मोरङ– सूचना प्रविधिमा विशेष दख्खल राख्छन्, विराटनगर–११ का स्थानीय निर्मल तामाङ। ५५ वर्षअघि सोही वडामा जन्मिएका तामाङ सानैबाट राजनीतिमा अभिरुची राख्दै आएका थिए।

२०७४ सालपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समय सूचना तथा सञ्चार आयोगको सदस्यसमेत रहेर तामाङले सरकार र पार्टीलाई प्रविधिको दुनियाँमा प्रवेश गराउने भूमिकामा खटिए।

स्थानीय सरस्वती माध्यामिक विद्यालय र महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरेका तामाङलाई सानैबाट कम्युनिष्ट लहरले छोएको थियो। स्थानीयसँगै सुशासनदेखि विश्व बजारीकरणसम्म वडाले पहुँच राख्नुपर्छ भन्ने बुझाइ उनी राख्दथे।

विगतमा डेढ दशकको स्थानीय तहको रिक्ततापछि २०७४ सालमा भएको निर्वाचनबाट उनी थप उत्साहित थिए। कारण थियो, उनले आस्था र सद्भाव राख्दै आएको नेकपा एमालेले वडामा जित निकालेको थियो। विकास निर्माणसँगै जनतालाई सुख सुविधा आउने धेरै बुझाइराखे पनि अन्ततः उनी गएको पाँचवर्ष सोच्न बाध्य भए।

उनी भन्छन्, ‘वडामा जनताको विचार, जनताको समस्यालाई चिर्ने काम हुन्छन भन्ने थियो। तर बुझाइमा अन्तर भयो। हामीले सोचेको जनताको दुनियाँ भन्दा पनि फरक दुनियाँमा स्थानीय तह रुमलिएको पाएँ। सुशासन त परै जाओस्, विकास निर्माणसमेत केही सीमित प्रभावकारीको चंगुलमा पर्‍यो। यसबाट जनता निराश छन्। त्यसकै विरुद्धमा म पनि वडामा उभिएको छु।’

वैशाख ३० गते हुने निर्वाचनमा उनी वडाको अध्यक्षमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिइरहेका छन्। उनी आफ्नो वडाका बासिन्दालाई विगत कार्यकालमा भएका कमजोरी भन्दा पनि अब लिन सकिने फाइदा र सम्वृद्धको लागि प्रचार–प्रसारमा व्यस्त रहेका छन्। उनको दैनिकी बिहानबाट राती अबेरसम्म घरदैलोमा बित्ने गरेको छ।

विगत सरकारले विकास निर्माणका क्रममा क्रंक्रिटलाई बढी प्राथमिकतामा राखेको उनी बताउँछन्। भन्छन्, ‘विकास निर्माण गर्ने क्रममा क्रंक्रिटलाई प्राथमिकता दिएको छ। जसका कारण अवको केही दशकमा महानगरमा पानीको हाहाकार नहोला भन्न सकिन्न। त्यसैले भोलिको दिनलाई मध्यनजर गर्दै खानेपानीलाई अहिले नै व्यवस्थित र सुनिश्चित गर्नुपर्नेछ। आकाशे पानीलाई जमिनभित्रसम्म पुग्न दिन अहिलेबाटै हामीले पहल कदम चलाउनु आवश्यक छ। यसबारे सबैको ध्यान पुगेको देखिन्न।’

‘विगतमा महानगरको करिब ४ अर्बका बजेट कहाँ कसरी खर्च भयो र त्यसमा वडा प्रतिनिधिको भूमिका के रह्यो अझै पनि अन्यौलमा छु,’ उनले भने, ‘विगतका वडाध्यक्ष एमालेबाटै भएपनि बजेट तर्जुमामा उहाँहरुको भूमिका प्रभावकारी देखिएको छैन। बजेटमा वडाध्यक्षको भूमिका प्रभावकारी हुनुपर्छ। महानगर केही सीमित पहुँचवालाको पकडमा देखिएको छ। त्यो चिर्न जरुरी छ। महानगरलाई त्यस घेराबाट बाहिर निकाल्न वडाध्यक्षकै भूमिका छ।’

वडालाई कागजविहीन बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका उनले वडालाई कागजविहीनसँगै निवेदनरहित राख्ने बताए। वडामा कागजातको प्रयोग गर्न नसक्ने समुदाय व्यक्तिको उपस्थिति बाक्लो हुने गरेको बुझेका तामाङले सबैको सहजताका लागि वडा कार्यालयमा निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए।

उनी भन्छन्, ‘निवेदन लेख्नेबाटै भ्रष्टाचार सुरु हुन्छ। हतारिएका सेवाग्राहीलाई निवेदन लेख्न, त्यसमा महँगो टिकट टाँस, कर्मचारीको टेबलसम्म पुर्‍याउन सकस हुने गरेको छ। त्यसबाट मुक्ति दिलाउने छु। सबै काम कार्यालय नजिकको निजी पसलमा सेटिङ हुने गरेको छ। त्यसले जनता वाक्क छन्। पसलमा १० रुपैयाँको टिकट २० हाल्नुपर्ने हुन्छ। समस्या सामान्य देखिए पनि जनतालाई झन्झटिलो छ।’

जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणिकरणलगायतका सिफारिससम्बन्धी कागजात वडाबासीकै घरमा उपलब्ध गराउने उनले बताएका छन्।

सहनी समुदायको आफ्नै पहिचान रहेको वडामा उनीहरुकै विशेष सीपको माध्यमबाट सक्षम बनाउने योजना राखेको उनले बताए। वडामा पर्ने सुनसरी मोरङ सिंचाई योजनाको नहरलाई समेत रमणीय बनाउन आवश्यक पहल गर्ने उनको भनाइ छ।

युवामाझ लोकप्रिय रहेका तामाङले वडामा उम्मेदवारी दिइरहँदा एमाले पार्टीमा सदस्यसमेत नरहने गरी जिल्ला अध्यक्ष समक्ष पार्टी परित्याग गरेका थिए। पार्टी सिद्धान्त भने छाडिनसकेको बताएका उनले वडा तहमा आएका जनप्रतिनिधिले जनताको मुद्दालाई सम्बोधन गर्न छाडेको हुँदा उम्मेदवारी दिनुपरेको उल्लेख गरेका छन्।

उनले भोलिका दिनमा वडामा सुशासन, सूचनाको हक तथा सूचनामा सबैको पहुँचलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दै आएका छन्।

६ हजार ९ सय ९५ मतदाता रहेको वडा नम्बर ११ मा उनीसँगै अध्यक्षमा यसअघि एमालेबाट विजयी भएका तिर्थेन्द्र न्यौपाने, कांङ्ग्रेसबाट रामसुन्दर राजवंशी, नेकपा समाजवादीबाट घनेन्द्र थापा, जसपाबाट गणेश साह, राप्रपाबाट लोकेन्द्र ढकालको उम्मेदवारी रहेको छ।

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्