गगन थापाले भने- कमल थापा र लिङ्देनले एमालेको सूर्य चिह्नमा प्वाल पारिसके

नेपाली कांग्रेसका महामन्त्री गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सुर्य चिन्हलाई प्वाल पारेको बताएका छन्।

मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमालेको सुर्य चिन्ह प्वाल पारेको बताएका हुन्।

सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उनले बताए।

कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उनले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हसिया हथौडामा भोट हालेको स्मरण गराए।

महामन्त्री थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्ने प्रश्न समेत गरे। उनले भने – ‘हामी कांग्रेसको कार्यकर्तालाई के भनेको पाउँछौ भने बिचरा बरा रुखमा भोट हाल्न पाएका छैनन् भनेर । काठमाडौंबासीले सोध्नुपर्छ, आम नेपालीले सोध्नुपर्छ, नेकपा(एमाले)को अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा नेकपा(एमाले)को उम्मेदवार पनि थिएन । ५९ वटा क्षेत्रमा सुर्य चिन्हमा एक जनाले मत हाल्न पाएन हँसिया हथौडामा मत हाल्नुपर्‍यो, अस्ति भर्खरको चुनावमा होइन। अस्ति भर्खर प्रचण्डलाई, नेकपा(माओवादी केन्द्र)लाई मत हालेर जिताएर आएर नेकपा(एमाले)ले पार्टी नै एउटै बनाएको होइन?’

उनले यो चुनावमा पाँचवटा दलहरु एकै ठाउँमा उभिएको उल्लेख गर्दै थपे- अनि यो पटकको चुनावमा गठबन्धन भनेर हामीहरु पाँच वटा पार्टी एक ठाउँमा उभिएका छौँ । पाँच पार्टी संसदमा सँगै छ । सरकारमा सँगै छ । तर एमालेसँग उभिएको पार्टी हेरौँ । मकवानपुरमा गयो कमल थापा, चितवनमा आयो राजेन्द्र लिङ्देन । डाडाँ चढ्यो विप्लव । ओरालो ओर्लियो सिके राउत । परिवार दलको साँचो देखि सिके राउतको लाउडस्पिकरसम्म, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलो सम्म चारतिरबाट तपाईले सूर्य चिन्ह हेर्नुभयो भने घोच्दा घोच्दा प्वाल परिसकेको देख्नुहुन्छ । आज नेपालमा गठबन्धन राजनीतिको सबैभन्दा ठुलो आलोचक एमाले र त्यसका नेता हुनुहुन्छ । तलबाट जनताले प्रश्न गर्ने होइन ? आज गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको ।’

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताए। स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए। उनले भने– ‘काठमाडौंको मेयर हुन्छ । त्यसलाई छोडेर गएर माओवादीको प्राधिकरणको प्रमुख हुन्छ । त्यसलाई छोडेर गएर प्रजा परिषद् पार्टी खोल्छ । त्यसलाई छोडेर गएर संघीय परिषद्को उम्मेदवार हुन्छ । त्यहाँबाट फन्को मारेर नाच्दै, गाउँदै अहिले एमालेको उम्मेदवार हुन्छ । उसलाई कसैले प्रश्न गर्दैन । ऊ हुन पाउने । ऊ एमाले पनि हुन पाउने, माओवादी पनि हुन पाउने, राजावादी पनि हुन पाउने । घुम्न पाउने, बस्न पाउने, उठ्न पाउने, नाच्न पाउने अहिले फेरी आएर दौरा सुरुवाल लगाएर आएर मै हो पनि भन्न पाउने । तर एउटा महिला नेविसंघमा काम गरेर, आन्दोलन गरेर, परिवारको जिम्मेवारी वहन गरेर, म पनि आउँछु, मैदानमा लड्छु । मनोनीत गरेको पद होइन, चुनाव नै लडेर, भोट मागेर निर्वाचित हुने कोसिस गर्छु भन्दै गर्दा उसले चाहीँ जवाफ दिनुपर्ने । उसले चाहीँ उत्तर दिनुपर्ने ?’

महामन्त्री थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पुरा नगरेर मतदाता र काठमाडौंबासिलाई हेपेको बताए।

बैशाख २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्