
काठमाडौँ – बेलायतस्थित बेजिङस्टोकमा बसोवास गर्दै आएका नेपालीले मार्च २३ मा स्थानीय पप्ली कम्युनिटी सेन्टरमा भव्यतासाथ ग्रिष्मकालीन पार्टी सम्पन्न गरेको छ।
दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिबल, टेडी बियर गेम, गोल सुटर, घैटो फुटाउने, डोरी तान्ने (टग–अफ–वार) र राफल चिट्ठाका कार्यक्रम सञ्चालन गरिएको थियो। दिनभर बार्बेक्यु (सेकुवा) र साँझको डिनर सकेपछि नाचगान सुरु भएको थियो।
यसै बीचमा सातौं साधारण सभाबाट निर्वाचित बेजिङस्टोक नेपाली समाज (बीएनसी) को कार्यसमितिका पदाधिकारी र सल्लाहकारको स्वागत तथा निवर्तमान पदाधिकारीको बिदाइमा खादा लगाएर सम्मान गरिएको थियो।
बीएनसीसमर पार्टी–२०२२ का संयोजक वसन्त गुरुङ र कार्यसमितिका अध्यक्ष ओम गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए।
नेपाली राष्ट्रिय गानबाट कार्यक्रम सुरुवात गरिएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव जगदीश वाग्लेले गरेका थिए।
समाजका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा पार्टी संयोजक वसन्त गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, कार्यक्रममा उपस्थित सबैको हेल्थ एन्ड सेफ्टीबारे कार्यसमितिका उपाध्यक्ष विजय लिङथेपले जानकारी गराएका थिए।
कार्यक्रमको सफलताका लागि सहयोग गर्ने दाता सहयोगीहरूको नाम सचिव वाग्लेले पढेर सुनाए भने सहभागी, सहयोगी सबैलाई अध्यक्ष ओम गुरुङले मन्तव्यसहित धन्यवाद दिएका थिए।
विभिन्न खेलकुदमा विजयी हुनेहरूलाई समाजका खेलकुद प्रबन्धक बलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए।
भलिबल तर्फ पुन समाज प्रथम भएर रनिङ सिल्डबाट पुरस्कृत भए भने गुरुङ लाफा युनाइटेड र सेन्सवरी टिम क्रमशः दोस्रो र तेस्रो भएका थिए।
उक्त रनिङ शिल्ड बीएनसी गोरखा ग्रोसरीका प्रबन्ध निर्देशक एवं यसै समाजका खेलकुद प्रबन्धक बलबहादुर थापाले सौजन्यस्वरूप समाजलाई सहयोग दिएका थिए।
त्यस्तै, गोल सुटरतर्फको गोल पोस्ट पनि हाइट मोर्गेजका प्रबन्ध निर्देशक सुवास पुनले समाजलाई सौजन्यस्वरुप सहयोग गरेका थिए।
टेडी बियर गेममा आभाष गुरुङ प्रथम, तेजी पुन द्वितीय र स्याफ्रोन गुरुङ तृतीय भएका थिए। विवेक गुरुङ घैंटो फुटाउने गेममा पुरस्कृत भए भने डोरी तान्ने खेलमा महिलातर्फ– रुमा पुन, रितु गुरुङ, डेलिमाया पुन, तारा पुन, धन लिम्बू, विकी राना विजयी भए। पुरुषका लागि पनि डोरी तान्ने खेल सञ्चालन गरिएको थियो।
बेजिङस्टोक नेपाली समाज (बीएनसी) ले तिज पार्टी, दसैं/हिउँदे पार्टी, दीपावली एवं भैलो देउसी खेल्ने कार्यक्रम पनि तय गरिसकेको छ।
बेलायतस्थित बेजिङस्टोकमा एक हजार घरपरिवार नेपाली बसोवास गर्दै आएको बताइन्छ। बेजिङस्टोक नेपाली समाज (बीएनसी)ले आफ्नै भवन खरिद गर्न लागेको पनि जनाइएको छ।