विराटनगर महानगरः उपमेयरकी स्वतन्त्र उम्मेदवार न्यौपानेको प्रतिवद्धता पत्र सार्वजनिक

मोरङ– विराटनगर महानगरपालिकामा स्वतन्त्रतर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपानेले प्रतिवद्धता पत्र सार्वजनिक गरेकी छन्। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै न्यौपानले प्रतिवद्धता पत्र सार्वजनिक गरेकी हुन्।

प्रतिवद्धता पत्रमा न्यायिक निरुपण, शिक्षा, जनचेतना र सूचना प्रविधी, वातावरण र सरसफाइ, विपन्न परिवारलक्षित कार्यक्रम, स्वास्थ्य तथा लक्षित समूह कार्यक्रम, विकास जनमूखी कार्यक्रम समेटिएको उनले बताइन्।

नेकपा माओवादी केन्द्र विराटगनर महानगर सचिवको जिम्मेवारी सम्हालिसकेकी न्यौपानेले निर्वाचित भए सरकारी कोषबाट सवारीसाधन, इन्धन खर्च नगर्ने बताइन्।

महानगरमा कर्मचारी र कार्यकर्ता भर्ति केन्द्रको परम्परा रहेको बताएकी न्यौपानले आफू निर्वाचित भए त्यो अन्त्य गर्ने बताइन्। प्रतिवद्धता पत्रमा समेटिएका कुरा पूरा गर्न नसके भोलिका दिनमा मेयर उपमेयरमा दाबी नगर्ने र राजनीतिबाट सन्यास लिने घोषणा उनले गरिन्।

उनी उपमेयरमा उम्मेदवारी दिनका लागि पार्टीबाट अलग भएकी हुन्। उपमेयरका लागि उम्मेदवारी दिइरहँदा उनले न्यायिक समितिलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित ढंगबाट चलाउने योजना बनाएको बताइन्।

सामुदायिक विद्यालयलाई नमुना बनाउनेमा जोड दिएकी न्यौपानेले बीचैमा विद्यालय छाड्नेको समस्या पहिचान गर्दै बालबालिकाको माध्यामिक तहसम्म निरन्तर अध्ययनको वातावरण बनाउने बताइन्।

विपन्न परिवारको पहिचान गरी गरिबीको रेखामुनि रहेका सबैको स्वास्थ्य बीमा गराउने न्यौपानेको प्रतिवद्धता पत्रमा उल्लेख छ। गर्भवति महिला र नवजात शिशुलाई पोषण, जेष्ठ नागरिक र अशक्तलाई घरमै प्राथमिक उपचार सेवा उपलब्ध गराउने उनले बताएकी छन्।

महानगरको उपमेयरमा एमालेबाट शिल्पा कार्की निराला, गठबन्धनतर्फ जसपाका अमरेन्द्र यादव, राप्रपाबाट बबिता लुइँटेल आचार्य, स्वतन्त्रमा गंगादेवी सुवेदी र बसुन्धरा झा, कांग्रेस बीपीबाट माया ओझाको उम्मेदवारी रहेको छ।

बैशाख १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्