चुनावमा एकढिक्का भएर जानुपर्छः कांग्रेस नेता आचार्य

मोरङ – स्थानीय तह निर्वाचनका लागि दलहरुबीचको लडाइँमा एकढिक्का भएर लड्नुपर्नेमा नेपाली कांग्रेसका नेता महेश आचार्यले जोड दिएका छन्।

आइतबार विराटनगरको वडा नम्बर १० मा आयोजित चुनावी घरदैलोका क्रममा नेता आचार्यले लडाइँमा गएका बेला सबैले धर्म, इमान र सत्य के हो भन्ने कुरालाई बुझ्न आवश्यक रहेको बताए। त्यस क्रममा नेता आचार्यले एमालेले बहुमतको सरकारसमेत चलाउन नसकेको बताएका थिए।

उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्र सरकार, प्रदेश सरकार चलाउन सक्नुभएन। उहाँहरुबीच नै मत भिन्नता, झगडा हुने अवस्था भएको थियो। पार्टीसमेत विभाजन भयो। मुलुकलाई ओझेलमा पार्ने अवस्था देखियो। यसबाट मुलुकलाई जोगाउन सबैले गठबन्धन र कांग्रेसको पक्षमा मत हाल्नु पर्नेछ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले गठबन्धनलाई ढुक्क भएर साथ दिनुपर्नेमा जोड दिए। महानगरको मेयर तथा उपमेयरमा गठबन्धन बनेको बताएका केन्द्रीय सदस्य अर्यालले वडा तहमा कांग्रेस आफ्नै एकल अवस्थामा चुनावमा उत्रिएको बताए।

निर्वाचनमा सबै दलबीच एक आपसमा गठबन्धन भएको उल्लेख गर्दै अर्यालले समग्र रुपमा मुलुकलाई एकीकृत हुने गरी संविधानको परिधिभित्र रहेर अघि बढ्न कदम चालिएको बताए।

सोमबारे हाटमा भएको कार्यक्रममा मेयरका उम्मेदवार नागेश कोइरालाले गठबन्धनमा रहेका दललाई मत दिएर विराटनगरलाई समृद्ध र विकसित महानगर बनाउन जोड दिए। उनले महानगरमा देखिएको श्रम र रोजगारीको समस्या निराकरणका लागि दलले विशेष योजना अघि बढाउने बताएका थिए।

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्