‍कलाकार जतिन ताम्राकार भन्छन्ः जनप्रतिनिधिबाट काम नभएपछि आफै चुनावी मैदानमा उत्रिएँ

मोरङ – विराटनगरका स्थापित कलाकार जतिन ताम्राकार यतिबेला चुनावी प्रचारमा व्यस्त छन्। उनले विराटनगर महानगरपालिका वडा नम्बर ९ को वडा सदस्य पदमा उम्मेदवारी दिएका छन्।

‘क्यामेरा, फोकस, लाइटको दुनियाँबाट फरक हुँदो रहेछ गाँउघर बुझ्नका लागि। निर्वाचनलाई नजिकबाट नियाल्नका लागि। वडाको पीरमर्का बुझ्नका लागि,’ ४१ वर्षीय ताम्राकार भन्छन्।

वैशाख ११ गतेपछि ताम्राकारको दैनिकी फेरिएको छ। आफ्नो घरअघिको सडकमा माइकिङ, दलहरुको मोटरसाइकल र्‍याली, नेताको भाषण सुनेर हौसिने ताम्राकारले वैशाख १० गते मात्रै एकाएक वडा सदस्यमा उम्मेदवारी दिने मनसाय बनाएका हुन्। सोहीअनुसार ११ गते साथीभाइ, परिवार, इष्टमित्रसँगको छोटो छलफलमा वडाको सदस्यमा उम्मेदवारी दिन राजी भए।

वडाको विकासका लागि योजनासहित पटक–पटक नेतृत्वलाई जानकारी गराउँदासमेत समस्या हल नभएर आजित भएका ताम्राकार स्वयं वडाको समस्या हल गर्नका लागि चुनावी मैदानमा होमिए।

यसअघि उनको दैनिकी बिहान–बेलुका घरमा रहेको व्यवसाय र मकालु टेलिभिजनको कार्यक्रममा व्यस्त रहन्थ्यो। तर, अहिले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि उनी बिहान बेलुका नै वडा वरीपरी घर–घरमा ‘लालटिन’ लिएर पुगिरहेका छन्।

‘अघिल्लो कार्यकालमा जनप्रतिनिधिबाट धेरै काम नभएको हुँदा वडाबासी रुष्ट भएको पाएको छु,’ उनले भने, ‘जनताको घरदैलोमा पुगिरहँदा सबैले वडामा गुणस्तरीय काम हुन नसकेको गुनासो गरिरहेका छन्। अब अघिल्लो कार्यकालभन्दा फरक काम गर्ने र जनतालाई स्थानीय तह, स्थानीय सरकारबारे बुझाउने छु। महानगरले राम्रो काम गरेको छ। त्यसलाई थप निरन्तरता दिन पहल गर्नेछु।’

सञ्चार क्षेत्रदेखि चलचित्र नायकसम्मको यात्रामा ताम्राकारले अलग छाप बनाएका छन्। उनको आवाज अहिले पनि विभिन्न राजनीतिक दलदेखि स्वतन्त्रसम्मको प्रचार–प्रसारमा घन्किने गरेको छ। ताम्राकार विराटनगरमा मात्र नभएर चलचित्रको रंगिन दुनियाँमा समेत लोकप्रिय छन्।

बुलन्द आवाजका साथ स्टेज कार्यक्रममा उत्रिँदा उनलाई मन नपराउने सायदै होलान्। यही साथ र अपेक्षासहित चुनावी मैदानमा उत्रिएको बताएका ताम्राकार भन्छन्, ‘हामी स्वतन्त्र रुपमा मैदानमा आएका छौँ। हामीले जनताको भावनालाई निष्पक्ष रुपमा बुझेका छौँ। कुनै दलगत रुपमा समस्या र अवसरलाई काखापाखा गर्ने छैनौँ। यही नै हाम्रो पहिचान र जितको कडी हो।’

‘चलचित्रको रंगिन दुनियाँभन्दा फरक हुँदोरहेछ राजनीति, अनि जनताको समस्या,’ ताम्राकारले एक सासमा भने।

उनले थपे, ‘राजनीति र रिल लाइफ फरक हुन्। राजनीतिको ‘र’समेत वास्ता नगर्ने म, यतिबेला जनताको समस्या देखेर आजित छु। तर विगतमा जनप्रतिनिधिले ज्यादा राजनीति गरेर नै वडाको विकास र वडाबासीको सपना पूरा नभएको हो। त्यसलाई पूरा गर्नुपर्नेछ।’

गएको ५ वर्ष जनप्रतिनिधिले वडामा काम गर्नुभन्दा पनि राजनीति र लाजनीति गरेको उनको गुनासो छ। ताम्राकार भन्छन्, ‘जनप्रतिनिधिले राजनीति गर्ने होइन, जनताको समस्या बुझ्ने हो। दलगतको स्वार्थ पूरा गर्नमा जनप्रतिनिधिको समय बित्ने हुँदा स्वतन्त्र रुपमा जनभावनाको कदर गर्दै अघि बढ्न सहज छ। त्यसैले पनि मैले उम्मेदवारी दिएको हो।’

जतिनले महेन्द्र मोरङ क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरी आफूलाई कलाकारिता क्षेत्रमा अघि बढाएका हुन्। कलाकारितासँगै चलचित्र निर्माण, टेलिसिरियल, म्युजिक भिडियो, सामाजिक कार्यमा समेत ताम्राकार सक्रिय रहँदै आएका छन्।

ताम्राकारले भने, ‘आफू विराटनगरमै जन्मिएँ। साथीभाइसँग यहीँ रमाएँ। यहीँबाट कलाकारितामा अघि बढेँ। मलाई विराटनगरले चिनाएको छ। विराटनगरले पहिचान दिएको छ। अब मैले विराटनगरलाई समृद्ध बनाउने आफ्नै गाउँ टोलबाट अघि बढ्नु छ। वडालाई स्वच्छ र सुशासन कायमका लागि पहल गर्नुछ।’

युवा पिढींलाई जागरुक बनाउनका लागि उनी प्रत्येक वर्ष मिस नेवाः नामक प्रतिभा पहिचानका कार्यक्रम गराउँदै आएका छन्। उनी चुनावी मैदानमा उत्रिएको ९ नम्बर वडामा ५ हजार ८ सय ६५ मतदाता रहेका छन्। उक्त वडामा अध्यक्षमा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष विश्वनाथ भगत, एमालेबाट श्रीप्रकाश तोत्ला, राप्रपाबाट दिनेश साह र माओवादीबाट नवी हुसैनलगायत प्रतिस्पर्धामा छन्।

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्