राजनीतिमा प्रयोग हुने भुइँमान्छेको कथा- उलार

चुनावको मत परिणामले उम्मेदवारको मात्र हार-जितको टुङ्गाे लगाउँदैन, यो त उम्मेदवार चुन्ने मतदाताको पनि हार-जित हो। प्रेमललवाले भोट हालेका राजेन्द्रबाबुले चुनाव हारे। पूरै गाउँले नै जीत उत्सव मनाइरहेको बेला प्रेमललुवा भने पीरको अफसोच मनाइरहेको छ। उनका लागि भगवान स्वरूप रहेका राजेन्द्रराजको हार शान्तिराजाको जितभन्दा ठूलो छ।

प्रेमललुवाको झुप्रो बाहेकको सम्पत्ति उसकी घोडा वसन्ती हो। प्रेमललुवाको रोजी रोटी चलाउने टाँगाको सारथि। जसलाई उसले सहरको चोकमा रहेको जग्गा बेचेर बडो कष्टले जोडेको थियो।   

जीविकोपार्जनका लागि टाँगा चलाएर खाने प्रेमललवाकी वसन्तीले तानेको टाँगा एक दिन उलार हुन्छ। टाँगाको भार थेग्न नसकी वसन्ती बिरामी पर्छे र उपचारको क्रममा मर्छे। त्यसपछि प्रेमललवाले जीवन जोगाउन भोग्नु परेको हण्डर ‘उलार’ को कथा हो।

गार्डेन थिएटरको प्रस्तुतिमा कौशी थिएटरमा प्रदर्शन भइरहेको नाटक ‘उलार’ लेखक नयनराज पाण्डेको बहुचर्चित उपन्यास ‘उलार’ मा आधारित छ। यसको नाट्य रूपान्तरण तथा निर्देशन शंकर रिजाल अर्थात् ‘चे शंकर’ ले गरेका हुन्। तराईमा धेरै चल्ने टाँगा जब असन्तुलित हुन्छ, त्यो अवस्थालाई ‘उलार’ शब्दले बुझाइन्छ।

नाटकमा पनि सर्वसाधारण मानिसको जीवन राजनीतिक व्यवस्थाले कसरी ‘उलार’ बनाइरहेको छ भनी प्रस्तुत गरिएको छ।

कुनै पनि देशको राजनीतिक व्यवस्थाले नागरिकको जीविकोपार्जनको स्तर निर्धारण गरेको हुन्छ। त्यसैले राजनीतिलाई हाक्ने व्यक्ति हरेक आधारमा सर्वश्रेष्ठ भनी जनताले मान्ने गरेका हुन्छन्। तर, सर्वसाधारण नागरिककै सहयोगमा राजनीतिक पद धारण गरेका नेता तथा नेतृत्वले ठाउँमा पुगेपछि भुइँ मानिसलाई बिर्सन्छन् भन्ने कुरा नाटकले देखाएको छ।

शान्तिराजको विजय जुलुसमा भाडामा टाँगा चलाउन जाँदा बितेकी वसन्तीको क्षतिपूर्ति लिन प्रेमललवाले धेरै हण्डर खान्छ। गाउँमै रहेका शान्तिराजले प्रेमललवाको क्षतिपूर्ति लिन सहर बोलाउँछन्। सहरको हरेक चोकसँग अन्जान प्रेमललुवा ‘भोलि’ काम हुने आश्वासनमा सहरका गल्ली गल्ली भौतारिन्छ, आफ्ना नेतासँग छलिन्छ।

सहर बसाइकाे क्रममा उसले सहरको धेरै किसिमको अनुहार देख्छ। मन्त्रीक्वाटरमा उसकै नेतालाई भेट्न दिइँदैन, प्रेमललवाजस्तैको जीवनका योजना बनाइने सिंहदरबारमा उसले पस्न पाउँदैन। पार्टी कार्यालयमा उसलाई उल्टो कुरा बताएर पठाइन्छ र हार नमानी बल्ल नेताको दर्शन पाउँदा देशको व्यवस्थाअनुसार चल्न भन्दै अर्कै मन्त्रालयको बाटो देखाइन्छ।

सहरमा उसले आफ्नोपनको आभास दिलाएर उसैको पैसा ठग्ने लेखकदेखि नेताको असली चरित्र बुझाइदिने युद्धका नाइके भेट्छ। अहिले धेरै आशा बाेकेर काठमाडौँ पसेको प्रेमललवा निराशा र ऋण बोकेर आफ्नै थलो फर्कन्छ।

प्रेमललुवा हाम्रो समाजको एउटा प्रतिनिधि पात्र मात्र हाे। प्रेमललवाजस्ता पात्र हाम्राे समाजमा थुप्रै पाउन सकिन्छ। जीवन सामान्य चल्दासम्म ठीकै छ नत्र, व्यक्तिगत सानो कामको लागि नेताको सहयोग लिनुपर्दा हामी सबै प्रेमललवा बन्छौँ। पछिल्लो पाँच वर्ष र अहिले हुन लागेको चुनावी होडबाजी यसको उदाहरण हुन्।

प्रेमललवाको घर बसाइदिने नेता राजेन्द्र बाबुले प्रेमलाई अचानो पारी आफ्नो भुँडी भर्छन्। ९० हजारमा बेचेको जग्गाको ३० हजार बुझ्दा प्रेमको विश्वास डगमगाएको हुँदैन। तर शान्तिराजलाई भेट्न काठमाडौँ गएपछि उसले राजेन्द्रबाबुको चरित्र बुझ्छ। वसन्ती र आफ्नो बिग्रन लागेको घर गुमाएको प्रेमले योपल्ट जग्गा बेच्दा राजेन्द्रबाबुले शान्तिराजसहितलाई पैसा भाग लगाएपछि ऊ निकै दुखी हुन्छ।

जीवनको एक मोडमा आफ्नो सबै गुमाएको प्रेमललवाले हार मान्दैन। सहर, राजनीति र सबै स्वार्थभन्दा पर पुगेर आफ्नै संसार सुरु गर्छ।

कथाको अर्को मुख्य आकर्षण पात्र द्राैपदीकाे यौन व्यवसायको बाध्यता र उसको प्रेमललवासँगको साँचो प्रेम हो। उसैको आडमा प्रेमललवाले आफ्नो संसार देख्ने हिम्मत गर्छ। ननकउजस्ता अवसरवादी पात्र हाम्रो समाजमा थुप्रै छन् र दुखको बेला सँगै रुने अनि सुखमा सँगै नाँच्ने साथी कलुवा पनि।

नाटकमा सहरमा भेटिने कथाकारको आकृति र प्रेमललवाले गरेको यात्राको दृश्यमा कलात्मक पाराले प्रयोग गरिएको छ।

नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूकाे अभिनय रहेको छ।

बैशाख २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्