वर्षौँ दुःख गरेर बनाएको पार्टीलाई छाडेर अन्त भोट नहाल्नुस्ः ओली

फाइल तस्बिर

मोरङ– निर्वाचनको मुखमा भोटका नाममा जनतालाई नधम्काउन पाँच दलीय गठबन्धनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन्।

मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘भोट हालेनौ भने’ भनेर गठबन्धनका नाममा जनतालाई नधम्क्याउन चेतावनी दिएका हुन्।

ओलीले भने, ‘आफूले बनाएको र वर्षौँदेखि दुःख गरेको पार्टीलाई छाडेर अन्त भोट नहाल्न आग्रह गर्छु।’

अहंकारका साथ एमालेबाट अलग भएर गएका केहीले कार्यकर्तालाई अल्मल्याइरहेको उनको भनाइ छ।

ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न आग्रह गरे। भेलामा उनले भने, ‘नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले हो। उत्पादन वृद्धि, उद्योग कलकारखाना, आत्मनिर्भर अर्थतन्त्र, कृषिको आधुनिकीकरणलगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ।’

निर्वाचनको नजिक दलीय गठबन्धनमा नेपाली कांग्रेसलाई सबैभन्दा बढी पीर परिरहेको उनको भनाइ छ।

उनले भने, ‘पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ छैन। अर्कातिर मेरी छोरीलाई भोट हालेनौ भनेर मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ। कांग्रेसजनले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो। आज छोरी जिताउनुपर्छ। भोलि भाइ, भतिजा र अरुको जिम्मा लिनुपर्छ।’

बैशाख २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्