सन् २०२२ मे १ देखि ७ अर्थात् २०७९ वैशाख १८ देखि २४ गतेसम्म

नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

विश्वबाट कोरोना, यसको संक्रमण र प्यान्डेमिक लगभग थान्को लाग्ने अवस्था भइसकेको छ। विश्वका केही देशमा मात्रै प्यान्डेमिकको अवशेष केही बाँकी रहेको वर्तमान अवस्थामा दक्षिण एसिया र नेपाल पनि निकै शान्त भइसकेको छ।

हाल विश्वमा दैनिक कोरोना संक्रमण ४०००००–७००००० जति देखिने गरेको छ जुन यसै वर्षको जनवरीतिर सबैभन्दा अत्यधिक ४०००००० सम्म पुगेको थियो।

त्यसभन्दा अगाडि ४००००० दैनिक संक्रमण हुने गथ्र्याे। त्यस्तै, विश्वको दैनिक कोरोना मृत्यु हाल १३००–१७०० जति मात्रै छ जुन हालसम्मकै न्यून संख्या हो।

यसअघि गत वर्षको जनवरीतिर अधिकतम मृत्यु १६००० भन्दा धेरै पुगेको थियो।

त्यति हुँदाहुँदै पनि हाल अमेरिका र जर्मनीमा दैनिक ७००००–८०००० नयाँ कोरोना संक्रमण र २५०–३०० नयाँ मृत्यु देखा परिरहेका छन्।

त्यस्तै फ्रान्स, इटाली, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया आदि देशमा हाल पनि २००००–४०००० दैनिक नयाँ संक्रमण र ५०–११० नयाँ मृत्यु देखापरिरहेका छन्।

त्यस्तै बेलायत, रसिया, ब्राजिल आदि देशमा दैनिक नयाँ कोरोना संक्रमण धेरै नभए पनि दैनिक मृत्यु १३०–२३० जति छ।

पछिल्लो समय ताइवान कोरोना प्यान्डेमिकको सिकार भइरहेको देखिन्छ।

नेपालभन्दा क्षेत्रफल र जनसंख्याको हिसाबले सानो देश ताइवानमा हाल दैनिक ३५००० भन्दा धेरै नयाँ संक्रमण देखिने गरेको छ भने दैनिक मृत्यु १० जति छ।

त्यस्तै, लाओस भर्खरै मात्रै प्यान्डेमिकको ठूलो लहरबाट केही तंग्रिन थालेको छ। जनसंख्या करिब ७५००००० मात्रै रहेको त्यस देशमा केही महिनाअघि मात्रै हालसम्मकै सबैभन्दा ठूलो प्यान्डेमिक लहर आएको थियो जुन बेला दैनिक ४००० नयाँ संक्रमण र १२ जनासम्म दैनिक नयाँ मृत्यु देखापरेको थियो।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ।
दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ एप्रिल एप्रिल २० देखि मे ४, कोकोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण केही बढ्ने क्रम जारी देखिन्छ जुन गत हप्ताजस्तै दैनिक ३०००–४००० पुगेको छ।
दैनिक मृत्यु भने त्यति बढेको छैन यद्यपि दैनिक मृत्युको एक ठूलो लहर गत हप्ता देखिएको थियो।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय नेपाललगायत सबै देशमा दैनिक संक्रमण निकै न्यून छ भने भारतमा पछिल्लो समय दैनिक संक्रमण बढेर ३००० नाघेको छ जुन केही हप्ता अघिसम्म १००० भन्दा कम थियो। भुटानमा हाल दैनिक संक्रमण निकै कम भइसकेको छ।
त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै हाल दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून रहेको छ भने भारतमा पनि दैनिक कोरोना मृत्यु दर न्यून छ।
दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर १.५% भन्दा कम छ भने भारत र बंगलादेशमा दैनिक संक्रमण दर केही बढ्न खोजेको छ।

तर, अर्कोतिर हाल पनि पूर्वी एसिया र पश्चिमी युरोपमा दैनिक संक्रमण दर ५०% भन्दा माथि छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नया संक्रमितको संख्या हो। सन् २०२२ मे १ देखि ७ अर्थात् ०७९ वैशाख १८ देखि २४ गतेसम्म जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, वैशाख २४ गते शनिबारसम्म, देशभरि जम्मा ११५ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७८९२५ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ७८ थियो। यसरी गत हप्ता जम्मा संक्रमण दुई हप्ता अघिभन्दा २७ ले बढेको छ।

त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता १ भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५२ पुगेको छ। यसरी नेपालमा करिब डेढ महिनापछि एक नयाँ कोरोना मृत्यु देखिएको छ।

गत हप्ता जम्मा १५९६४ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि २५४१६ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात६७.४४%देखियो जुन दुई हप्ताअघि७०.९६%थियो। काठमाडौँ उपत्यकाको संक्रमण अनुपातको कुरा गर्दा कुनै दिन काठमाडौँमा देशभरिको कुल संक्रमणको करिब ९०% देखिन्छ भने कुनै दिन जम्मा २५%। प्यान्डेमिककालमा यस किसिमको अस्थिर तथ्यांकको अध्ययन गर्नु आवश्यक हुन्छ।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.२४%देखि अधिकतम१.९३%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.८१% रह्यो जुन दुई हप्ताअघि ०.३८% थियो। त्यस्तै, गत हप्ता नेपालको साप्ताहिक औसत संक्रमण दर ०.७२% रह्यो जुन दुई हप्ताअघि ०.३४% थियो। यसरी करिब चार महिनादेखि निरन्तर ओरालो लागेको देशको कोरोना संक्रमण दरमा गत हप्ता, दैनिक तथा साप्ताहिक दुवै संक्रमण दर, केही वृद्धि देखिएको छ। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको थियो।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गएका छन्। तर, पछिल्लो समय भारतमा दैनिक कोरोना संक्रमण केही बढेको छ यद्यपि, यो संख्या विगतको तुलनामा निकै सानो छ। त्यस्तै, विश्वका केही देशमा हाल पनि कोरोना आतंक जारी छ।

नेपालमा गत हप्ता, ०७९ वैशाख १८ देखि २४, साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर करिब चार महिनापछि केही बढेको पाइयो। गत हप्ता करिब डेढ महिनापछि एक नयाँ कोरोना मृत्यु पनि भेटियो। यसरी लामो समयपछि देशमा कोरोना संक्रमण संख्या र संक्रमण दर केही बढ्नु र फेरि एक नयाँ कोरोना मृत्यु भेटिनु सायद हालको विभिन्न भोज भतेरको मौसम र चुनावी माहोलको कारणले गर्दा हुन सक्छ। यसतर्फ सरकार, सरोकार निकाय र नागरिक सबैले ध्यान जानु जरुरी छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यसमा नेपालर विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्