लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

काठमाडौं- श्री लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ।

साहित्यकला मन्दिर स्थापनाको २८ औँ वर्ष प्रवेशको अवसरमा हिजाे मंगलबार काठमाण्डौको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित भव्य समारोहका बीच तीन स्रष्टालाई सम्मान गरिएको हो।

साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो। सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन्।

समारोहमा प्रा.डा. उषा ठाकुर र साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीले संयुक्त रूपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।

साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। हालसम्म साहित्यकला मन्दिरबाट करिब १० दर्जन स्रष्टाहरूले सम्मान पाइसकेका छन्।

स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सराहनीय काम गरिरहेको र यही कामका कारण साहित्य कलाको क्षेत्रमा यसले विशिष्ट स्थान बनाइसकेको बताए।

उनले साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीले स्रष्टाहरूलाई सम्मान गर्ने कामको सुरुवात २८ वर्षअघि नै गरेका र अहिले यसले परम्पराको रूपमा निरन्तरता पाएकोमा खुसीसमेत व्यक्त गरे।

साहित्यकला मन्दिरका अध्यक्ष तथा कवि तथा गीतकार वसन्त चौधरीले ‘स्रष्टा सम्मान’को २८ औँ वर्षको उत्सव मनाउन पाउँदा आफूलाई खुसी लागेको बताए।

सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको उनकाे भनाइ छ।

‘साहित्य होस् या संगीत, कला होस् या रंगमञ्च, यी सिर्जनशील विधाले सदैव हामीलाई अँध्यारोबाट उज्यालोतर्फको यात्रामा डोहोर्‍याउँछन्’, उनले भने,‘भनिन्छ नि तमसोमा जोतिर्गमय। साहित्यकलाले हामीलाई मनको अन्धकारबाट निकालेर सिर्जनाको चहकिलो उज्यालोतर्फ डोहोर्‍याउँछ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. उषा ठाकुरले वसन्त चौधरीले साहित्य कला क्षेत्रका लागि निरन्तर गर्दै आएकाे याेगदानकाे मुक्तकण्ठले प्रशंसा गरेकी थिइन्।

समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पणसमेत गरिएको थियो।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्