काठमाडौँ महानगरका स्वतन्त्र मेयर उम्मेदवार सुशील थापासँग अन्तर्वार्ता

‘भोट गफ र नमस्कार गर्नेलाई होइन, काम गर्न सक्नेलाई’ (भिडियो)

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार सुशील थापाले योग्यता र चुनावी एजेन्डाका कारण अन्यभन्दा आफूलाई फरक रूपमा प्रस्तुत गरेका छन्।

थापासँग ३० वर्षदेखि व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको र विभिन्न ७ वटा अन्तर्राष्ट्रिय बहुकम्पनीमा नेपालका लागि प्रमुख भएर काम गरेको अनुभव छ।

उनले स्वास्थ्य क्षेत्रमा पनि लामो समय काम गरेका छन्। कोरोना महामारीका बेला पिसिआर टेस्ट किट भित्र्याउनेदेखि देशका विभिन्न अस्पतालमा परीक्षण गर्ने ल्याब दिएर उनले सहयोग गरेका छन्।

यही अनुभवका आधारमा काठमाडौं महानगरको नेतृत्व सम्हाल्ने दौडमा होमिएका छन् उनी।

स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका उनले सफा, स्वच्छ, सुरक्षित र भव्य काठमाडौँको कल्पना गरेका छन्।

जनताको घरदैलोमा गएर नमस्कार र मीठा कुरा गरेको भरमा महानगरको प्रमुख बन्नुभन्दा पनि महानगरको स्वास्थ्य, शिक्षा र यातायातमा कुशल व्यवस्थापन गर्ने मेयरको आवश्यकता देखेका छन्।

दक्षता, अनुभव, चरित्र, शैक्षिक योग्यता, समूह, विचार, उद्देश्य हेरेर मत दिन नगरवासीलाई उनले आग्रह गरेका छन्।

उनले देश सञ्चारसँग भिडियो अन्तर्वार्ताका क्रममा भने, ‘धेरै जनाले मलाई तपाईं अहिलेसम्म कता हुनुहुन्थ्यो चुनाव आएपछि देखिनुभयो भनेर प्रश्न गर्नुहुन्छ। वास्तवमा चुनाव आएपछि नै देखिने हो। म काम गरेर देखाउन चाहन्छु। घरदैलोमा आएर नमस्कार गर्नेलाई महानगरको जिम्मा नलगाउनुस्, उम्मेदवारको क्षमता हेरेर महानगरको नेतृत्व सुम्पिनुस्।’

आफू स्वतन्त्र रूपमा उठे पनि आफ्नो पछि राम्रो टिम रहेको र आफू मेयर बन्दै गर्दा अन्य १५ जनाले मेयर बन्ने हैसियत राख्ने उनको भनाइ छ।

आफूले राजनीतिक कुरा नगर्दैमा राजनीतिसँग अनभिज्ञ नठान्न उनले आग्रह गरेका छन्। महानगरपालिका बनाउन राजनीति नभई संविधान कार्यान्वयनको पक्ष बलियो बनाउनुपर्ने उनको बुझाइ छ।

उनले भने, ‘अनुगमनका लागि नीति–नियम बनाउनुपर्छ। स्थानीय तहको चुनावमा राजनीतिक संरचना परिवर्तन हुँदैन। स्थानीय तहको निर्वाचनमार्फत सीधै प्रधानमन्त्री चुन्ने पनि होइन र संघीय संरचनामा यसले खास फरक पर्दैन।’

 

राजनीतिक पृष्ठभूमि नभएको, दल, संगठन र कार्यकर्ता नभएको व्यक्तिलाई नगरवासीले किन पत्याइदिने भन्ने जिज्ञासामा उनले महानगरको प्रमुख पद गैरराजनीतिक व्यक्तिले पाउँदा झन् राम्रो हुने र राजनीति लाद्दा यसअघिको चुनावबाट निर्वाचित प्रमुख र उपप्रमुखको जस्तै टसल हुन सक्ने बताए।

०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट काठमाडौँको मेयर बनेका विद्यासुन्दर शाक्य र कांग्रेसबाट उठेर उपप्रमुख बनेकी हरिप्रभा खड्गीबीच सुरुदेखि नै राजनीतिक टसल हुँदा काम हुन नसकेको उनले स्मरण गरे।

मेयर शाक्यको पार्टी एमाले विभाजित भएपछि शाक्य एमालेतर्फ लाग्ने वा नेकपा (एकीकृत समाजवादी पार्टी) तर्फ भन्ने विवादजस्तै भएको थियो।

यही खिचातानीका कारण पनि महानगरमा काम हुन नसकेको थापा बताउँछन्।

राजनीतिमा रुमल्लिँदा काम नहुने भएका कारण पनि महानगरको व्यवस्थापनका लागि क्षमतावान व्यक्ति उठाउनुपर्नेमा उनले जोड दिए।

राजनीति हाबी भएकै कारण काठमाडौंका जनताले पानी खान पाएनन्, फोहोरमैला झन् बढेर गएको छ, महिला, अपांगता भएका व्यक्ति र वृद्धवृद्धाले सम्मानित जीवन जिउन पाएका छैनन्। वृद्धवृद्धाका लागि अस्पताल छैन, घुम्न डुल्नका लागि पार्क छैन, यी सबै व्यवस्थापन गर्न आफू मेयरको दौडमा रहेको उनले स्पष्ट पारे।
गफ गरेर खाने राजनीतिक परम्परालाई काम गरेर चिर्ने उनको चाहना छ।

पाँचदलीय सत्ता गठबन्धनको समर्थनमा अघि सारिएको मेयरको उम्मेदवार, प्रमुख प्रतिपक्षी दल, अन्य दल र साझातर्फका उम्मेदवारलाई लक्ष्य गर्दै उनले राजनीतिक लिगेसीको अन्त्य गर्नुपर्ने बेला आएको औँल्याए।

संसद्को चुनावमा भए राजनीतिक पृष्ठभूमि र सक्रियताको बढी अर्थ हुन्थ्यो होला तर महानगरबासीको सेवामा खटिन खोजेको व्यक्ति स्वतन्त्र भए पनि हुन्छ। संविधानले नै राजनीतिक दलदेखि दिक्क लागेको खण्डमा स्वतन्त्र उम्मेदवार छान्न सकिने भनेरै स्वतन्त्र उम्मेदवारको व्यवस्था गरेको उनले बताए।

‘महानगरपालिकामा भएको राजनीतिलाई दूधमा भएको झिँगा सम्झिएर फालेर मात्रै व्यवस्थापन गर्न सकियो भने तपाईं–हामीले सफा काठमाडौंमा सास फेर्न पाउँछौँ’, उनले भने, ‘घाइते भएको काठमाडौंको उपचार गर्ने समय आइसकेको छ। फोक्सो कालो भएको छ, प्रदूषण कम गर्नु छ।’

उनले थपे, ‘राजा हुँदा प्रजा भन्थे, राजनीतिक दल आएपछि रैतीजस्तो, नेताले जे भन्यो त्यही मानेर हामीले रोबर्टजस्तै गरेर टाउको हल्लाउनुपर्ने अवस्था आएको छ। अब प्रजा, रैती र जनता नभई सबैलाई नागरिक बनाउनुपर्नेछ।’

नागरिकले सोधेका हरेक प्रश्नको राज्यले जवाफ दिनुपर्ने उनको भनाइ छ। काठमाडौं महानगरको मेयर बन्ने दौडमा ५६ जना छन्। तीमध्ये सत्ता गठबन्धनको समर्थनमा सिर्जना सिंह र नेकपा एमालेको तर्फबाट उठेका केशव स्थापितबीच बढी प्रतिस्पर्धा हुने आकलन गरिएको छ। त्यस्तै, स्वतन्त्र रूपमा उठेका बालेन शाह र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले मत काट्न सक्ने देखिएको छ।

यता, स्वतन्त्र उम्मेदवार थापा पनि महानगरको प्रमुख नै बने पनि मुख्य प्रतिस्पर्धीको मत काट्ने पक्का छ।

काठमाडौं महानगरका मेयर उम्मेदवार सुशील थापालाई नगरवासीले जिताउनुपर्ने कारण, राजनीतिक दल, संगठन र कार्यकर्ताबिना जित्ने आधार, आउने चुनौती, उनले बनाउन चाहेको काठमाडौँ सहर र चुनावी एजेन्डामा केन्द्रित भएर थापासँग देश सञ्चारले गरेको कुराकानीः

 

बैशाख २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्