तयार हुँदै मतदान केन्द्र, मतदाता परिचयपत्र पनि बाँडिदै (तस्बिरसहित)

दाङ- वैशाख महिनाको टन्टलापुर घाम। आकाशमा देखिने बादल र चल्ने हावाले केही सितलता प्रदान गर्न खाेज्दै छ।

पर्सि अर्थात् शुक्रबार हुँदै गरेको निर्वाचनलाई कसरी सम्पन्न बनाउने भन्ने विषयमा खिमबहादुर शाह माध्यमिक विद्यालय कोलही(क) मतदान केन्द्रका मतदान अधिकृत उदयबहादुर डाँगी चिन्तित देखिन्छन्।

‘यो विद्यालयको कम्पाउण्ड अलि सानो भयो। तर, पनि यसमा टेन्ट टाँगेर भए पनि सजिलो बनाउने तयारीमा छौँ’, उनले भने, ‘खानेपानीको धारा बाहिर राखिदिएका छौँ। पानीको समस्या नहोला। तर, मतदातालाई धेरैबेर लाइनमा बसाल्नेभन्दा पनि छिटो मतदान गर्ने वातावरण मिलाउछौँ।’

यो मतदानस्थलमा ४ हजार ६ सय ८७ मतदाताले मतदान गर्ने छन्। सर्वदलीय बैठक सम्पन्न गरेर मतदानलाई स्वच्छ, मर्यादित रूपमा सम्पन्न गर्ने सहमति गरिएको छ।

बिहान ७ बजेबाट मतदाता परिचयपत्र वितरण सुरु भयो। विस्तारै मतदाताहरू आफ्नो परिचयपत्र बुझ्न मतदान केन्द्रमा पुगेर परिचयपत्र लग्ने काम चलिरहेको छ। धेरै मतदाता भएको मतदान केन्द्रमा परिचयपत्रको लागि पुग्नेको संख्या धेरै छ।

दुई दिन परिचयपत्र वितरण गर्ने तालिका छ। नयाँ मतदाताहरू परिचयपत्रको लागि मतदान केन्द्रमा पुगेका हुन्।

दाङ जिल्लामा एक लाख १८ हजार ७ सय २८ नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा दाङमा दुई लाख ९१ हजार एक सय ७२ मतदाता थिए। तर, अहिले त्यो संख्या बढेर ४ लाख ९ हजार ९ सय २ पुगेको छ।

सबैभन्दा बढी नयाँ मतदाता घोराही उपमहानगरपालिकामा थपिएका छन्। ३४ हजार पाँच सय नयाँ मतदाता थपिएका हुन्। अघिल्लो स्थानीय तह निर्वाचनमा घोराहीमा ७८ हजार ४ सय २७ मतदाता थिए। हाल यहाँ एक लाख १२ हजार ९ सय २७ मतदाता छन्।

सबैभन्दा कम मतदाता थपिएको पालिका बंगलाचुली हो। यहाँ चार हजार पाँच सय ४६ नयाँ मतदाता छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ ११ हजार चार सय ७ मतदाता रहेकोमा यसपाली १५ हजार ९ सय ५३ पुगेका छन्।

तुलसीपुर उपमहानगरपालिकामा ३० हजार ७ सय ८४ मतदाता नयाँ थपिएका छन्। यसअघि ७६ हजार ८ सय ९३ मतदाता थिए। अहिले तुलसीपुरमा एक लाख ७ हजार ६ सय ७७ मतदाता छन्।

लमही नगरपालिकामा ९ हजार ४ सय ४६ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा यहाँ २४ हजार ९ सय ३६ मतदाता थिए। हाल त्यो संख्या ३४ हजार ३ सय ८२ पुगेको छ।

गढवा गाउँपालिकामा ८ हजार ७ सय ३० नयाँ मतदाता थपिएका छन्। गत स्थानीय तह निर्वाचनमा यहाँ २१ हजार ७२ मतदाता थिए। हाल यो संख्या २९ हजार ८ सय २ पुगेको छ।

दंगिशरण गाउँपालिकामा ४ हजार ६ सय ८३ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा यहाँ १३ हजार ४ सय २३ मतदाता थिए। हाल दंगिशरणमा १८ हजार एक सय ६ मतदाता छन्।

बबई गाउँपालिकामा ६ हजार ५९ नयाँ मतदाता थपिए। विगत निर्वाचनमा १६ हजार ८५ मतदाता थिए। हाल २२ हजार एक सय ४४ मतदाता पुगेका छन्।

राजपुर गाउँपालिकामा पाँच हजार तीन सय मतदाता नयाँ थपिएका छन्। अघिल्लो निर्वाचनमा दश हजार ४ सय २३ मतदाता थिए। हाल राजपुरमा १५ हजार ६ सय २३ मतदाता छन्।

राप्ती गाउँपालिकामा ९ हजार ४ सय १८ नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा २२ हजार ९ सय ५ मतदाता थिए। हाल त्यो संख्या ३२ हजार ३ सय २३ पुगेको छ।

शान्तिनगर गाउँपालिकामा ५ हजार दुई सय ६२ नयाँ मतदाता थपिएका छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ १५ हजार ६ सय १ मतदाता थिए। हाल २० हजार ८ सय ६३ मतदाता पुगेका छन्।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्