ओलीकाे आराेप : कांग्रेसले २७ वर्ष सरकार चलाउँदा पनि केही गरेन

फाइल फवट

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसले २७ वर्ष सरकार चलाउँदा पनि केही गर्न नसकेकाे आराेप लगाएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए।

कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको भनाइ छ।

‘२० वर्ष एकल सरकार चलायो। सात वर्ष संयुक्त सरकार चलाउँदा पनि केही गर्न सकेन’, ओलीले भने।

कांग्रेस कमजोर तत्वहरूलाई लिएर देशलाई उल्टो बाटोमा हिँडाएको उनको आरोप छ।

उनले भने, ‘सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो।’

कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले राष्ट्रियतामा कुठाराघात भएको, विगतमा राणा, राजा र कांग्रेसको सरकारले जनताको लागि कुनै योजना अघि नबढाएको अध्यक्ष ओलीले बताए।

कांग्रेसले जनादेशमाथि कुठाराघात गरेको समेत उनले आरोप लगाए।

‘कांग्रेसले जनमतको आधारमा भन्दा पनि जनादेशको अपमान गरिरहेको छ।  अब कम्तीमा दुई अवधि पाँच पाँच वर्ष एमालेलाई विजयी गराई देशमा स्थिरता र स्थायित्व गराउन हार्दिक अनुरोध गर्दछु’, ओलीले भने ।

कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहेका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न पनि उनले आग्रह गरे।

 

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्