ललितपुर महानगरः चुनाव जित्न चिरीबाबुलाई कति सहज?

फाइल फोटो।

काठमाडौँ – ललितपुर महानगर प्रमुखमा पुरानै प्रतिस्पर्धीबीचको भिडन्त रोचक बनेको छ। महानगर प्रमुखका लागि अघिल्लो स्थानीय तह निर्वाचनमा जस्तै चिरीबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकारबीच प्रतिस्पर्धा हुन लागेको हो।

दुवै पुरानै अनुहार भए पनि कांग्रेसका महर्जन अहिले सत्ता गठबन्धनको सिफारिसमा मेयरमा उठ्दा व्यञ्जनकारलाई फेरि एमालेले मेयरकै टिकट दिएको छ।

दुवैले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। व्यञ्जनकारले ५ वर्षे महर्जनको कार्यकाल त्यति सफल नभएकाले आफू विकल्पको रूपमा अघि सरेको बताउँदै आएका छन्।

महर्जनले भने आफ्नो कार्यकालमा थुप्रै राम्रा काम गरेको दाबी गरेका छन्। उनले संस्कृति संरक्षण, सम्पदा निर्माण र पुनर्निर्माण, सडक निर्माण, सडक बत्ती, सडक हराभरा बनाउने काम गरेका छन्।

ललितपुरका कांग्रेस सभापति जितेन्द्रकुमार श्रेष्ठले ललितपुर महानगरमा सत्ता गठबन्धनले जितिसकेको तर घोषणा हुन मात्रै बाँकी रहेको बताए।

श्रेष्ठले देश सञ्चारसँग भने, ‘हाम्रो महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले भारी मतले जित्छन्। चिरीबाबुले यसअघि नै मेयर बन्दा धेरै विकास गर्नुभएको छ। घोषणापत्रमा समावेश गरेका लगभग सबै काम गर्नुभएको छ, सत्ता गठबन्धनको समर्थन पनि छ, तसर्थ हाम्रो महानगरमा चिरीबाबुले जितिसक्नुभयो घोषणा गर्न मात्रै बाँकी छ भन्दा पनि हुन्छ।’

महर्जनले ललितपुरलाई अन्तर्राष्ट्रिय जगतसम्म चिनाएको उनको दाबी छ। पर्यटनमार्फत आर्थिक वृद्धि गर्ने महर्जनको तयारी रहेको उनले सुनाए।

०७४ सालको चुनावमा ३ सय २६ मतले पराजित भएका व्यञ्जनकार यसपालिको चुनाव जित्ने दाबी गर्छन्। तर, मतदाताको हिसाबकिताब गर्ने हो भने व्यञ्जनकारले हार्ने देखिन्छ। किनकि अघिल्लो निर्वाचनमा एमालेको पूर्ण समर्थन पाउँदासमेत हारेका महर्जनसँग हारेका व्यञ्जनकारले यसपटक एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)को भोट पाउने छैनन्। एकीकृत समाजवादीको भोट सत्ता गठबन्धनको समर्थनको उम्मेदवार महर्जनलाई जाने भएकाले बरु महर्जनले भारी मत ल्याएर जित्ने सम्भावना छ।

यति मात्र नभइ महर्जनले माओवादीको मत पनि पाउनेछन्। किनकि अघिल्लो चुनावमा ललितपुर महानगरमा माओवादी एक्लै लडेको थियो। सो भोट पनि महर्जनले पाउनेछन्। अघिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४६८ मत ल्याउँदा माओवादीका दीपेश महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए।

यसपटक माओवादीका महर्जनको भोट पनि गठबन्धनका उम्मेदवार महर्जनलाई आउने हुँदा ललितपुर महानगरपालिकामा भारी मत ल्याउनेमा गठबन्धन ढुक्क छ।

अघिल्लो निर्वाचनमा महर्जनले २४ हजार ६ सय ४२ मत ल्याउँदा व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। अघिल्लो चुनावमा आफूलाई जालझेल गरेर हराइएको व्यञ्जनकारको आरोप छ।

आफै पराजित भएको नभइ हराइएको भन्दै पुनः मतगणनाको माग लिएर व्यञ्जनकार अदालत गए पनि अदालतले उनको रिट खारेज गरेको थियो।

यसपालिको चुनावमा एमालेले नेकपा एकता भंग भएपछि पनि माओवादी र समाजवादीका धेरै नेता कार्यकर्ता एमालेमै रहेको दाबी गर्दै त्यो मत पाउने विश्वास गरेको छ।

नेकपा एकता भंग भएसँगै माओवादीबाट आएकी मञ्जली शाक्यसहितको समूह एमालेमा लागेको छ।

यसले पनि एमालेलाई आफू बलियो भएको भ्रम परेको छ। ललितपुर महानगरपालिकाको उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्य उठेका छन्।

प्रतिपक्षी दल एमालेको तर्फबाट उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दिएकी छन्। उपप्रमुखको भिडन्तमा पनि सत्ता गठबन्धनले नै बाजी मार्ने सम्भावना छ।

ललितपुरका कांग्रेस सभापति श्रेष्ठले पनि ललितपुर महानगरको प्रमुख र उपप्रमुख दुबै पदमा सत्ता गठबन्धनको समर्थनमा उठाइएका उम्मेदवारले भारी मतले जित्ने दाबी गरेका छन्।

महानगरको निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १२ जना मेयरमा र १३ जनाले उपमेयरमा उम्मेदवारी दर्ता भएको छ।

मेयरमा विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ, राप्रपाबाट अष्टबहादुर महर्जन, नेमकिपाबाट अशोक महर्जन, मंगोल नेसनलबाट राम महर्जनले मेयरमा उम्मेदवारी दिएका छन्। उपमेयरमा सञ्चारकर्मी कुशुम बज्राचार्य, स्वतन्त्रमा अजमान जोशी र राप्रपाबाट स्वर्णिमा शाक्यले मनोनयन दर्ता गरेका छन्।

बैशाख २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्