सुरक्षा टोलीद्वारा मोरङको केराबारीका दुई मतदानस्थल निरीक्षण

मोरङ– सुरक्षा निकायको टोलीले मोरङको केराबारी गाउँपालिकाका दुई वटा मतदानस्थलको निरीक्षण गरेको छ। मोरङको दुर्गम मानिने केराबारी गाउँपालिका– १ पार्टीगाउँस्थित सरस्वती मावि र केराबारी–२ जेफालमा रहेको पञ्चायत आधारभूत विद्यालय मतदानस्थल निरीक्षणका लागि सुरक्षा निकायको टोली पुगेको हो।

गाउँपालिकाबाट दुवै मतदानस्थल पुगेर विराटनगर फर्कन टोलीलाई करिब १२ घण्टा लागेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। दुवै क्षेत्र पुग्नका लागि सुनसरीको धरानबाट, धनकुटाको भेडेटार हुँदै साँघुरीगढी गाँउपालिकाबाट सो समय लागेको बताइएको छ।

प्रजिअ दाहालले भौगोलिक विकट र दुर्गम क्षेत्रका रुपमा रहेका दुवै मतदानस्थलको अनुगमन र निरीक्षण गरी आइतबार राति विराटनगर फर्किएको जानकारी दिए। मतदानस्थलसम्म पुग्न कच्ची सडक वर्षाका कारण हिलाम्य रहेको बताएका प्रजिअ दाहालले सबै प्रकारका सवारीसाधन सहज रूपमा नपुग्ने बताए।

मतदानका क्रममा कुनै अप्रिय घटना वा आकस्मिक समस्या आइपरे सुरक्षाका लागि धनकुटासँग पनि समन्वय भइरहेको उनले बताए।
सरकारले विकट क्षेत्रमा निर्वाचन सामग्री सुरक्षित रुपमा पुराउने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। यसक्रममा प्रत्येक मतदानस्थलमा ३० मिनेटभित्रमा पुग्नसक्ने गरी सेनाको टोली तैथान हुने बताइएको छ।

विकट मानिएको सो दुवै मतदानस्थलको स्थलगत अनुगमनमा मुख्य निर्वाचन अधिकृत भरत लम्साल, मोरङका प्रजिअ दाहाल, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापा, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछानेलगायत पुगेका थिए।

दुई वटा मतदान केन्द्र रहेको सरस्वती मावि मतदानस्थलमा १ हजार ७ सय ९३ र एउटा मात्र मतदान केन्द्र रहेको पञ्चायत आधारभूत विद्यालयमा ९ सय ८९ जना मतदाता रहेको बताइएको छ।

बैशाख १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्