गाउँ-गाउँमा बढ्यो चुनावी रौनक

धनगढी- स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा गाउँ-गाउँमा चुनावी रौनक बढेको छ। अब मतदान गर्ने दिन अर्थात् वैशाख ३० आउन ९ दिन मात्र बाँकी रहेको छ।

अहिले उम्मेदवारहरू घरघर गएर मतदातालाई आफ्ना पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् भने मतदाताहरू उम्मेदवारबाट प्रतिबद्धता खोजिरहेका छन्। केही दिनअघिसम्म निर्वाचन प्रति खासै रुचि नदेखाएका स्थानीय अहिले दिनैपिच्छे आफूले समर्थन गर्ने उम्मेदवारसँगै प्रचारप्रसारमा जुटेका छन्।

गाउँघरका चोकसहित घर-घरमा पार्टीका झण्डा र चुनाव चिन्ह लगाएर स्थानीय मतदाता निर्वाचनको माहोल बनाउन लागिपरेका छन्।  स्थानीय तह निर्वाचन भएका कारण पनि उम्मेदवारको संख्या दलगत र स्वतन्त्र गरी ठूलो संख्यामा छ।

एउटै वडामा पनि वडा अध्यक्ष र सदस्यसहित विभिन्न पार्टी र स्वतन्त्र गरी ५० जनाको हाराहारीमा उम्मेदवार रहेका छन्।

परिवारका सदस्य र नातापाता गरी एउटै उम्मेदवारको पक्षमा पनि १५ देखि २० जना सक्रियरूपमा लागेका कारण पनि गाउँ निर्वाचनमय बनेको स्थानीय बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का रमेश चौधरीले भने, ‘अहिले टोल टोलमा उम्मेदवार पुगिरहेका छन्, उनीहरू आफूलाई मत दिन भन्दैछन्, हामीहरू पनि हाम्रा माग राख्दैछौँ।’

केही दिन पहिलेसम्म चुनावप्रति खास मतलब नभए पनि अब घर-घरमा उम्मेदवार आएपछि उनीहरूसँग प्रचारप्रसारमा जान मन लाग्ने गरेको उनले बताए।

धेरै उम्मेदवारले आश्वासन बाँड्ने गरेका छन्’ , धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अमर गिरीले भने, ‘तर स्थानीय तहमा कसले काम गर्न सक्छ भनेर सोच्नु पर्ने अवस्था छ।’

उम्मेदवारहरू नाचगानसँगै घर-घरमा भोट मागिरहेका छन्। बिहानैदेखि बेलुकासम्म उम्मेदवारहरू मतदाताको घरदैलोमा भेटिने गरेका छन्। खासगरी धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका नेपाली कांग्रेसका उम्मेदवार नृप वड बिहानैदेखि समर्थकसहित टोल टोल पुगिरहेका छन्।

उनी यसअघि पनि मेयर भएकाले आफ्ना गरेका काम र गर्न बाँकी कामसहित मतदातालाई मतदान गर्न आग्रह गरिरहेका छन्। प्रचारप्रसारकै क्रममा भेटिएका मेयरका उम्मेदवार नृप वडले भने, ‘मैले पाँच वर्षमा धेरै विकासका काम सम्पन्न गरिसकेको छु, केही भ‍इरहेका छन् र केही मेरो योजनामा छन्। तिनै कुराहरू मतदातालाई भनिरहेको छु।’

यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार रण बहादुर चन्द पनि निरन्तर जनताको घरदैलोमा खटिएका छन्। उनी अहिलेसम्म कुनै जिम्मेवारीमा नरहेकोले आफूलाई मौका दिन मतदातालाई आग्रह गरिरहेका छन्।

चन्दले भने, ‘’म विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै राजनीतिमा आएको मान्छे हुँ। मतदाताले मलाई मेयरमा निर्वाचित गरे नमुना धनगढी बनाउने छु।’

कांग्रेसले ५ वर्ष धनगढीको नेतृत्व गरे पनि खासै विकास गर्न नसकेकाले आफूलाई मौका दिन चन्द मतदातालाई आग्रह गर्दैछन्।

यता, स्वतन्त्र उम्मेदवार बनेर चर्चा कमाएका व्यवसायी गोपाल हमाल निर्वाचनको मिति घोषणा भएदेखि नै घरदैलो कार्यक्रममा व्यस्त छन्।

२०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बनेर नेपाली कांग्रेसका नृप वडसँग पराजित हमाल धनगढी नगरको विकास गर्ने एक मात्र आफ्नो लक्ष्य रहेको बताउँछन्। खासगरी अहिले उनी समर्थकसहित घर-घर पुगेर आफ्नो निर्वाचन चिन्हको बारेमा प्रचार गरिरहेका छन्।

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्