‘ए विकास कता हिँडेको ?’

‘ए विकास कता हिँडेको ?’ नवउदारवादको गाडी चढ्न हतारिँदै गरेको उसलाई मैले चिच्याउँदै सोधेको थिएँ।

‘मामाघर हिँडेका हौ शान्ति, दक्षिणा लिएर फर्किने हो?’ मेरो आँखामा हेर्दा पनि नहेरी उसले भनेको थियो। अरुबेला सबै कुरा मलाई नभनी घर नजाने विकास, आज दौंतरी बिर्सेर दौडेको देख्दा ताज्जुब लाग्यो। दक्षिणको मामाघर गएर दक्षिणा लिएर फर्किने उसको सपना महत्वाकांक्षी हो या मेरो शंका पूर्वाग्रही हो। तर खै, उसकै बा–आमाले विचार गरेरै पाठका होलान् नि! भर्खरै जन–देशबाट आएका हुन् क्यार!

ए शान्ति, विकास फर्कियो त ? दक्षिणा लिएर आउँछु भनेर आस देखाएर गयो। हामीसँग भएको अलि–अलि सामल पनि पेट काटेर दियौँ, पछि मामाघरबाट ल्याएर देला भनेर, अहिले त अत्तोपत्तो छैन। त्यसका बा–आमालाई सोध्यो झर्किएर खाउँलाझैँ गर्छन्। हन, कहाँ गएछ। उठिबास नै लगाउने भयो। सारा लोकको गुनासो विकास हराउनुमा थियो।

खै के थाहा मलाई। जो पनि आउँछ, मलाई सोध्छ। त्यसले मलाई भनेर जानु पर्दैन ? त्यो रहुन्जेल विकासवाद हाई हाई भन्थे। अब त विकासवाद हरायो, अब त्यसलाई फर्काउन क्रान्तिवाद भन्नुपर्छ रे! मलाई कसैले कर्के आँखाले हेर्न सक्दैनथ्यो।

अचेल त मलाई राता कमिलाले जिउनु न मर्नु बनाइसके। जंगलबाट लस्करै आउँछन् अनि कसैको भान्सामा छिर्छन्, कसैको ढुकुटी मार्छन्, कहिले अरूलाई दुस्मन भन्दै चिल्छन्। अझ मलाई त देख्नै हुन्न, मैले नै उनीहरूको गोलामा झट्टी हानेजसरी मलाई चारैतिरबाट घेरेर चिल्न खोज्छन्, ‘त्रसित र क्रोधित हुँदै शान्तिले दिएको यथार्थ बयान थियो।’

त्यो विकासेका बाउआमा के भाका। के सारो निष्ठुरी रहेछन्। आफ्नै सन्तानलाई दक्षिणाको लोभ देखाएर पठाए। पछि विकासलाई खोज्न सहयोग चाहियो भनेर हाम्रा हुँदाखाँदाका नौगेडी पनि कौडीको भाउमा बेच्न लगाए। अहिले कहाँ गयो ? के गर्दै छ ? केही मतलव छैन यिनीहरूलाई। सौतेनी हुन् कि क्या हो ? पारि माइत हुनेको भर नहुने रै’छ।

झन् यिनलाई सबैले हेप्ने गरे, छिमेकीले पनि हेप्ने, माइतीले पनि कपट गर्ने, काजीले पनि हेप्ने गरेकाले उनीहरूकै पक्ष लागेर, काजीलाई मनाएर केन्द्रमा ल्याको, बैगुनी, हामीलाई पिर दिएर मार्न लागिसके। यिनलाई दिनभरि आफ्नो घर वरपरको रूख गोडेरै फुर्सद छैन, हाम्रो आँगनमा कहिले आँखा डुलाउथे? यो त्यतिबेलाको लोकमत थियो।

वर्षौं बित्यो, विकासको झल्को लोकले देख्न पाएन। यसै मौकामा राता कमिलाले रूखलाई खोक्रो, घर–आँगन, खेतबारीलाई बन्जर र हाम्रो आसलाई चकनाचुर पारिदिए। दुलोभित्र लुकेर निकै उत्पात मच्चाए, मच्चाउँदै थिए।

त्यसै बखत विकासका नाबालक साथीसंगी वयस्क हुँदै थिए, जो हराएको विकासलाई खोज्न सक्षम र उत्सुक थिए। रूखबाट झरेको हरियो पात टिप्दै ती युवा जमात विभिन्न दिशामा बाँडिए। कोही दक्षिण, कोही पश्चिम, कोही मध्य–पूर्व आदि। सबैको ध्यय एउटै थियो, विकासको खोजी।

यता, घरमा भने राता कमिलाको राज भयो। सबै टाठाबाठाको छल बिदाइ गरेर, सोझासाझा निमुखा लोकलाई लोकतन्त्रको लोकतो लगाएर राता कमिलाको ताँती टन्टलापुर घाममा रूखको फेदमा परेड खेलेर टुप्पो हल्लाउने तागत राख्न थाल्यो। यो सब दृश्य देख्ने म, विकास बिना त सधैँ रमिते।

आजसम्म विकास फर्केको छैन। न फर्कियो विकास खोज्न हिँडेको विशाल जमात। विकास नफर्किए, न म सुखी हुन सक्छु न त ऊ समृद्ध हुन सक्छ।

अचेल सुन्दै छु राता कमिला रूपान्तरणको नाममा कोही छेपारो हुँदैछन् रे! कोही पापको भारी बिसाउन नसकेर दुलो पसे रे! कसैको त प्वाँख पलाएर अचाक्ली छ रे! विश्वव्यापी उष्णताले हो कि, राता कमिलाको गोला अथवा राता कमिलाले पातमा गुण लगाएर फुल पारेर हो, रूखका पात रात्तै छन् रे! छाता ओढाएर रुखलाई हरियो बनाउन सकिएला र? विकासलाई खोज्न छाडेर किन सबै जना स्वार्थसाधक हुने ? भन्दा लोकतन्त्र जोगाउन र! यिनका टुप्पोबाट सुरु भएर फेदमा सक्किने लोकतन्त्रको मलाई के मतलव?

यिनका पाँच–पाँच वर्षमा दसैँ आउँछ। कहिलेकाहीँ छिट्टै पनि आउँछ वा छिट्टै दसैं मनाउने इच्छा राख्छन्। सारा लोकमा उमंग छाउँछ। अनि बल्ल सुरु हुन्छ यिनका विकासलाई खोजेर घर ल्याउने योजना, गुरुयोजना। कोही विकासलाई रेल चढाएर धुमधामले ल्याउछौँ भन्छन्। अरु हुन्न हुन्न विकासलाई सडक परिवहन हुँदै ल्याउनुपर्छ भन्छन्। अर्काथरी बाठो टोपलेर विकासलाई शीघ्र पानीजहाजमा ल्याउने कुरा थप्छन्। तिनका हजुरिया खुरुरुरु माथि दृश्य मिनारमा चढेर विकासलाई नियाल्छन् तर पारिको अग्लो डाँडा र हिमालले छेकिएपछि डोजर मात्रै देखियो भन्दै सुस्केरा हाल्दै भेटिन भन्दै फर्किन्छन्। विकास ल्याउने यिनका महान् अभियान।

अरे यार अस्पतालमा खोज के थाहा अचेत अवस्थामा लडिरहेको छ कि? विद्याको मन्दिरमा राजनीति बिर्सेर खोजनीति गर। कतै मजदुरी त गर्दै छैन भनेर उद्योग – कलकारखानामा सोध्न जाऊ। हामी विकास ल्याइदिन्छौँ भनेर ठग्ने दलालीको सामाजिक हलाली गर। प्रभुसँग भीख मागेर हैन, आफ्नै मनमा इख राखेर विकासलाई ल्याउने खर्च जुटाऊ। घर–घरमा ‘विकास हराएको सूचना हैन ‘विकास जसरी पनि ल्याउने कबुलनामा’ को पर्चा टाँस्न लगाऊ। ए मेरो हजुर, विकास दृष्टिकोणले आउँछ, ४० करोडले हैन।

‘ए शान्ति, यसपालिको दसैँमा हाम्रा विकास खोज्न परदेशिएका छोरा–छोरीलाई घरै बोलाउने, आउन नसक्नेलाई उतैबाट दसैँको मतपर्वमा भोट हाल्ने चाँजोपाँजो मिलाए कि नाइँ ?’ यो प्रत्येक दसैंमा लोकले मलाई सोध्ने उही प्रश्न हो।

‘भोट त हैन दलको भोटो फेर्ने व्यवस्थाचाहिँ भयो रे!’ दिक्क लागिसक्यो एउटै कुरा सुनाउँदा सुनाउँदा। सारा जगत्‌लाई थाहा छ कि विकास तिनै युवा परदेशीसँग बसेको छ भन्ने। ती तमाम युवा घर फिर्नासाथ विकास तिनीहरूसँगै कुममा कुम मिलाएर, हातेमालो गर्दै आउँछ। त्यसपछि न एमसीसी तिउन चाहिन्छ, न बिएमसी मसला। न बिआरआई छोप चाहिन्छ न आइएनजीओको हवाला।

अनि मात्र विकासले सबको घर–आँगनमा नाच्दै –गाउँदै भन्नेछ, ‘सुखी नेपाली समृद्ध नेपाल।’

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्