कस्तो छ विराटनगरका मेयरका ३ प्रतिस्पर्धी उम्मेदवारको ग्रह दशा?

मोरङ – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकामा उम्मेदवारहरुको घरदैलो पुग्ने क्रम जारी छ।
सम्भवतः आगामी साता महानगरपालिकाको नेतृत्व कसले गर्नेे निक्र्याैल हुनेछ। त्यसअघि निर्वाचनसँगै अहिले महानगरको प्रतिस्पर्धामा रहेका मेयरका उम्मेदवारको ग्रहदशा कस्तो देखिन्छ भन्ने चासोको विषय बनेको छ।

काठमाडौैँस्थित वाल्मीकि विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिषमा आचार्य गरेका ३५ वर्षीय सुभाष गौतम उम्मेदवार दिएका नेता तथा प्रतिस्पर्धीको ग्रहदशा मिश्रित रहेको बताउँछन्।

उनका अनुसार ०३० साल जेठ ३१ विराटनगरमा जन्मिएका नागेश कोइरालाको ग्रह बलियो स्थानमा छ। गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार कोइरालाको राशी वृश्चिक रहेको बताएका गौतमले एक वर्षसम्म कोइरालाको राजनीतिक यात्रा शुक्र ग्रह राम्रो भएको हुँदा सुखद छ।

वृहस्पति पराक्रम भावको मालिक लग्नमा अवस्थित हुँदा उत्तम त्यसमाथि गोचरमा अहिले बृहस्पति स्वगृही हुनुले लक्षण सकारात्मक रहेको उनले बताए।

उनले भने, ‘उहाँको आउँदो १२ महिनाको राजनीतिक यात्रा सुखद देखिन्छ। सूर्यको डिग्री २८ अंशमा छ। जसले सूर्यको प्रभाव कमजोर बनाएको छ र त्यसलाई हटाउन जरुरी देखिएको छ।’

उनले भने, ‘अहिलेको शुक्रको महादशा राजनीतिक वृत्तमा उत्तम मानिन्छ। अन्तर प्रत्यन्तर दशामा चलेको राहु र शनिको प्रभावले विजयी यात्रामा केही रुकावट तथा योगिनी महादशामा उल्काको महादशा चलेको हुँदा विजयी यात्रामा दुई ग्रहको प्रभावले असर पार्नेछ। तर उल्काको अन्तरमा चलेको पिङ्गा दशाले विजय यात्रालाई केही सजह बनाउनेछ।’

त्यसैगरी, मेयरमा एमालेका उम्मेदवार सागर थापाको अवस्था पनि मिश्रित रहेको ज्योतिषी गौतमले जानकारी दिए।

उनले भने, ‘धनु राशीका थापाको स्वामी बृहस्पति स्वगृही हुँदा विजय यात्रा सहज देखिन्छ। तर, हाल चलेको राहुको महादशामा राहुको अन्तर दशा आउँदो एक वर्षसम्म रहने हुँदा यस ग्रहले विजयी यात्रालाई प्रभाव पार्नेछ।’

०३३ सालमा जन्मिएका थापाको राशी धनु र चिनाको नाम भक्तराज रहेको बताएका गौतमले त्रिभागी महादशामा चलेको बृहस्पति उत्तम भए पनि अन्तरमा चलेको शनिले हालको समय प्रतिकूल रहेको बताए।

मेयरमा देखिएका अर्का प्रतिस्पर्धी स्वतन्त्रतर्फबाट उमेश यादवको पनि मध्यम योग चलिरहेको उनले बताए।
०३१ साल भदौमा विराटनगरमा जन्मिएका यादवको राशी वृष रहेको बताएका गौतमले शनि ग्रह गोचरमा ब्यय स्थानमा बसेको हुँदा खर्च वृद्धिको समय देखिएको जानकारी दिए।

निर्वाचनमुखमा रहेको हुँदा उनको साथबाट फाइदा लिनेको संख्यामा वृद्धि देखिएको गौतमले बताए।

उनले भने, ‘उम्मेदवारका प्रत्यासी रहनुभएका यादवसँग ३१ गतेसम्म साथ दिनेको वृद्धि देखिए पनि त्यसदिन पछि सबै विस्तारै टाढा हुँदै जाने योग छ। सूर्य ग्रह गोचरमा पराक्रम भावमा रहेको हुँदा सो अवस्था देखिएको हो।’

जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको असन्तुष्टिपछि पार्टी त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका युवा नेता यादवले पछिल्लो समय आफ्नो पक्कड बलियो बनाउँदै लगेका छन्। अहिले चलेको शनि महादशाले यादवको कर्मलाई क्षीण बनाउँदै लगेको देखिएको उनले बताए।

उम्मेदवार यादवको कुण्डली हेर्ने क्रममा गौतमले भने, ‘अष्टम् स्थानको बुध खराब रहेको हँुदा योगिनी महादशा भद्रिकाको दशा चलिरहेको र आउँदो करिब १ वर्षसम्म समय अनुकूल देखिएको छैन।’

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्