अदालतबाट सजाय तोकिएका यमराजलाई भगाउन सहयोग गर्ने प्रहरीलाई १० वर्ष कैद फैसला

दाङ – कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला भएको छ। दाङ जिल्ला अदालतले पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलेमतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले ७ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका थिए।

अदालतका न्यायाधीशस डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरी १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो।

कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था छ।

सोहीअनुसार अदालतले यमराजलाई थप ६ वर्ष ३ महिना साढे १४ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताए।

त्यस्तै, यमराजलाई भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ।
गर्भवती प्रेमिकाको हत्यामा जन्मकैदको सजाय काटिरहेका यमराज पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि अस्पताल गएका थिए।

छालाको उपचारका लागि गएका प्रहरी जवान चौधरी र कैदी यमराज अस्पताल नगएर दुई महिलासहित घोराही बीपी चोकस्थित थकाली भान्सा घर एन्ड लजमा पुगेका थिए।

त्यही क्रममा कैदी यमराज प्रहरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका थिए। लगत्तै डीएसपी मुकुन्दप्रसाद रिजालको कमान्डमा प्रहरी खटिएर र घटनाको गम्भीर अनुसन्धान गरेको थियो।

रिजालको कमान्डमा याङकी अप्रेसनमार्फत भागेको एक महिनापछि कैदी परियारलाई माघ १० गते भारतको लुधियानाबाट पक्राउ गरिएको थियो।

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्