवर्तनले विश्वलाई नै एकप्रकारको त्रास दिइरहेको अवस्थामा यो विषय हिमवत् खण्डको एक देश नेपाललाई पनि चुनौतीपूर्ण बन्दै गएको छ। जलवायु परिवर्तन र यसका असरहरुको बारेमा प्रश्नोत्तर शैलीमा यहाँ व्याख्या गर्न प्रयास गरिएको छ।

जलवायु परिवर्तन भनेको के हो ?
जलवायु शब्दसँगै आउने अन्य केही शब्दावली छन्। जस्तै मौसम, वातावरण, हावापानी, पृथ्वीको उष्णता र पर्यावरण हुन्। जलवायु परिवर्तन बुझ्नुअघि यी माथि उल्लेखित शब्द जानियो भने जलवायु परिवर्तनको अर्थ थाहा पाउन सजिलो हुन्छ। मौसम भनेको क्षण क्षणमा परिवर्तन हुने वायुमण्डलिय गतिविधि हो। यो छोटो समयमा हुने परिवर्तन हो। उदाहरणका लागि आज विहान बादल लागेको थियो, दिउसो पानी पर्‍यो, फेरि घाम लाग्यो अनि साँझ हावाहुरी आयो। यस्तो परिवर्तन प्रकृतिमा निरन्तर हुन्छ र हुँदै आएको छ। यसलाई मौसम परिवर्तन भनिन्छ।  तर जलवायु भनेको लामो समयको मौसमको अवस्था हो। सामान्यतया: यो ३० वर्षको मौसमको अवधिलाई जलवायु मानिन्छ। जस्तैः हिमवत खण्ड नेपालको कुरा गर्दा मनाङको जलवायु चिसो र हिउँ पर्ने उच्च हिमाली जलवायु हो भने तराईको जलवायु गर्मी वा न्यानो जलवायु हो। अंग्रेजी शब्द weather को नेपाली अर्थ मौसम हो भने Climate को चाहिँ जलवायु हो। त्यस्तै ecology भनेको पर्यावरण हो भने Global Warming भनेको पृथ्वीको उष्णता हो। Environment भनेको वातावरण हो।

वायुमण्डलमा हरित गृह ग्याँसको घनत्व हुन्छ। यसलाई हरित गृह भनिन्छ। यसले पृथ्वीको सतह तताउने काम गर्छ। यदि हरित गृह नहुँदो हो त पथ्वी तात्ने प्रकिया हुँदैन थियो। हाल हरित गृह ग्याँसको घनत्व धेरै भएको हुनाले पृथ्वी थप तातिँदै गएको छ। यस तातिने प्रकियालाई पृथ्वीको उष्णता (Global Warming) भनिन्छ। पृथ्वीको उष्णताले जलवायुमा असर गर्छ। उदाहरणको लागि मनाङको चिसो जलवायु तातिँदै जानु वा तराईको गर्मीपना बढ्दै जानु जलवायु परिवर्तन हो।

पृथ्वी कति तातेको छ?

हालसम्म पृथ्वी दुई डिग्री फरेनहाइटले तातेको छ। तर यो सुन्दा थोरै भएपनि ज्यादै प्रभावकारी छ। यो बुझ्नलाई मानिसलाई ज्वरो आएको कल्पना गरौँ। यदि शरीरको सामान्य तापक्रम ९८ डिग्री फरेनहाइटबाट १ डिग्री मात्रै बढेमा पनि ज्वरो आउने र शरीर तातिएर बिरामी हुन थाल्छ। सामान्य भाषामा भन्दा हाल पृथ्वीलाई पनि ज्वरो आएको छ र ज्वरो बढ्दै गइरहेको छ। सन् २०२२ को सुरुवाती समय सम्ममा सन् १८८० को तुलनामा पृथ्वीको तापक्रम १.५ डिग्री फरेनहाइटलेले वृद्धि भएको छ। यहि अवस्थामा पृथ्वी तातिँदा मात्रै पनि विश्वभरि नै हिँउ पग्लिरहेको छ भने समुद्री सतहको वृद्धि भइरहेको छ। यदि तापक्रम बढ्दै गएर दुई डिग्री फरेनहाइटसम्म पुगेको खण्डमा यो शताब्दीको अन्त्यसम्म नेपालको आधा हिमवत्‌खण्ड नष्ट हुनेछ। पृथ्वी तात्ने प्रकृया रोक्न विश्वभरि नै नाटकीय पहलकदमीहरु लिइयो र पृथ्वीमा हाल बढिरहेको तापक्रम १.५ डिग्रीमै सीमित गर्न सकियो भने पनि नेपालको हिमालयमा भएको ३६ प्रतिशत हिउँ पग्लिने भने निश्चित छ।

हरित गृह के हो? यसले कसरी पृथ्वी तताँउछ?

१९ औं शताब्दीतिर वायुमण्डलमा भएका केही निश्चित ग्यासहरुले सूर्यबाट आएको विकिरण पृथ्वीबाट परावर्तन हुने क्रममा रोक्ने छेक्ने गरेको पाइयो। यिनै ग्याँसका कारण पृथ्वीको सतहको तातोपना कायम भएको पत्ता लाग्यो। यसको मुख्य भूमिकामा कार्बनडाइअक्साइड सहित अन्य ग्यास रहेको थाहा भयो। यिनै ग्यासलाई हरित गृह ग्यास र प्रकृयालाई ‘हरित गृह प्रभाव’ (Greenhouse effect) भनिन्छ। हरित गृह ग्यासमा कार्बनडाइअक्साइड, पानीको वाफ, मिथेन, नाइट्रोजन डाइअक्साइड र ओजन हुन्छन्। हाल पृथ्वीको आफ्नो सतहको तापक्रम १४ डिग्री सेल्सियस छ। यो तापक्रम हामी मानव र प्राणी बाँच्नका लागि उपयुक्त हो। यदि कार्बनडाइअक्साइड र अन्य ग्यासले यो पृथ्वी तताउने काम नगर्ने हो भने सूर्यबाट आएको विकिरण परावर्तित भएर तातोपना अन्तरिक्षमा जाने र पृथ्वी चिसिएर ‘माइनस’ २५ डिग्री सम्म हुने थियो र त्यस्तो चिसोमा कुनै पनि प्राणी बाँच्न सम्भव हुदैन थियो। त्यसैले पृथ्वीमा प्राणीहरु बाच्न चाहिने तापक्रमको लागि वायुमण्डलमा हरित गृह ग्यास नभई हुँदैन।

केही दशक पहिलेसम्म हरित गृहले सन्तुलित रुपमा काम गरिरहेको थियो। तर औद्योगिक क्रान्तिपछि यस्ता हरित गृह ग्यासको मात्रा वायुमण्डलमा थपिँदै गयो। यसैको कारण पृथ्वी थप तातिन गयो। औद्योगिक क्रान्ति अगाडिको तुलनामा अहिलेसम्म ४३ प्रतिशत हरितगृह ग्यास बढेको पाइएको छ।

के कार्बनडाइअक्साइड वृद्धिमा मानिस नै जिम्मेवार छन्?

वायुमण्डलमा भएको कार्बनडाइअक्साइड प्राकृतिक रुपमा बढ्ने र घट्ने चक्र हजारौँ वर्षको अन्तरालमा हुने गर्थ्यो। भूगर्भविद र अन्य वैज्ञानिकहरुका अनुसार यो पृथ्वी लाखौं वर्षमा तातिने र चिसिने प्रकृया भई आएको छ। हजारौ वर्षमा सुस्तरी हुने प्रकृया हाल मानिसको गतिविधिका कारण छिटो र छोटो समयमा हुनपुग्यो। औद्योगिक क्रान्ति हुनु अगाडि विकासका गतिविधि नभएका कारण कार्बनडाइअक्साइड बढेको थिएन तर औद्योगिक क्रान्तिपछि हरित गृह ग्यास बढ्दै गएको छ। यसकारण कार्बनडाइअक्साइड वृद्धि हुनुमा मानिस नै जिम्मेवार छन् भन्नेमा दुई मत छैन।

के मानिस बाहेक प्राकृतिक कारणले पनि पृथ्वी तातिन सक्छ?

सक्दैन। सिद्धान्ततः त्यसो हुन पनि सक्छ। उदाहरणका लागि, सूर्यबाट अचानक धेरै विकिरण आउन सुरु भयो भने पृथ्वी पक्कै पनि बढी तात्न सक्छ। प्राकृतिक कारणले पृथ्वीको तापक्रम परिवर्तन गराउन सक्ने कुनै पनि अनुमानहरु हालसम्म देखिएको छैन। हाल वृद्धि भइरहेको तापक्रम प्राकृतिक रुपले सिर्जित हरित गृह ग्यासले नभई मानवजन्य हरित गृह ग्यासको उत्सर्जनको कारण भएको हो। यदाकदा ज्वालामुखी विस्फोटनले केही परिवर्तन गरेपनि यो छोटो समयको लागि मात्र हुने बताइएको छ। यसका अलवा अन्य कुनै प्राकृतिक तत्वको कारण हरित गृह ग्यास बृद्धि भएको हो भन्ने कुरा हालसम्म प्रमाणित र पुष्टि भएको छैन। हावाहुरी, प्रदूषण, आगलागी वा ज्वालामुखीबाट निस्कने धुँवा, बाढि पहिरो लगायतका प्राकृतिक प्रकोपबाट सिर्जित समस्या भने प्रकृति आफैले मिलाउने गर्छ। तर मानवका कारण भएको हरित ग्यास उत्सर्जनले ल्याएको समस्या भने जटिल बन्दै गएको छ।

जलवायु परिवर्तनलाई लिएर नेपालमा मानिसहरुले कस्तो अनुभव गरेका छन्?

केही अनौठो र केही विषमताको। मानिसहरुले वि.सं २०४१ सालमा काठमाडौमा वर्ष भरिमा २ दिन अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस भएका दिनको अनुभव गर्दथे। उनै मानिसहरुले ३६ वर्षपछि २०७७ साल देखि यता औसतमा नौभन्दा बढी दिन अधिकतम तापक्रम ३२ डिग्री पुगेको दिनहरु अनुभव गर्दैछन्। यसरी हेर्दा उनै मानिसहरुले ८० वर्षपछि, वर्षमा २८ देखि ४९ दिन सम्म यस्तो गर्मी खप्नु पर्ने देखिन्छ।

सधै हिँउ पर्ने ठाउँमा पानी पर्न थालेको, हिमाली भेगमा लामखुट्टे पाइन थालेको, समय अगावै फूल फुल्ने जस्ता केही अनौठा गतिविधि जलवायु परिवर्तको कारण भएका हुन् भन्ने केही प्रमाणहरु फेला परेका छन्। मनसुन समयमा सक्रिय नहुँदा वा ढिलो छिटो हुँदा अन्नबाली उब्जनीमा कमी आएको छ। जलवायु परिवर्तनको असर पहाड र तराईको भन्दा नेपालको उच्च हिमाली क्षेत्रमा बढी छ। विगत ३० वर्षमा नेपालको पूर्वी सिङ्गलिला हिमाली श्रृंखलादेखि पश्चिम कुथियाङक्की पर्वत क्षेत्रमा ५ हजारभन्दा बढी नयाँ हिमतालहरु बनेका र बन्न सुरु गरेका छन्। यस किसिमको प्रतिकूल गतिविधि हिमवत खण्डका सबै देशमा परिरहेको छ। साना तर पुराना हिमतालहरु ठूलाठूला हुँदै गएका छन्। हिम-रेखा भन्दा तल्लो भेगका हिमतालहरु भने सुक्दै गएका छन्। अधिकांश पहाडी क्षेत्रका मझौला र साना मूलहरु सुकेका छन् भने पानीका ठूला स्रोतहरुमा ३० प्रतिशतले पानी घटेको पाइएको छ। पानी पर्ने दिन र अवधि घटेका छन्। भूमिगत पानीको सतह तल-तल सरिरहेको छ। बाढीको संख्या र परिमाण बढेको, सुख्खा यामको समय लामो भएको, हिमताल फुट्ने खतरा बढेको, गर्मी महिनामा गर्मी बढेको र जाडोका दिनहरु घट्दै गइरहेको देखिन्छ । नेपाल जलवायु जोखिमको आधारमा प्रमुख १० जोखिमयुक्त राष्ट्रमध्य एक बनेको छ। जलवायु परिवर्तनसँगै आउने यी खतराहरुले धनजनको क्षति मात्र नभई नेपालको विकासको गतिलाई नै अवरोध पुर्‍याएको छ। यो हिमवत खण्डका सबै देशहरु पाकिस्तान, अफगानिस्तान, भारत, तिब्बत, भुटान, बङ्लादेश र म्यान्मारको साझा समस्या भएको छ।

व्यक्तिगत तवरमा भौतिक सुविधा कम उपभोग गर्न सकिन्छ जसले गर्दा कम कार्बन उत्सर्जन हुन्छ। पैसा वचत हुन्छ। कम मासु खाने वा शाकाहारी बन्ने, निजीको सट्टा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने, स्वच्छ उर्जा प्रयोग गर्ने, खाना नफाल्ने, प्रयोगहीन बत्ती निभाउने, किफायती चिम प्रयोग गर्ने, हिँड्ने वा साईकल चड्ने, साधारण जीवन यापनमा जोड दिने, स्थानीय उत्पादनको प्रयोगमा जोड दिने जस्ता व्यक्तिगत तवरमा धेरै यस्ता कार्य गर्न सकिन्छ।

किन मानिसहरु जलवायु परिवर्तनको विज्ञानलाई नकारिरहेका छन्?

धेरै राजनीतिक नेता, भौतिक विकासमा लाग्ने मानिसहरु, तेलको व्यापारमा लाग्ने मानिसहरु जलवायु परिवर्तन भन्ने कुरा नकार्छन्। यसरी जलवायु परिवर्तनको विषयलाई नकार्नेमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अग्रपङ्तिमा थिए। यस्ता प्रवृत्तिलाई तेल र कोइला कम्पनीहरुले साथ दिइरहेका छन्। अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको दाबी के थियो भने ‘वैज्ञानिकहरुले पृथ्वी तातियो अनि यसको असरले जलवायु परिवर्तन भयो भनेर दाबी गर्न छाड्नु पर्छ किनकि हिँउदमा त मौसम ज्यादै चिसो हुन्छ।’

‘वैज्ञानिकहरु विश्व भरिनै आम मानिसमा एउटा हौवा मच्चाउन संलग्न रहेको’ र ‘चीनले अमेरिकी उद्योग धराशायी बनाउन यस्तो नाटक रचेको’ भन्ने उनको आरोप थियो। तर ट्रम्पको सो दाबी गलत थियो र अमेरिकाले नयाँ राष्ट्रपति जो वाइडन आएपछि आफ्नो धारणामा परिवर्तन गर्‍यो।  वैज्ञानिकहरुको दसकौं देखिको अनुसन्धानबाट प्रमाणित भइसकेको छ कि जलवायु परिवर्तनमा मानिसको ठूलो हात छ र यसमा ठूला औद्योगिक राष्ट्रहरु बढी दोषी छन्। जलवायु परिवर्तन हुनुमा अमेरिका सबैभन्दा बढी जिम्मेवार राष्ट्र भएता पनि यसको समस्या समाधानमा उसले खासै चासो देखाएको थिएन। यसका साथसाथै मानिसहरुमा चेतना पनि आइरहेको छ। स्विडेनकी चर्चित ‘युवा जलवायु अभियन्ता’ ग्रेटा थुनबर्गले जलवायु विज्ञानलाई र यसको वैज्ञानिक तथ्यलाई अस्वीकार गर्ने प्रवृत्ति र सरोकारवालाहरुलाई झक्झकाई ठोस कदम चाल्न विश्वब्यापी आन्दोलन चलाइरहेकी छिन्। उनले चलाएको ‘स्ट्राइक फ्राइडे’ जागरण अभियान मानव इतिहासमा सबैभन्दा ठूलो र विश्वव्यापी भएको दावी गरिएको छ।

अब हामीले कस्तो समस्या भोग्ने छौँ?

चुनौतीपूर्ण। वैज्ञानिकका अनुसार आउने २०-३० वर्षसम्म पृथ्वीको तापक्रम र प्राकृतिक प्रकोपका घटना क्रमश: बढ्दै जानेछन्। केही संवेदनशील प्राकृतिक बासस्थान र ‘कोरल रिफ्स’(coral reefs) लगायत केहि वनस्पति र जनावरका प्रजातिहरु नाश हुन सुरु भइसकेको छ। बसाइसराइ बढ्ने, शरणार्थी समस्याले हलचल ल्याउने, जनावर र वनस्पतिको लोप (Mass extinction) हुन सुरु गर्ने, ध्रुवीय र हिमवत् खण्डका हिउँ पग्लिने, गर्मीका दिनहरु बढ्ने, समुन्द्र सतहको वृद्धि भई समुद्री किनारका सहरहरु डुबानमा पर्न सक्ने गम्भीर खतरा हुनेछ। माथि उल्लेखित यस्ता केही खतरा हिजोआज हामीले भोगिरहेका छौँ र केही निकट भविष्यमा हामी, हाम्रा सन्तान र दरसन्तानले पनि भोग्नेछन्।

के पहिले पहिले प्राकृतिक प्रकोपका घटना हुँदैन थियो?

हुन्थ्यो, तर कम। पृथ्वीमा हजारौँ वर्षदेखि बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, आँधी, जनावर लोप हुने, महामारी फैलने लगायतका थरिथरिका प्राकृतिक प्रकोप निरन्तर घटिरहेका छन्। तर पहिले र अहिलेको तुलनात्मक अध्ययनले यस्ता घटना हिजो आज बढेको पाइएको छ। केही दशकयता विश्वभरि नै केही अस्वाभाविक प्राकृतिक प्रकोपका घटना बढेका पाइएको छ। यसैगरी मुसलधारे पानी, आँधी, समुद्री तटीय बाढीहरु पहिलेभन्दा नराम्रो भएको पाइएको छ। नेपालमा अतिवृष्टि धेरै बढेको हुनाले भूमिगत पानीको पुनर्भरणमा समस्या, बाढी र डुवानका घटना बढेका छन्। वैज्ञानिकहरुले तातिएको जलवायुका कारण तातो हावा धेरै चल्न थालेको बलिया प्रमाणहरु प्रकाशित गरेका छन्। पृथ्वीको उष्णता बढेसँगै मध्यपूर्वका देशहरुमा खडेरी अझ कष्टकर भएको छ।

‘पेरिस सम्झौता’ के हो?

वास्तवमा हरेक देशले भविष्यमा सीमित कार्बनको उत्सर्जन गर्न सहमत हुनु ‘पेरिस सम्झौता’ हो। सन् २०१५ डिसेम्बरमा पेरिस सहरमा ‘पेरिस सम्झौता’को विशेष घोषणा भएको थियो। हालको हरित गृह ग्यास उत्सर्जन वृद्धिलाई १.५ डिग्रीमा झार्नु र पृथ्वीको तापक्रम २ डिग्री सेल्सियस भन्दा बढ्न नदिई औद्योगिक क्रान्ति अगाडिको अवस्थामा पुर्‍याउनु र ता कि यसको असर धेरै कम गर्न सकियोस् भन्ने कुरा सम्झौताको मूल मर्म हो। पेरिस सम्झौता घोषणामा सहभागी देशहरुले कार्बन उत्सर्जन कटौती स्वतस्फुर्त रुपमा गरेको र गरिएका प्रतिज्ञाहरु उत्सर्जनको प्रभाव हटाउन पर्याप्त नभएको भन्ने थियो। तर सहमति पालना भए नभएको हरेक केही वर्षमा समीक्षा गरिने र गरिएको प्रतिज्ञा पालना छिटो गर्न दबाव दिने सम्झौतामा उल्लेख छ। याे सम्झौता जलवायु परिवर्तन नियन्त्रणकाे लागि काेसेढुङ्गा हाे।

जलवायु परिवर्तनमा नेपाल कत्तिको दोषी छ ?

नगन्य। यो पृथ्वी तातिनुमा नेपाल कत्ति पनि दोषी छैन भन्दा पनि हुन्छ। प्रतिशतको कुरा गर्ने हो भने नेपाल ०.००२ प्रतिशत मात्र दोषी छ। विशेष गरी सम्पन्न राष्टहरु र ठूला अर्थतन्त्र भएका राष्टहरु यसमा जिम्मेवार छन्। जलवायु परिवर्तन हुनुमा पश्चिमा देशहरुको मुख्य भूमिका छ भने हाल आएर नयाँ शक्तिशाली राष्ट्रहरु चीन, भारत, ब्राजिल लगायतका देशहरु थपिएका छन्। वास्तवमा भन्ने हो भने जलवायु परिवर्तको हिसबाले उच्च जोखिम रहेका १० राष्ट्रहरु भित्र नेपाल पर्दछ। तर यो नखाएको विष नेपालले भोगिरहेको छ।

के यस जलवायु परिवर्तन रोक्ने समाधानका उपाय छ त?

छ। तर समाधान ज्यादै सुस्त गतिले अगाडि बढेको छ। राज्य तथा समाजले यस समस्याप्रति गम्भीर चासो नदेखाएको वैज्ञानिकहरु बताउँछन्। यदि मानवजन्य हरित ग्यास उत्सर्जन शून्यमा झरेको खण्डमा पृथ्वी तात्ने क्रम कम हुँदै जानेछ र सम्भवत: यो समस्या हल गर्न सम्भव हुनेछ। जैविक ऊर्जा कटौती हुने कारको उत्पादन, निश्चित मापदण्डका घरहरु निर्माण, उद्योगमा न्यून कार्बन उत्सर्जन र थाेरै उत्सर्जन हुने उर्जा गृहहरुको कारण धेरै देशहरुले उत्सर्जनमा कटौती गरिरहेका छन्। यो शुभ समाचार हो। तर विज्ञहरूले भनेका छन् कि जलवायु परिवर्तनको नराम्रो असरलाई रोक्न स्वच्छ उर्जाको प्रयोग तीव्र हुनु आवश्यक छ। उदाहरणको लागि विद्युतीय सवारीसाधन वा कार तुरुन्त अवलम्वन गर्न सकिन्छ। विद्युतीय सवारीसाधन वा कार रातको समयमा ‘चार्ज’ हुन्छन् र दिउँसो चलाउँदा प्रदूषण गर्दैनन्। विज्ञहरु भन्छन्- ठूलो मात्रामा पहल र सामुहिक कार्यले मात्र यो समस्या समाधान गर्न सम्भव छ।

व्यक्तिगत तवरमा भौतिक सुविधा कम उपभोग गर्न सकिन्छ जसले गर्दा कम कार्बन उत्सर्जन हुन्छ। पैसा वचत हुन्छ। कम मासु खाने वा शाकाहारी बन्ने, निजीको सट्टा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने, स्वच्छ उर्जा प्रयोग गर्ने, खाना नफाल्ने, प्रयोगहीन बत्ती निभाउने, किफायती चिम प्रयोग गर्ने, हिँड्ने वा साईकल चड्ने, साधारण जीवन यापनमा जोड दिने, स्थानीय उत्पादनको प्रयोगमा जोड दिने जस्ता व्यक्तिगत तवरमा धेरै यस्ता कार्य गर्न सकिन्छ।

कम भन्दा कम उपभाेग्य बस्तु खपत गर्नु वा कम भन्दा कम उपभोगवादी हुने बानीले कार्बन उत्सर्जन कटौतीमा सहयोग पुग्छ। वर्षमा एक वा दुईवटा हवाई यात्रा मात्र कम गर्न सकियो भने पनि अरु धेरै कार्यबाट गरेको कार्वन उत्सर्जन बराबरको उत्सर्जन रोक्न सकिन्छ। ब्यक्तिगत पहलका यस्ता योजना साना हुन सक्छन् तर यिनले समस्याप्रतिको मानिसको चेतना बढाउँछ। साथीभाइ र परिवारसँगको यसबारेको छलफलले साँच्चै नै अर्थ राख्छ जुन कुरा तपाईँ साँच्चै गर्न सक्नु हुन्छ।

बैशाख १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्