भ्रष्टाचार हटाउने र थारू हिंसा अन्त्य गर्ने मेरो प्रमुख एजेन्डा: महेन्द्र उपाध्याय

स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारको नाम पनि चर्चामा आइरहेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कतिपय पुरानै उम्मेदवार दोहोरिने दाउमा छन् भने कतिपय नयाँ उम्मेदवार पनि आएको देखिन्छ। 

गत स्थानीय तहको निर्वाचनको तुलनामा यसपालीको स्थानीय तहको निर्वाचनमा युवा पुस्ताको पनि बाक्लो उम्मेदवारी रहेको छ।

वर्तमान अवस्थामा देशमा भइरहेको राजनीतिक अस्थिरता र देशमा विकराल समस्याको रूपमा रहेको भष्ट्राचारबाट उत्पन्न बेरोजगारी र गरिबि लगायतका समस्याले आजित भएर भएको बेला युवा आफै नेतृत्व तहमा आउन थालेका छन्।

आफै नेतृत्व तहमा आएर भष्ट्राचार निर्मुल पार्ने तथा विकासका नयाँ खाका तयार पाने अधिकांश युवा उम्मेदवारहरूको घोषणा तथा संकल्प पत्रमा उल्लेख छ।

निर्वाचनमा होमिएका युवा उम्मेदवारहरू कतिपय राजनीतिक दलमा आवद्व भएर उम्मेदवारी दिएका छन्। भने कतिपयले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

यसपालिको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीबाट महेन्द्र उपाध्यायले उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टीबाट संघीय सांसद्‌मा प्रत्यक्षतर्फ निर्वाचित रेशम चौधरीले डिल्लीबजार कारागारबाटै संयोजन गरेर खोलेको यस पार्टीले कैलालीका विभिन्न पालिकाहरुमा उम्मेदवार बनाएको छ।

साहित्य क्षेत्रमा राम्रो पहिचान बनाएका लम्कीचुहा-५ का ३२ इन्जिनीयर उपाध्ययायसँग देश सञ्चारले गरेको कुराकानीको संपादित अंशः

तपाईँको उम्मेदवारी किन?  
सुरूमा त म युवा हुँ। मसँग फरक भिजन छ। पेशाले इन्जिनीयरका साथै लेखक पनि हुँ। मैले समाज, सभ्यता र यहाँका स्थानीयको आवश्यकता पनि बुझेको छु। इन्जिनीयर भएर मैले धेरैँ काम गरेको छु। लेखक भइकन पनि विभिन्न किसिमका सामाजिक समस्या लगायतका विषय उठान गरेको छु। अब नेतृत्व तहमै आएर नगरको विकासको नयाँ खाका कोर्न र नयाँ नेतृत्व शैलीको विकास गर्न नै यसपालीको स्थानीय तहको निर्वाचनमा मेरो उम्मेदावारी हो।

लम्कीचुहामा तपाईँलाई नै भोट किन?  

मैले माथि पनि भनेको छु। मेरो प्रमुख उद्देश्य भनेको नै स्थानीयको लागि काम गर्नु, नगरको विकास गर्नु, पीडा तथा हिंसामा परेका यहाँका थारू समुदायका मानिसलाई उनीहरूले पाउनुपर्ने हक दिलाएर स्वतन्त्र वातावरण सिर्जना गर्नुपनि हो।

भोट किन भन्ने प्रश्न निकै गम्भीर प्रश्न पनि हो। र उस्तै सरल पनि हो। भोट भनेको हरेक नागरिकको नैसर्गीक अधिकार हो। नागरिकले भोट दिनको लागि आफूले मतदान गर्ने उम्मेदावर त्यो भोटको लाएक छ छैन्। उसको भिजन के हो? उसको क्षमता के हो? लगायतका कुराको बारेमा जान्नु निकै आवश्यक छ।

मलाई मात्र नभएर भोटरको इच्छा अनुसारको उम्मेदवारलाई भोट गर्न अपिल गर्दछु। तर यसको साथै यो पनि अपिल गर्दछु किः कृपया तपाईँले चुनेको नेता नेतृत्वको लायक छ या छैन् यसको बारेका पनि तपाईँलाईँ जानकारी होस्। र यो जानकारी पाउने हरेक नागरिकको अधिकार पनि हो।

पेशाले इन्जिनीयर साथै, प्रोफेश्नल् राइटर पनि यसलाई चटक्कै छाडेर राजनीतिमा होमिने सोच कसरी आयो?

मैले यसरी राजनीतिमा जाँऊला, चुनाव लडौँला भनेर सोचेका पनि थिएन। मैले राजनीतिमा आउनको लागि इन्जिनीयर पेशा छाडेको पनि होइन।

मैले काम गर्ने क्रममा देशका अधिकांश ठाउँमा पुगेको छु। कार्यक्षेत्रमा मेरो प्रमुख रोजाइ सधैँ दुर्गम क्षेत्र नै भयो। त्यसैले पनि मैले दुर्गमका कथा व्यथा सुनेको छु। देखेको छु । भोगेको छु। त्यसैले मलाई लेख्न मन लाग्यो। इन्जिनीयर भएर धेरैँ भवनको डिआर्पी बनाएँ। तर काम गर्दै जाँदा समाज र यसभित्रका पात्रको पनि डिआर्पी बनाउन मन लाग्यो यसैले साहित्यमा लागेँ। ‘फूल टाइम राइटर’ बन्ने संकल्प गरेँ।

तर सोच्दै नसोचेको कुरा। म राजनीतिमा पनि आएँ। म राजनीतिमा आउने सोचेको पनि थिएनँ। रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट मेयरमा उम्मेदवार बन्ने प्रस्ताव आयो अनि राजनीतिमा पनि लागेँ।

एक्कासी रेशम चौधरीले दिल्लीबजार कारागारबाट, ‘महेन्द्र जी, तपाईँको भिजन हाम्रो नगरलाई आवश्यक छ। मेयर बन्नुस्।’ भन्ने प्रस्ताव गर्दा म अलमलमा परेँ। पछि धेरैँ नै सोचेर उम्मेदवारी दिने निर्णमा पुगेको हुँ।

के थियो भिजन जसले रेशम चौधरीलाई इम्प्रेस गर्‍यो?

मैले खासै ठूलो भिजन लिएको छैन्। खासै ठूला सपना देखाएको पनि छैन्। इन्जिनीयर भएर पनि मैले धेरैँ काम गरेको छु। सबैमा यसले गर्छ भन्ने छ। र मैले गर्छु पनि।

अन्य राजनीतिक दलहरूले चुनावी प्रचार गर्न अनेकन प्रलोभन देखाउँछन् मैले त्यो भन्दापनि गर्ने खालको केही योजना दिए हुने भन्ने खालका केही योजनाको खाका तयार गरेको थिए। नाटक मार्फत पनि धेरै कुरा समेटेको छु। यसकारण पनि उहाँलाई मेरो भिजन मन परेको हुनसक्छ।

नागरिक उन्मुक्ति पार्टी आफैमा पनि नागरिकको हितको लागि कामगर्ने पार्टी भएको कारण मेरो भिजन र पार्टीको सिद्धान्त मिल्यो यसकारण पनि मलाई प्रस्ताव आएको हुनसक्छ।

तपाईँको प्रमुख एजेन्डा के?

मेरो पहिलो एजेन्डा भनेको नै भ्रष्टाचार हटाउने, रोजगारीको सिर्जना गर्ने तथा नागरिकलाई आत्मिनिर्भर बनाउने हो।

नेपालले अहिले पनि ५० अर्बभन्दा माथिको कागज आयात भइरहेको छ। यो दुःखद विषय हो। कागजको उत्पादन गरेर प्लाष्टिकलाई पूर्णरुपमा बन्देज लगाउने मेरो सोच छ।

त्यसैगरी खेलकुदमा मेरो विशेष रुचि छ। म २५ लाख रुपैयाँ खेलमा लगानी गर्नेछु। पुराना खेलाडीको संयोजकत्वमा खेलकुद समिति बनाइनेछ। वडामा ३० जना खेलाडीको समूह बनाइनेछ। ती समूहलाई ५० हजारको खेल सामाग्री वितरण गरिनेछ। युवाहरुलाई खेलमा समावेश गरे लागु औषधको प्रयोगमा पनि कमि आउँछ।

मेयर बन्न त स्वतन्त्र उम्मेदवारी पनि त दिन सकिन्थ्यो? नगरिक उन्मुक्ति पार्टी रोज्नुको कारण?

मैले माथि पनि भने म राजनीतिमा आउने सोचमा नै थिएनँ। म राजनीतिक पृष्ठभूमिबाट आएको हुँ। यसैले पनि मलाई राजनीतिप्रति वितृष्णा भयो सधैँ।

कम्लहरी, कुमारी राखेर अनेकन हिंसा गर्ने हाम्रो समाजका तिनै पात्रले आदर्शता चर्का गफ दिएको मलाई सह्य भएन।

यसको विरोधमा मैले पुस्तक पनि लेखेको छु। तर एक्कासी मेयर बन्न आएको प्रस्तावले सोच्न बाध्य बनायो। परिवारमा सल्लाह गरेँ। कन्मिन्स गरेँ र यसैमा लागि परेँ।

तपाईँ त युवा उम्मेदवार युवाको साथ के कस्तो छ?
निकै राम्रो साथ पाएको छु। यसमा त म आफूलाई भाग्यमानी पनि ठान्छु। लेखक भएको कारणले मेरा धेरैँ साथीहरू हुनुहुन्छ। उहाँहरूको राम्रो साथ पाएको छु। परिवार र साथीहरूको त्यो साथले नै त मलाई काम गर्ने उर्जा दिन्छ, हौसला दिन्छ। साथीहरूप्रति कृतज्ञ छु।

निर्वाचन भन्ने वित्तिकै भोट किन्ने, खर्च गर्ने भन्ने कुरा पनि आएको पाइन्छ। तपाईँले के कस्तो तयारी गर्नुभएको छ?

यसकुरामा म निकै सजग छु। मैले खर्च एकदमै कम गर्ने गरेको छु र योजना पनि त्यही अनुसारको छ।

आजसम्म प्रायः बाइकबाटै चुनावको प्रचार गर्न हिँडेको छु। साथीहरू पनि त्यसै गर्नुभएको छ। आजसम्म जम्माजम्मि ४० हजार खर्च भएको छ। त्यस्तै ४०-५० जति खर्च गरेर कूल एक लाखसम्म खर्च हुने अनुमान गरेको छु।

मेरो प्रचारमा रक्सी-मासु चल्दैन। कहिलेकाही साथीहरू मजाक मजाकमा कुरा निकाल्नुहुन्छ। बरु तपाईँको भोट चाहिँदैन भन्छु। चिया र पानीमै हामी प्रचारमा कुद्छौँ।

जित्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ?
मैले जनताको राम्रो साथ पाएको छु। यहाँका युवा मात्र नभएर हरेक उमेर समूहका मानिसको राम्रो साथ छ मलाई । यसकारण पनि मैले जित्छु लाग्छ मलाई। मैले यहाँका स्थानीयको लागि नै आफूलाई समर्पीत गर्ने निधो गरेको छु। आशा छ उहाँहरूले मलाई यो मौका दिनुहुनेछ।

 

बैशाख २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्