यो वर्षामा बाढीपहिरो बढ्ने सङ्केत

हाम्रो शासकीय परिपाटीमा जवाफदेहीता शून्यप्रायः छ । विपद्‌ जोखिम न्यूनीकरणको शासकीय संरचना र अभ्यासमा पनि फरक हुने कुरा भएन । यदि शासकीय परिपाटीमा जवाफदेहीता हुँदो हो त अहिले वर्षायाममा हुन सक्ने विपद्‌को लागि पूर्वतयारी भैसकेको हुने थियो । केही सातामा मनसुनी वर्षा शरु हुनेछ । मनसुनी प्रकोपको पूर्वतयारी भएको भए सरकारले भरपर्दो मौसम पूर्वानुमान दिनेछ,कुन बेला के गर्ने के नगर्ने भन्ने जानकारी समयमै पाइन्छ, तीनै तहका सरकारी निकायहरू विपद्‌ सामना गर्न तम्तयार छन्‌, हामीले पनि पूर्वतयारी गरेका छौं भनेर जोखिममा रहेका समुदाय ढुक्क हुँदा हुन्‌ । विडम्वना, यसरी ढुक्क हुन पाइएला जस्तो देखिँदैन ।

जोखिमको बेवास्ता

हिजोआज वर्षाको समय बाढी, पहिरोमय जस्तै हुन्छ । गएका तीन वर्षमा भएका पहिरो, बाढीका घटनाले यही देखाएका छन्‌ । बाढी, पहिरोको जोखिम ध्यान नदिई जथाभावी गरेका विकास निर्माणका कारण खस्केका पाखामा पहिलो झरीमै ठुल्ठुला पहिरो जाने गरेका छन्‌। खोलानालामा ह्वात्तै बाढी बढ्छ । सहर बजारमा पानी सोस्ने ठाउँ कङ्क्रिटमय छन, राम्ररी बगेर जाने निकास छैन । खोलानाला मिचिएका छन्, ठूल्ठूला नदी नै ढलझैं बनाइएको छ । त्यसैले हिजोआज स-साना झरीमा पनि बाढी आउँछ ।

पोहोर साल मेलम्ची नदीको सिरान, मनाङ र मुस्ताङमा गएका बाढी, पहिरोले यस अघि नसोचिएका ठाउँमा विपद्‌ आउन लागेको पूर्वसङ्केत गरेका छन् । मनसुनी वर्षाको जोखिम सामना गर्न राम्रो पूर्वतयारी गर्न नसक्दा वितेका केही वर्षमा पहाडी भेगमा पहिरो र बाढीबाट धेरै क्षति भएको थियो। यी घटनाबाट सिकेर पर्याप्त तयारी गर्नुपर्ने हो।

आउँदो वर्षा पनि निराशाजनक नै हुने देखिँदैछ । वैशाख १४ गते विश्‍व मौसम सङ्गठनले दक्षिण एसियाको लागि यस वर्षको दक्षिण पश्चिम मनसुनी वर्षाको पूर्वानुमान सार्वजनिक गरेको छ । यो पूर्वानुमानले नेपालभरि नै सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखाएको छ (हे. चित्र) ।भारी वर्षाको पनिसम्भावना छ । धेरै वर्षा भएपहिरो र बाढीको जोखिम पनि बढ्छ ।

चित्रः दक्षिण एशियामा यस वर्षको दक्षिणपश्चिम मनसुनी वर्षाको सम्भावना ।नक्सामा निलो रङ्ग पोतिएको क्षेत्रमा ‍औसत भन्दा बढी वर्षा हुन सक्छ । साभारः विश्‍व मौसम सङ्गठन ।

यस्तो अवस्थामा सम्बन्धित सरकारी निकायहरूले उनीहरूले गरेको विपद्‌ पूर्वतयारी पर्याप्त छ कि छैन भनेर पुनरावलोकन गर्ने र पर्याप्त नभए थप तयारी गर्नुपर्ने हो । यो वर्षायाममा मौसम कस्तो हुँदैछ भन्ने जानकारी गराएर, बुझाएर सबैलाई सजग गराउँदै सरकार, संघसंस्था, निजी क्षेत्र, समुदाय सबैले खराब मौसमका कारण आइपर्न सक्ने सङ्कटको सामना गर्न तम्तयार रहनु पर्ने हो। तर कहिँ सुरसार छैन ।

सबै तह र क्षेत्रमा विधिपूर्वक पूर्वतयारी योजना बनाउने, पर्याप्त स्रोतसाधनको व्यवस्था गर्ने, खोज तथा उद्धारमा खटिने स्वयंसेवकहरूलाई तालिम दिने र जोखिममा रहेका समुदायलाई सहभागी बनाई नमूना अभ्यास गरे ठूला विपद्‌ पनि सफलातापूर्वक सामना गर्न सकिन्छ ।

भारी वर्षा, हिमपात, चट्याङ, हावाहुरीले जनधनको क्षति हुन सक्छ । ठुल्ठुलो बाढी, पहिरो जान सक्छ । प्रभावितहरूको तत्कालै उद्धार गरी पुनर्वासको व्यवस्था गर्नु पर्ने हुन्छ । विपद्‌ व्यवस्थापन गर्ने अपेक्षा गरिएका निकायहरूले यस्ता सङ्कटको सामना गर्न के कति तयारी गरेका होलान्‌ ? भारी वर्षा र बाढी, पहिरोले अरु विपद्‌ पनि निम्त्याउँछ । बिद्युत, सञ्‍चार,स्वास्थ्य, कृषि, सडक, यातायात, खानेपानी, सिंचाई जस्ता अत्यावश्यक सेवाका साथै रोजगारी र बजारमा पनि असर गर्छ । यी विषयसँग सम्बन्धित अड्डाले के कस्तो पूर्वतयारी गरेका होलान्?यी प्रश्‍न अनुत्तरित छन्‌ ।

बिर्सिइँदै असल अभ्यास

विक्रम सम्वत्‌ २०६५ मा कोशी नदीको तटबन्‍ध भत्केर सुनसरी जिल्लामा बाढी आएपछि गृह मन्त्रालयले सबै जिल्लामा अनिवार्यरूपमा मनसुन पूर्वतयारी गर्ने अभियान चलाएको थियो । अभियानले विभिन्न नदीमा बाढी पूर्वसूचना विस्तार गर्न पनि सहयोग पुग्यो । प्रमुख जिल्ला अधिकारीहरूले मनसुनपूर्व तयारी गर्न समन्वय गरे।गैरसरकारी संघसंस्था, रेडक्रसले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमानका आधारमा समुदायमा सञ्‍चालन गर्ने बाढीको पूर्वसूचना अभ्यास र समुदायको पूर्वतयारीमा पनि सहभागी भए । फलतः विगतको बाढीको तुलनामा ती नदीमा आएको बाढीले हुने मृत्यु र चोटपटक घटेको थियो। अहिले तराई क्षेत्रमा पूर्वजानकारी नभएर बाढीबाट मृत्यु हुने संख्या तुलनात्मकरूपमा कम छ ।

तर त्यस्तो पूर्वतयारी योजना बनाउने र अभ्यासको क्रम कम हुन थालेको छ । विपद्‌ पूर्वतयारी र प्रतिकार्यलाई संघदेखि स्थानीय तहसम्म संस्थागत गर्न सरकारले निर्देशिका, मार्गदर्शन बनाएको छ । तर तिनीहरू प्रभावकारी रूपमा लागू भएका छैनन्‌ । कुनैकुनै निकायले औपचारिकता निभाउन असार मसान्ततिर मनसुन पूर्वतयारी योजना बनाउँछन्‌ । ती योजना कागजमै सीमित हुन्छन् । सरकारले विधि र प्रकृया सरकारी निकायले नै अवलम्वन गर्दैनन् । निर्धारित विधि अवलम्वन नगरी बनाइने योजना लागू गर्न कठिन हुन्छ । हिजोआज विपद्‌ पूर्वतयारीमा चासो हराएको प्रतीत हुन्छ । जिम्मेवार निकायहरूले समन्वय गरी समयमै अग्रसरता लिनुपर्ने हो, अहिलेसम्म कतैबाट गरिएको छैन ।

सबै तह र क्षेत्रमा विधिपूर्वक पूर्वतयारी योजना बनाउने, पर्याप्त स्रोतसाधनको व्यवस्था गर्ने, खोज तथा उद्धारमा खटिने स्वयंसेवकहरूलाई तालिम दिने र जोखिममा रहेका समुदायलाई सहभागी बनाई नमूना अभ्यास गरे ठूला विपद्‌ पनि सफलातापूर्वक सामना गर्न सकिन्छ । बङ्गलादेश र भारतको उडिसा राज्यले समुदायसम्म पूर्वतयारी गरेर ठूल्ठूला मनसुनी प्रकोपको सफलतापूर्वक सामना गरेका छन्‌ । हाम्रा आफ्‍नै अनुभव पनि छन् । सरकारले विपद्‌ पूर्वतयारी अभियानलाई वर्तमान संघीय संरचना अनुरूप स्थानीय तहको क्षमता बढाउने गरीपुनर्जागृत गर्न जरुरी छ । तालिम र अभ्यासमा समुदायका महिला, बालबालिका, युवा, अपाङ्गता भएका व्यक्तिहरू, आर्थिक सामाजिक हिसावलेसीमान्तकृत लगायतका कमजोर परिवारको अर्थपूर्ण सहभागिता हुनु पर्छ ।

बदलिँदो परिस्थितिका चुनौती

समयमा निर्वाचन सम्पन्न भए मनसुन शरु हुँदा स्थानीय तहमा नयाँ सरकार बनेका हुन्छन् । अघिल्ला  स्थानीय सरकारलाई विश्वव्यापीरूपमा आएको कोभिड-१९ को महामारीले ठूलो चुनौती खडा गर्‍यो । धेरै स्थानीय सरकारहरूले वर्षेनी हावाहुरी, बाढी, पहिरो, असिना जस्ता विपद्को सामना गर्नु पर्‍यो । अब निर्वाचित हुने जनप्रतिनिधिलाई पनि विपद्‌ व्यवस्थापन गर्ने चुनौती बढी नै हुनेछ । किनभने कुनै पनि सरकार वा सरकारी निकायले चाहिने जति पूर्वतयारी गरेका छैनन् ।

विगत पाँच वर्षका घटनाक्रम हेर्दा चट्याङ, आगलागी,बाढी, पहिरो जस्ता मौसम तथा जलजन्य विपद्‌ अब हरेक वर्ष कुनै न कुनै ठाउँमा आउने नियमित भएका छन् ।विगत तीन वर्षदेखि बर्खामा पहिरोले ठुलो क्षति गरिरहेको छ । गत वर्ष कार्तिकमा बेमौसमी वर्षाले ठुलो क्षति गर्‍यो । आउँदो मनसुनमा औसत भन्दाबढी पानी पर्ने पूर्वानुमानको खवरले यस वर्ष पनि ठुला बाढी पहिरोका विपद्‌ आउने हुन्‌ कि भन्ने चिन्ता छ । कल्पना नगरेका कोभिड-१९ जस्ता महामारी आउन सक्ने जोखिम पनि छँदै छ ।

जलवायु परिवर्तनका कारण सिङ्गो प्राकृतिक प्रक्रिया फरकहुँदै गएको छ । त्यसले के कस्ता विपद्‌ ल्याउने हो भन्न सकिन्न ।भर्खरै प्रकाशन भएको विपद्‌सम्बन्धी विश्वव्यापी लेखाजोखा प्रतिवेदनले यस्तो अनिश्चयका बिच जनधनको सुरक्षा र जीवनयापन सहजगर्न हाम्रा शासकीय प्रणाली र तिनका अभ्यासमा रूपान्तरण गर्नु अपरिहार्य हुन्छ भनेको छ । प्रकोप पूर्वतयारी त्यसैको एक महत्वपूर्ण कडी हो ।

विपद्‌ पूर्वतयारीलाई औपचारिकता मात्र ठान्नु हुँदैन । यो जिउधनको रक्षा गर्ने सम्वेदनशील उपाय हो । पूर्वतयारीले विपद्‌बाट हुने हानिनोक्सानी कम गर्न सहयोग हुन्छ, साथै घटना पछि गर्न पर्ने उद्धार, राहतको दुःख र खर्च पनि कैयौं गुणा कम हुन्छ ।विपद्‌ पूर्वतयारीलाई प्राथमिकतामा राखेर समयमै विधिपूर्वक विपद्‌ पूर्वतयारी योजना बनाउने अभ्यासलाई संघीय संरचनामा संस्थागत गर्नआवश्यक छ ।

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्