सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर बनाउँदिनँः सागर थापा

मोरङ – एमाले मेयर उम्मेदवार सागर थापाले विराटनगर महानगरमा रहेका सुकुम्बासीको घर नबुन्जेल आफ्नो घर नबनाउने घोषणा गरेका छन्।

निर्वाचनका क्रममा सोमबार विराटनगरमा घरदैलो कार्यक्रममा उम्मेदवार थापाले आफू भाडाको घरमा बसिरहेको हुँदा सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर नबनाउने बताएका हुन्।

महानगरभित्र २० हजार संख्यामा सुकुम्बासी रहेको बताएका थापाले जग्गा नभएकालाई जग्गा व्यवस्थापन गर्दै घर नबनाउन्जेल व्यक्तिगत घर निर्माण नगर्ने उल्लेख गरेका थिए।

४६ वर्षीय थापाले भने, ‘म पनि सुकुम्बासी हुँ। अहिलेसम्म आफ्नोे घर नभएकाले डेरामा बसिरहेको छु। महानगरभित्रका सुकुम्बासीका लागि घर नबनाएसम्म म आफ्नोे पनि बनाउँदिनँ।’

जनताको समस्या नजिकबाट बुझ्दै आएको बताएका उनले भने, ‘धनका हिसाबले गरिब छु। सुकुम्बासी हुँ। न मेरो जग्गा छ। न त घर नै,’ थापाले भने, ‘तर जनसम्पर्क र सबैसँगको सम्बन्धका हिसाबमा धनी छु। विराटनगरमा लामै समयदेखि राजनीतिक अभियानमा जोडिएँ। सबैको साथ पाएर चुनाव जित्छु।’

०४९ सालमा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थापा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष हुन्।

घरदैलो कार्यक्रममा थापाले महानगरवासी डुबान समस्याबाट प्रताडित हुँदै आएको स्विकारे।

उनले भने, ‘निर्वाचन जितेपछि विराटनगरले सुकुम्बासी र डुबानको समस्या झेल्नुपर्ने छैन। यो प्रतिबद्धता पूरा गर्ने प्रण गरेकोे छु। विराटनगरलाई यहाँका बासिन्दाले व्यवस्थित र समुन्नत सहरका रूपमा देख्न पाउनेछन्।’

उनले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा दुईपटक स्ववियु सभापतिको जिम्मेवारीवहन गरिसकेका छन्। विराटनगरको मेयरमा थापासँगै १३ जनाको उम्मेदवारी परेको छ।

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्