विख्यात सन्तुर बादक शिवकुमार शर्माको निधन

शास्त्रीय तथा चलचित्र संगीतको दुनियाँमा सफल तथा प्रख्यात सन्तूर वादक पण्डित शिवकुमार शर्माको मंगलबार हृदयाघातका कारण ८४ वर्षको उमेरमा निधन भएको छ।

भारतका प्रसिद्ध शास्त्रीय संगीतकार पण्डित शिवकुमार शर्माको बिहान ८ देखि ८ः३० बजेको बीचमा मुम्बईको पाली हिलस्थित उनको निवासमा निधन भएको उनका सचिव दिनेशले समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियालाई बताए।

उनी अन्तिम समयसम्म पनि सक्रिय थिए। भोपालमा अर्को हप्ताको लागि उनको कार्यक्रम समेत तय भएको थियो।

उनी मिर्गौला रोगबाट पनि पीडित थिए।

‘उहाँ सक्रिय हुनुहुन्थ्यो र भोपालमा अर्को हप्ता कार्यक्रम गर्दै हुनुहुन्थ्यो। उहाँ नियमित डायलासिसमा हुनुहुन्थ्यो’, एक पारिवारिक स्रोतले प्रेस ट्रस्ट अफ इन्डियालाई भन्यो।

शर्माको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन्।

‘पंडित शिवकुमार शर्माजीको निधनले हाम्रो सांस्कृतिक जगत झन् गरिब भएको छ। उहाँले सन्तूरलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाउनुभयो। उहाँको संगीतले आगामी पुस्ताहरूलाई मोहित बनाइरहनेछ। उहाँसँगको मेरो अन्तर्क्रियालाई म मनमनै सम्झन्छु। उहाँका परिवार र प्रशंसकहरूप्रति समवेदना। ओम शान्ति,’  प्रधानमन्त्रीले भनेका छन्।

पद्मविभूषणबाट समेत सम्मानित भएका पण्डित शिवकुमार शर्मा १९३८ मा जम्मूमा जन्मेका थिए।

जम्मू र कश्मीरको लोक वाद्य सन्तूरमा शिवकुमारलाई भारतीय शास्त्रीय संगीत बजाउने पहिलो संगीतकार मानिन्छ।

उनले ‘सिलसिला’, ‘लम्हे’, ‘चाँदनी’ र ‘डर’ जस्ता चलचित्रहरूको लागि संगीत रचना समेत गरेका छन्। सरोद खेलाडी अमजद अली खानले पण्डित शिवकुमार शर्माको निधनले आफ्नो लागि व्यक्तिगत क्षति भएको बताए। ‘पंडित शिवकुमार शर्माजीको निधनले एक युगको अन्त्य भएको छ। उहाँ सन्तूरका अग्रदूत हुनुहुन्थ्यो र उहाँको योगदान अतुलनीय छ। मेरो लागि यो व्यक्तिगत क्षति हो र म उहाँलाई कहिल्यै बिर्सने छैन। उहाँको आत्माले शान्ति पाओस्। उनको संगीत सधैंभरि बाँचिरहन्छ! ओम शान्ति।’अमजद अली खानले ट्वीटमा लेखेका छन्।

गजल गायक पंकज उदास र दिग्गज कलाकार शबाना आजमीले पनि शिवकुमार शर्माको निधनमा शोक व्यक्त गरेका छन्।

बैशाख २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्