एमालेबाट उपप्रमुखकी उम्मेदवारी कार्कीविरुद्धको रिट ‘हेर्न नमिल्ने’, रिटको औचित्य सकियो

काठमाडौँ – विराटनगर महानगरमा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा कार्कीविरुद्धको रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।

अन्तरिम आदेशबारे छलफल गर्न बुधबार दुवै पक्षलाई बोलाएर न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ जनाइएको छ।

बुधबार अन्तरिम आदेशबारे टुंगो नलागेपछि लगभग रिट निवेदनेको औचित्य सकिएको छ। शुक्रबार स्थानीय तहको चुनावका लागि मतदान हुँदैछ।

सत्ता गठबन्धनका तर्फबाट विराटनगरको उपमेयरमा जसपाबाट उम्मेदवारी दिएका अमरेन्द्र यादवले कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराएको यादवको जिकिर छ।

कार्कीले कीर्ते राजीनामा तयार पारी बुझाएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यसैका आधारमा उम्मेदवारी सदर गरेको हुँदा उक्त उम्मेदवारी बदर गर्न रिटमा माग गरिएको छ।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्