विराटनगरबाट सभापति देउवाको निर्देशनः कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुहोस्

मोरङ– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मीसँगै कांग्रेसका शीर्ष नेता देश दौडाहामा निस्किएका छन्।

उक्त क्रममा कांग्रेस मोरङ जिल्लाद्वारा बुधबार विराटनगरको पुष्पलाल चौकमा आयोजित बृहत् चुनावी आमसभामा अधिकांश शीर्ष तहका नेताले दलीय गठबन्धनलाई जोड दिएका थिए।

चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दलीय गठबन्धन राष्ट्रिय आवश्यक्ता भएको बताएका छन्।

आमसभामा सभापति देउवाले गठबन्धनमा कुनैप्रकारको आँच आउने कार्य नर्गनसमेत आग्रह गरे। उनले भने, ‘दलीय गठबन्धन हामीसबैको हितका लागि हो। सबैलाई कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिहोस्। निर्वाचनमा उचाल्ने पछार्ने काम धेरै हुन्छन्, यस्ताको पछि नलाग्नुस, गठबन्धनलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट काम गर्नुस्।’

स्थानीय तहको निर्वाचनमा जित दिलाउनका लागि आग्रह गर्दै सभापति देउवाले ६५ वर्षदेखिनै बृद्धभत्ताको ब्यवस्था कांग्रेस नेतृत्वको सरकारले गरेको बताए।

सोही क्रममा कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलको गठबन्धन लोकतन्त्र र संविधानको रक्षाको लागि गरिएको बताएका छन्।

लोकतन्त्रमा गठबन्धनलाई नौलो मान्न नहुनेमा जोड दिएका नेता पौडेलले विगत २०४६ सालको जनआन्दोलन, बिस्तृत शान्ति सम्झौताबाट नै गठबन्धनले औपचारिकता पाएको उल्लेख गरे। आमसभालाई सम्बोधन गर्दै पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ब्यङ्ग्य गर्न समेत भ्याए।

उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा अस्थिरता ल्याएको हो। तर, वितेका अस्थितरता चिर्न अब कांग्रेसलाई स्थानीय तहमा जिताउनुको विकल्प छैन। स्थानीय तहमा कांग्रेसले राम्रो काम गरेको छ। त्यसलाई बिर्सन हुदैन।’

निर्वाचनका सन्र्दभमा उनले रुख र छाता दुवै शीतलता र सुरक्षा दिने हुँदा दुवैको संयोग राम्रो रहेको बताए। राजनीतिक सन्देश दिने थलोको ?पमा विराटनगर रहेको बताउँदै नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन सबैले सहयोग गर्नुपर्ने बताए।

त्यसैगरि, कांग्रेसका नेता डा. शेखर कोइरालाले विगतमा एमाले सरकारले जनतालाई समस्या, दुःख मात्र दिएको आरोप लगाए। एमालेले संविधान मास्ने काम गरेका बताएका डा. कोइरालाले त्यसबाट जोगाउन गठबन्धनमा रहेको कांग्रेसलाई स्थानीय तह निर्वाचनमा जिताउन आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘यसपटकको स्थानीय तहको निर्वाचनले धेरै कुरा इंगित गर्नेछा। यसपटकको निर्वाचनले प्रदेश र संघमा समेत प्रभाव पार्नेछ। लोकतन्त्रको रक्षाका लागि भएपनि कांग्रेससहित गठबन्धनलाई जिताउनुपर्छ।’

कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, महेश आचार्य, डा.मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य डिना उपाध्याय, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतले सम्बोधन गरेका थिए।

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्