बागी उम्मेदवारलाई छाड्दिन: प्रधानमन्त्री देउवा

धनगढी- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका बिरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कार्बाही गरेरै छाडने बताएका छन्।

सोमबार गठबन्धनद्वारा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। उनले भने, ‘अझै पनि बिभिन्न ठाउँमा बागी उम्मेदवार बनेकाहरु अपिल प्रकाशित गरेर उम्मेद्वारी त्याग्नुस्, होइन भने यसपटक कांग्रेसले कसैलाई माफी दिँदैन, कार्बाही गरेरै छोडछ।’

प्रदेश सरकार र संघीय सरकार बलियो बनाउन स्थानीय तहमा गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको उनको भनाइ छ। उनले कसैलाई नेता बनाउन नभई लोकतन्त्रलाई बलियो बनाउन गठबन्धन गरिएको बताए।

प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष ओलीले बिरोध भयो भनेर झण्डै दुई तिहाइ प्राप्त संसद भंग गरेको बताए। देउवाले भने– ‘बिरोध सहन नसक्ने ओलीले रिस लागे स्थानीय तह पनि भंग गरिदिन सक्छन्, त्यसैले ओलीको पार्टीलाई स्थानीय तहमा हराउनु पर्छ।’

प्रधानमन्त्री देउवाले आफू पनि सुदूरपश्चिम प्रदेशकै रहेको बताउँदै आफ्ना लागि यो ठाउँ अत्यन्तै महत्वपुर्ण रहेको उल्लेख गरे। उनले भने–‘सुदूरपश्चिमकै जनताले माया गरेका कारण म पटक–पटक प्रधानमन्त्री बनेको छु, यो ठाउँको बिकासका लागि प्रतिबद्ध छु ।’

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्