पाँच वर्षसम्मका बच्चामा लाग्ने आँखासम्बन्धी अनौठो रोग

काठमाडौँ – १५ हजार नवजात शिशुमध्ये एक जनामा देखिने रेटिनोब्लास्टोमा रोगले बालबालिकामा हुने क्यान्सरको ५५ प्रतिशत ओगट्ने गरेको छ। रेटिनोब्लास्टोमा नवजात शिशुदेखि पाँच वर्षमुनिका बालबालिकाहरुमा देखापर्ने एक रोग हो।

सोमबारका त्रिवि शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि र जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्तालगाइ उपचार गर्ने विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै आँखा क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले रेटिनोब्लास्टोलाई बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर भनिने गरेको बताइन्।

उनले भनिन्, ‘यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्छ। नेपाललगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०५ रहेको छ तर विकसित देशहरुमा भने ५५ भन्दा कम पाइएको छ।’

रेटिनोब्लास्टोमा जटिल रोग भए पनि पहिलो चरणमै रोग पत्ता लगाएर उपचार गरेमा बालबालिका पूर्ण रुपमा क्यान्सरमुक्त हुनुका साथै उनीहरुको आँखाको दृष्टिसमेत जोगाउन सकिने डा. पूर्णिमा राजकर्णिकार बताउँछिन्।

डा. राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमाका प्रमुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो।

‘आँखाको कालो भाग सेतो देखिए पनि बालबालिका स्वस्थ नै देखिन्छन्। जसले गर्दा बालबालिका तथा अभिभावकलाई रोगका बारेमा थाहा हुँदैन। र उपचारका लागि ढिलो पुग्ने गर्छन्’, उनले भनिन्,‘मुख्यताया यो रोगका लक्षण रंगिन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु,आँखाको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु हुन्। उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने, आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ। यो क्यान्सर विस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्गजस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ।’

यस्तै विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाइरहेको छ। जहाँ अस्पताल हाताभित्र रेटिनोब्लास्टोमा सम्बन्धी जानकारी दिने ब्यानर, फ्लेक्स, ब्रोसरसहितको जानकारी डेस्क राखिएको छ। यो बाहेक आमसञ्चारका विभिन्न माध्यमहरु रेडियो, भिडियो, सामाजिक सञ्जाल आदिको प्रयोग गरी जनचेतना जगाउने जानकारीमूलक सामाग्रीहरु प्रसारण गरिरहेको छ।

प्रतिष्ठानले साताभरि आँखामा क्यान्सर भएका बालबालिकाहरुको निःशुल्क जाँच तथा उपचार गर्ने जनाएको छ।

कतिलाई हुन्छ रेटिनोब्लास्टोमा?


यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रेटिनोब्लास्टोमा हुने गरेको देखिएको छ।

दुवै आँखमा देखापरेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुन्छ। यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनु पर्ने चिकित्सकहरुले बताएका छन्।

यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थर्मोथेरापी, कायथेरापी र रेडियोथेरापी प्रमुख उपचार पद्दतिमा रहेको डा. राजकर्णिकार बताउँछिन्।

प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखासहित आँखा वरपरका हड्डिसमेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिएको छ।

रेटिनोब्लास्टोमा भएका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आइज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गर्दै आइरहेको छ।

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्