जलवायुविद्‌को सुझावः चुनावको दिन पानी पर्न सक्छ, सतर्कता अपनाऔँ

जलवायुविद् डा. धर्मराज उप्रेती।

काठमाडौँ – जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।

बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आइतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन्।

पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले आसानी नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताए। सो आँधीको असर भारतको उडिसालगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वाअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए।

उनले भने, ‘समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा, खास गरेर वैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ। उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था थियो। र अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला।’

जलवायुविद्‌ उप्रेतीले थपे ,’मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ। त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ। पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुनसक्छ। मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ। यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु।’

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्