मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फतः सचिव अर्याल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आफ्नो मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्ने बताएका छन्।

सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यसअन्तर्गतका निकायको कामलाई विद्युतीय प्रणालीमार्फत नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको बताए।

प्रविधि पत्रकार मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो प्रणाली अन्य मन्त्रालयमा पनि तत्काल विस्तार गर्दै लैजाने योजना सार्वजनिक गरे।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो प्रणाली जडान गर्ने काम सुरु गरिएको र त्यसलाई अन्य मन्त्रालय र निकायमा विस्तार गर्न आवश्यक तालिमको प्रारुप पनि तय गरिएको बताए।

सचिव अर्यालले सूचना र प्रविधिमा सबै नागरिकको पहुँच विकास गर्न सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि दोहोर्‍ याए।

सचिव अर्यालले भने, ‘मेरो मन्त्रालय र अन्तर्गतमा निकायमा हामी अब ९० प्रतिशत काम डिजिटलबाट गर्छौं । कहिलेकाँही कस्तो पनि हुन्छ भने सिंहदरबारभित्र एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा चिठी जान कति दिन लाग्छ भनेर प्रश्न आउने गरेका छन्। यी समस्या हल गर्न पनि एउटा एकीकृत खालको कार्यालय व्यवस्थापन प्रणाली तयार गरेका छौँ । र, मेरो मन्त्रालयबाट हुने ९० प्रतिशत कामचाहिँ यसबाट गर्छु। र, हामी विस्तारै अन्य निकायमा पनि विस्तार गर्दै छौँ। मुख्य सचिवसँग आज पनि कुरा भएको थियो। त्यहाँ पनि सो काम सुरु गर्नेछौँ। त्यसका लागि तालिमको पनि व्यवस्था गरिएको छ। जसले सेवाग्राहीलाई पनि सेवा लिन सहज हुनेछ।’

सचिव अर्यालले सूचना, प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको समेत बताए। उनले सरकारले जनताको सेवा प्रवाहको कामलाई सहज बनाउन सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको स्पष्ट पारे।

बैशाख १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्