हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ

साङ्केतिक तस्बिर

उदयपुर –  हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन्। त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो।

घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनी त्रियुगा नगरपालिका वडा नम्बर १३ बहेडवा बस्ने वर्ष २४ की ममता चौधरीले हत्या गरेको पाइएको हो। अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाण सहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटना भएको दिन ममता चौधरी माइतीघर हंसादेबी चौधरीको घर गई रक्सी पार्दै गर्दा मृतकको श्रीमान बच्चुलाल चौधरी गाईघाटतर्फ गएको अवस्थामा मृतकले ममता चौधरीलाई टिभी खोल्नका लागी घरमा बोलाएकी थिइन्।

टिभि हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा बिबाद उत्पन्न भएको थियो। बिबाद हुँदा ममता चौधरीले सुखनीदेबी चौधरीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थिचि हत्या गरि मृतकलाई खाटमा सुताई भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

 

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्