विराटनगर उपप्रमुखकी उम्मेदवार कार्कीको उम्मेदवारी खारेजीबारे २८ गते छलफल हुने

काठमाडौँ – विराटनगर महानगरपालिकामा एमालेको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

गठबन्धनका तर्फबाट उपप्रमुखमै उम्मेदवारी दिएका जसपाका अमरेन्द्र यादवले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि बोलाएको हो।

सर्वोच्चका अनुसार दुवै पक्षलाई उम्मेदवारी खारेज गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न वैशाख २८ गते बोलाइएको छ।

कोशी अस्पाताल विकास समितिको सदस्य पदमै रहँदा कार्कीले वैशाख १२ गते उम्मेदवारी दिएकाले उनको खारेज भन्दै यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएको भन्दै सर्वोच्च पुगेका हुन्।

उम्मेदवारी दिने बेलामा राजीनामा नदिए पनि कार्कीले पछि फर्जी पत्र पेश गरेको दाबी यादवले गरेका छन्। विराटनगरमा गठबन्धनले कांग्रेसका नागेश कोइरालालाई उम्मेदवार बनाएको छ।

बैशाख २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्